जहाँ एसिडपीडित, त्यहाँ सीमा

जहाँ एसिडपीडित, त्यहाँ सीमा

 काठमाडौं : एसिड प्रहारका घटनाले सीमा बस्नेतलाई पुरानो घाउ स्मरण गराउँछ। र, त्यसले निकै पीडाबोध हुन्छ। उनी तीन वर्षअघि वसन्तपुरमा ट्युसन पढ्न जाने क्रममा एसिडको आक्रमणमा परेकी थिइन् ।

सीमा भन्छिन्, ‘एसिडको जलन विस्तारै घटे पनि त्यसको दागले जीवनभरि पोलिरहन्छ ।’ जतिपटक आफ्नो अनुहार ऐनामा हेर्छिन्, एसिडको रापले उस्तै पोल्ने गरेको अनुभव गर्छिन् उनी। सीमा भन्छिन्, ‘मानसिक, शारीरिक र आर्थिक रूपमा एसिड पीडितलाई सधैं हौसलाको खाँचो पर्छ। आफूले नपाएको साथ म अरू दिदीबहिनीलाई दिन चाहन्छु ।’

करिब २० दिनअघि रौतहटमा एसिड आक्रमणमा परेका दिदीबहिनी सम्झना र सुस्मिता दासलाई उपचार खर्च जुटाउन सीमा हरेक दिन सक्रिय रूपमा लागेकी थिइन्। उपचार गर्दागर्दै सम्झनाको मृत्यु भयो। सुस्मिता भने कीर्तिपुर अस्पतालमै उपचार गराइरहेकी छन्। हरेक दिन अस्पताल जाने बिरामीको सहयोगमा जुट्ने, परिवारलाई सहयोग गर्ने काममा उनी तल्लीन छिन् ।

सम्झनाको मृत शरीरसँगै उनी जब रौतहट पुगिन्। बाग्मती किनारमा सम्झनाको परिवारसँगै लास जलाउन लाग्दा उनको मोबाइलमा एउटा कारुणिक म्यासेज आयो। डाटा खोलेर समाचार हेरिन्, नवलपरासी डण्डाकी २८ बर्से वसन्ती परियारलाई एसिड खन्याएर चक्कु प्रहार गरी अनुहार क्षतविक्षत पारिएको खबर थियो ।

उनी भन्छिन्, ‘त्यो खबरले एकछिन त केही बोल्नै सकिनँ, सोच्न थालेँ, कहिलेसम्म खुल्लमखुला चलिरहने हो यो एसिड आक्रमण ? कति जना कुरुप भएर बाँच्नुपर्ने हो ? यसविरुद्ध अब केही गर्नै पर्छ भन्ने अठोट लिएँ ।’

उनी सोही दिन काठमाडौं फर्किइन्। केही खर्चको जोहो गरिन्। अर्को दिन भरतपुर अस्पताल पुगिन्। जहाँ वसन्तीको उपचार गराइँदै थियो। वसन्तीको अनुहार हेर्न नसक्ने अवस्थामा थियो। एसिड प्रहार भएको अनुहारमा चक्कुको आक्रमणले एउटा आँखा पूरै ड्यामेजजस्तै देखिन्थ्यो। सीमा भन्छिन्, ‘वसन्तीको अनुहार हेर्न नसकेर रुन मात्रै आयो मलाई ।’

सीमासँगै एसिड आक्रमणमा परेकी संगीता पुलामी मगर पनि चितवनसम्म सँगैं गएकी छन्। सीमासँग कुनै संघसंस्थाको सहयोग पनि छैन। आफ्नो छुट्टै कमाइ पनि छैन। अरूलाई सहयोग गर्ने एउटा निःस्वार्थी मन छ। तैपनि, जहाँ एसिड आक्रमणको घटना हुन्छ, सहयोग गर्न त्यहीँ टुप्लुक्क पुग्छिन् उनी ।

उनले एसिड पीडितलाई सहयोग गर्नु आफ्नो कामभन्दा पनि कर्तव्यका रूपमा बुझेकी छन्। पीडितलाई जीवित राख्नु आफ्नो कर्तव्य ठान्छिन् उनी। पैसा अभावमा कुनै एसिडपीडितले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सोचसाथ आफूले काम गर्न खोजेको उनले बताइन् । नेपालमा एसिड जहाँतहीँ पाइने, खुलेआम व्यापार भइरहेकाले पनि अपराध बढिरहेको उनको बुझाइ छ। एसिड व्यापारमा सरकारले कडाइ गर्नुपर्ने र अपराधीलाई कडा सजाय हुनुपर्ने उनको माग छ। एसिड प्रहार गर्नेलाई फाँसी दिनुपर्ने उनको माग छ ।

सीमा रत्नराज्य बहुमुखी क्याम्पसमा स्नातक गर्दै छिन्। ०७१ साल फागुन १० गते उनी र संगीता पुलामी मगरमाथि एसिड प्रहार भएको थियो। त्यसबेला उनी एसएलसी परीक्षाको तयारी गरिरहेकी थिइन्। बिहानको ६ बजेतिर ट्युसन कक्षामा बसेर साथीहरूसँग हिसाब सिकिरहेको अवस्थामा एक्कासि एसिड छ्यापेर फरार जीवन विक सजाय भोगिरहेका छन् ।

उनले वीर अस्पतालबाटै परीक्षा दिइन्। पास पनि भइन्। कलेज पढ्न सुरु गरिन्। सीमा एसिडको दाग भुल्न चाहन्थिन् तर सहपाठीले घरीघरी गर्ने अप्ठ्यारो व्यवहारले उनलाई पीडा हुन्थ्यो। घटनाअघि अत्यन्तै मिल्ने साथीहरू तर्केर हिँड्न थालेका थिए, समाजले हेर्ने दृष्टि बदलिएको थियो ।

मानिसको त्यस्तो व्यवहारले उनलाई झन् आत्मबल दिलायो। यही क्षेत्रमा केही गर्छु भन्ने आत्मविश्वास बढ्यो। उनी भन्छिन्, ‘म यसै क्षेत्रमा निरन्तर लागिरहेँे। विश्वमा भएका एसिडपीडितबारे खोज्न थालँे, सबैभन्दा बढी भारतमा एसिड आक्रमण हुँदोरहेछ। त्यहाँका साथीहरूसँग सम्पर्क गरँे। बुझ्नकै लागि नोयडासम्म पुगेँ ।’

भारत सरकारले एसिड पीडितका लागि नोयडामा होटल खोलिदिएको रै’छ। वैशाखमा उनी त्यहाँ तीन महिनासम्म काम गरेर आइन्। उनीहरूले त्यहाँ गरेको काम र मिहिनेत देखेर उनलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लाग्यो। दुई महिनाअघि नेपाल फर्केर यही क्षेत्रमा काम गरिरहेकी छन् ।

रौतहटको बाग्मतीमा जन्मिएकी सीमा जन्मँदै बाबुको मायाबाट वञ्चित थिइन्। उनलाई बुवा को हो भन्ने थाहासम्म छैन। जन्मनुअघि नै बुवाआमाको सम्बन्ध बिग्रिसकेको थियो। आमाको माया पनि उनले पाउन सकिनन् । उनी हजुरबुवा, हजुरआमासँग वसन्तपुरमा बस्दै आएकी छन्। उनका हजुरबुवा सुन पसलमा सेक्युरिटी गार्ड छन् ।

सानै उमेरमा अनुभवले खारिएकी उनीसँग केही राम्रा योजना पनि छन्। नेपालमा एसिड आक्रमणलाई रोक्न सचेतना जरुरी देख्छिन् उनी। जसले जहाँ मन लाग्यो त्यहीँ एसिड किन्न पाइने अवस्था बन्द हुनुपर्छ। धेरैजसो एसिड आक्रमणको कारण एकोहोरो प्रेम देखिन्छ। यो एकदम गलत कुरा हो ।

सरकारसँग उनका केही माग पनि छन्। भन्छिन्, ‘एसिडबाट जलेका सबै पीडितलाई जागिर दिनु सरकारको कर्तव्य हो। तत्कालै यो व्यवस्था कानुनमै सुनिश्चित गरिनुपर्छ। उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्छ। पीडित व्यक्ति सहज तरिकाले समाजमा बस्न पाउने र जीवनयापनको बाटो अपनाउन सक्ने अवस्था सिर्जना हुनुपर्छ ।’

 

उपचार खर्च भएन 
भरतपुर : यमबहादुर परियार पत्नीको उपचारका लागि पाँच दिनदेखि भरतपुर अस्पतालमा छन्। एसिड प्रहारबाट घाइते उनकी पत्नी वसन्तीको उपचारका लागि सरसापट गरेर ल्याएको २५ हजार रुपैयाँ सकिसक्यो छ। पैसा अभावले उनी निरास छन् ।

आईसीयूमा रहेकी वसन्तीको उपचारको महँगो भएकाले पैसाको खोजीमा उनी भौंतारिएका छन्। ‘आफ्नै उपचारका लागि आएको उल्टो पत्नीको यो हालत भयो’, कुरुवा यमबहादुरले भने, ‘ल्याएको केही पैसा पनि सकियो अब के गर्ने कता जाने चिन्ता छ ।’ बिदेसिएको डेढ वर्षमै पायल्सले थलिएपछि उनी उपचारका लागि स्वदेश फर्किएका हुन्। गएको ऋणसमेत तिर्न नसकेको उनी बताउँछन्। भन्छन्, ‘औषधि महँगो छ ल्याएको पैसा पनि सकियो’, उनले दुखेसो पोखे ।

वसन्तीको उपचारका लागि यमबहादुरका दाजुले पनि ऋण खाजेर दुई लाख ल्याएका थिए। अब उनीसँग ३० हजार मात्रै बाँकी छ। गाउँमा ब्याज तिर्ने गरी खोजेको पैसा पनि सकिएपछि उनी चिन्तित छन्। गाउँमा पाँच कठ्ठा मात्रै छ। मौसमअनुसारको खेती लगाए पनि त्यसले खान मुस्किल पर्छ। परियार दम्पतीको १३ बर्से छोरो र सात वर्षकी छोरी छन्। उनका आफन्त अस्पतालको आईसीयू कक्षबाहिर कुरेर बसेका छन्। भरतपुरमै निको हुने वा अन्यत्र लाने भन्नेमा आफन्तसमेत अन्योलमा छन् ।

एसिड अाक्रमणमा घाइते वसन्ती । (फाइल तस्बिर )

वसन्तीले लुगा सिलाएर जीविकोपार्जन गर्दै आएकी थिइन्। दाजुसरहका छिमेकी विमल सिर्पालीले बाटोमा हिँडिरहेका बेला केही दिनअघि साँझपख वसन्तीमाथि एसिड खन्याएर छुरा प्रहार गरेका थिए। चिकित्सकका अनुसार उनको अवस्थामा केही सुधार आएको छ। उनलाई अस्पताल भर्ना भएको पर्सिपल्ट भेन्टिलेटरबाट झिकिएको थियो। डढेको भागमा नयाँ छाला टास्नुपर्ने भएकाले तत्काल त्यसो गर्दा बिरामीको अवस्था जटिल हुने भएपछि त्यसलाई रोकिएको छ।

बिरामीको बोली, रक्तचाप र शरीरका अन्य भागको अवस्था सामान्य भएकाले सुधार हुने आशा गरिएको अस्पतालका सर्जन डा. सुरेश प्रधानले बताए। नाकमा राखिएको पाइप पनि निकालिएको छ। ‘पहिलेभन्दा अवस्था धेरै फेरिएको छ’, वसन्तीका पतिले भने, ‘शनिबारदेखि बिस्तारै हिँडाएर थेरापी पनि गराउँदैछौं ।’

 

जघन्य अपराधमा ‘फास्ट ट्र्याक’ न्याय 

काठमाडौं : महिला र बालबालिकामाथि गम्भीर प्रकृतिका हिंसा बढिरहेका बेला अपराधीलाई दण्डित गरी चाँडो न्याय दिलाउन काठमाडौं जिल्ला अदालतले ‘फास्ट ट्र्याक’ न्यायिक प्रक्रिया थालेको छ। जघन्य प्रकृतिका पाँचवटा अभियोगमा यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन अदालत, प्रहरी र सरकारी वकिलबीच समझदारी भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको विशेष अगुवाइमा ‘फास्ट ट्र्याक’ न्यायका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीश रमेशराज पोखरेल, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सूर्य दाहाल, अपराध अनुसन्धान ब्युरो प्रमुख नारायणसिंह खड्का, काठमाडौं प्रहरी प्रमुख (एसएसपी) वसन्त लामा, अदालतका स्रेस्तेदार कृष्णप्रसाद शर्मा नेपाललगायत सरोकारवाला निकायका प्रमुखबीच छलफल भएको थियो। मुलुकभरका अदालतमध्ये काठमाडौं अदालतमा सबैभन्दा बढी मुद्दाको चाप छ ।

फौजदारीसहित भदौ मसान्तसम्म झन्डै साढे ११ हजार मुद्दा विचाराधीन छन्। पछिल्लो समय गम्भीर घटनामा अभियोग प्रमाणित हुने अवस्था भए पनि अपराधका साक्षी ‘होस्टाइल’ हुने र छानबिन तथा न्यायिक प्रक्रियामा विलम्ब हुँदा पीडितलाई न्याय प्राप्तिको विषय कठिन हुँदै गएको थियो। अबदेखि गम्भीर प्रकृतिका अभियोगपत्रमा सरकारी पीडित, साक्षी र जाहेरवालाको अदालती वकपत्र मुद्दा दर्ता भएकै दिन गर्ने प्रहरी, अदालत र सरकारी वकिलबीच समझदारी बनेको छ ।

बलात्कार, भेदभाव, गर्भ संरक्षणसम्बन्धी, अपरहण तथा शरीर बन्धक र व्यक्ति बेपत्ता, महिला र बालबालिकासम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले फैसला नहुन्जेल निरन्तर सुनुवाइमार्फत टुंगो लगाउनेछ। महान्यायाधिवक्ता अग्नि खरेलले गम्भीर खालका मुद्दालाई चाँडो ‘अपरेसन’मा नलगे पीडितको न्यायमा असर पुग्ने देखिएकाले छिटो र प्रभावकारी न्यायका लागि पहल भएको बताए। ‘अनुसन्धानबाट मुद्दा प्रमाणित हुन थाले पनि अदालतमा ढिलाइ हुँदा होस्टाइल हुने अवस्था छ’, पूर्वकानुनमन्त्रीसमेत रहेका खरेलले अन्नपूर्णसँग भने, ‘अब मुद्दा दर्ता भएकै दिन तुरुन्त बकपत्र गराएर निरन्तर सुनुवाइमार्फत निर्णय गर्ने कुरा भएको छ ।’

महान्यायाधिवक्ता खरेलकै पहलमा तीनै निकायबीच छलफल भएको हो। खरेलले अपराधीलाई दण्डित गरी पीडितलाई न्याय दिलाउन र कानुनको शासन स्थापनामा ‘फास्ट ट्र्याक हेयरिङ’को व्यवस्था प्रभावकारी हुने पनि बताए। अदालत नियमावली तथा नयाँ फौजदारी कार्यविधि संहिताले गम्भीर मुद्दामा निरन्तर सुनुवाइको व्यवस्था राखे पनि प्रभावकारी सुनुवाइ हुन सकेको थिएन ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कृष्ण नेपालले गम्भीर अपराधका मुद्दामा प्रहरी र सरकारी वकिलले स्पष्ट वतन खुलाएर साक्षीसहित अभियोगपत्र पेस गर्ने र उही दिन सुनुवाइ गर्ने निर्णय भएको बताए। ‘पछिल्लो समयमा भएका बलात्कार र हत्यालगायत घटनालाई केन्द्रित गरेर हामीले अत्यन्त छिटोछरितो न्याय गर्ने भनेका छौं। सफल हुनका लागि स्रोतसाधन र अन्य निकायको सहयोग कति रहन्छ, त्यसमा पनि भर पर्दछ,’ स्रेस्तेदार नेपालले भने ।

 

महिला हिंसामा शून्य सहनशीलता : गृहमन्त्री 
ललितपुर : गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयले महिला हिंसामा शून्य सहनशीलताको अभ्यास सुरु गरिसकेको बताएका छन्। त्यसैले दोषी सबैलाई कानुनी कठघरामा ल्याउने उनको भनाइ छ। नखिपोट युवा क्लबले आयोजना गरेको ‘दोस्रो दसैं महोत्सव’ कार्यक्रममा उनले भने, ‘विकासका लागि शान्ति र सुशासन हुनु आवश्यक छ।

शान्ति, सुशासन र स्थिरता नभएसम्म मुलुकलाई समृद्ध बनाउन सकिँदैन ।’ मुलुकमा भ्रष्टाचार, तस्करी, गुन्डागर्दी एवं सिन्डिकेट मौलाइरहेकाले यी सबै कुराको अन्त्य गरेपछि मात्रै मुलुक समृद्धितर्फ जाने पनि उनले बताए। युवालाई मुलुकमा बस्ने वातावरण मिलाइदिन क्लबका सचिव गोपाल लिम्बूले आग्रह गरे। ‘विदेशमा गएर नेपाली युवा कसैको गुलाम बन्न नपरोस्’, उनले भने, ‘देशको विकासका लागि मुलुकमा उद्योगधन्दा, कलकारखाना खोल्नुपर्छ ।’
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.