पाकिस्तानको पोस्टमा नेपालको दर्जन गोल
काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू-१८ च्याम्पियनसिप फुटबलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ। भुटानको थिम्पुमा भएको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० गोलले पराजित गरेको छ।
एकपक्षीय खेलमा नेपालकी रेखा पौडेलले दोहोरो ह्याट्रिक पूरा गरिन्। उनी एक्लैले सात गोल गरिन्। खेलको पाँचौं मिनेटमै गोलको खाता खोलेकी रेखाले १७औं र १९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि उनले पहिलो हाफको ३२, ३८ तथा दोस्रो हाफको ७१ र ७४औं मिनेटमा गोल गर्दै गोल संख्या सात पुर्याइन्।
यसैगरी सरु लिम्बूले ४७, रश्मीकुमारी घिसिङले ६७, अलिसा जिम्बाले ८२, मञ्जली कुमारीले ८७ र मनिषा राउतले इन्जुरी समयको ९२औं मिनेटमा गोल गरे।
प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘बी’मा नेपाल, पाकिस्तान र बंगलादेश छन्। भुटान, माल्दिभ्स र भारत भने समूह ‘ए’मा छन्। नेपालले समूहगत चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ। समूहगत चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी अक्टोबर ७ मा हुनेछ।