सन्दीप एनसेल ‘हम्बल हिरो’
काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेले शुक्रबार सिफलस्थित बालमन्दिर विद्यालयमा उपस्थित बालबालिकासँग केही समय अन्तरक्रिया गरे। बालबालिकाका हरेक जिज्ञासा मेटाउने प्रयास गरे। उनीहरूसँगै तस्बिर खिचाए। अटोग्राफ दिए। केही समय आफ्नो बलिङमा ती बालबालिकालाई ब्याटिङ गर्ने अवसर पनि दिए।
टेलिभिजन र पत्रपत्रिकामा दैनिकजसो छाइरहने आफ्ना स्टार क्रिकेटर सन्दीपलाई प्रश्न गर्न, फोटो खिच्न र अटोग्राफ लेख्न लगाउँदा बालबालिका निकै खुसी देखिएका थिए। विश्वका धुरन्धर ब्याट्सम्यानहरूलाई बलिङ गरिसकेका सन्दीपको बलमा एक दुईपटक मात्रै भए पनि ब्याट उचाल्न पाउँदा बालबालिका अझ धेरै खुसी देखिएका थिए।
उनीहरूको यो खुसीको क्षण जुटाइदिने काम गरेको थियो, एनसेलले। एनसेलले हालै सार्वजनिक गरेको नयाँ स्किम ‘आज भोलि र सँगै’मा समाजका प्रतिष्ठित व्यक्तिहरूलाई यसरी बालबालिकामाझ पुर्याउने कार्यक्रम पनि समावेश गरेको छ, जसको उद्देश्य ती प्रतिष्ठित व्यक्तिको अनुभव र उनीहरूसँगको भेटले बालबालिकामा पनि सकारात्मक परिवर्तन आओस् भन्ने हो।
एनसेलले त्यसको सुरुआत सन्दीपबाट गरेको हो। सन्दीपले कार्यक्रममा आफ्नो जीवनका प्रेरणादायी प्रसंगहरू राखेका थिए। ‘अवस्था जस्तोसुकै होस्, मेहनत गर्न छाड्नु हुन्न। अहिले हाम्रो देशमा पनि क्रिकेट संघ निलम्बनमा छ’, तपाईंको यो सफलताको सूत्र के हो भन्ने एक बालकको प्रश्नमा सन्दीपले भनेका थिए, ‘प्रतिकूल अवस्थाका बीच पनि मैले मेहनत गर्न छाडिनँ। सफलताको सूत्र मेहनत नै हो।’
एनसेलले सन्दीपसँगको यो सहकार्य अझै लामो समय जारी रहने जनाएको छ।