जयदास : उस्तै छ लाखे नाच्‍ने रहर

जयदास : उस्तै छ लाखे नाच्‍ने रहर

‘हाम्रो संस्कृति हाम्रो पहिचान, जगेर्ना गर्ने हाम्रो अभियान ।’ येँया अर्थात् इन्द्रजात्राको दिन जयदास रञ्जितकार (४१) यही नारा राता अक्षरमा लेखिएको ज्याकेटमा भेटिए, उनको आफ्नै घर मजिपातमा । त्यो दिन उनी आफ्नो लाखे बन्ने पालो कुरिरहेका थिए । जयदास त्यो ज्याकेटको चेन घरि लगाउँथे र घरि खोल्थे, सायद मध्याह्नको चर्को घामले उकुसमुकुस भएर ।

जयदासले ज्याकेटभन्दा भित्र सेतो टिसर्ट पनि लगाएका थिए, जसको छातीपट्टिको भागमा मजिपाः लाखे नाचिरहेको तस्बिर प्रिन्ट गरिएको थियो । विगत २० वर्षदेखि लाखे नाच्दै आएका जयदास यस वर्ष पनि निरन्तरता दिने तयारीमा थिए । त्यसैले उनी अरू दिनभन्दा अलिबढी व्यस्त देखिएका थिए । उनी लाखे निकाल्ने तयारीमा थिए । व्यस्तताको त्यो वातावरणमा उनी आफ्नो पुरानो घरको होचो ढोकाबाट पटकपटक भित्रबाहिर गरिरहेका थिए ।

जयदासको उमेरले चालीस वसन्त पार गरिसकेको छ यद्यपि उनमा लाखे नाच्ने जोसमा कत्ति पनि कमी आएको छैन । ‘पाँच–छ वर्ष त अझै नाच्छु’, उनी विश्वासका साथ भन्छन् ।

दिउँसो दुई बजेको थियो । जैसीदेवल र चिकँमुगलको ठीक बीचमा रहेको छ मजिपातको लाखेननी । जहाँबाट धाः बाजा र भुस्या बजाउने युवाहरूको समूहसँगै लाखे निकालिँदै थियो । लाखेननी पस्ने गल्लीसँगै जोडिएको छ जयदासको घर । चारतले घरको बुइगलमा पूजा सामग्री तयार हुँदै गर्दा जयदास घरबाहिरको साँघुरो सडकमा पालो फेर्न आउने लाखेको व्यग्र प्रतीक्षामा थिए ।

जयदास सानैदेखि लाखेको पछिपछि हिँड्थे । २० वर्षअगाडिको घटना सम्झँदै उनी सुनाउँछन्, ‘वीरेन्द्र राजा हुँदाको समय थियो त्यो । राजतन्त्र नै भनम् । लगातार पाँच–छ घन्टासम्म लाखे बनेर नाचेको छु ।’ ‘लाखे नाच्दा हामी खाली खुट्टामा हुन्छौं’ जयदास भन्छन’्, ‘धेरैबेर रापिलो सडकमा नाच्दा पैतालाका छाला नै जान्छ ।’

लाखेको ख्वापा (मुकुन्डो) लगाएर नाचुन्जेल केही हुँदैन । तर मुकुन्डो उतार्नेबित्तिकै खुट्टा कति दुख्छ भने जयदासलाई पीडा सहन साह्रै मुस्किल पर्छ । पछिल्लो अनुभव सुनाउँदै उनी भन्छन्, ‘राजतन्त्रको अन्त्यसँगै हिजोआज धेरै बेरसम्म नाच्नु पर्दैन । लाखे नाचका लागि एकपछि अर्को चोकमा पालो फेरिन्छ, यसले अलि सहज हुन्छ ।’


घडीमा तीन बज्नै लागेको छ । लाखे छें (घर) भएको लाखननीमा केहीबेर नाच्दै सानो ढोकाबाट राजेश श्रेष्ठ(३४) मजिपात प्रवेश गर्छन् । मानिसको हुलको बीचमा नाच्दै न्हु घः (जैसीदेवल मन्दिर) नजिकै पुगेपछि उनी तीनपटक उफ्रिन्छन्, नाच्दै चिकँमुगल पुग्छन् र त्यहाँ पनि तीनपटक उफ्रिन्छन् । यसरी उफ्रिँदा त्यस क्षेत्रभित्र कसैलाई रोग नलाग्ने, अनिष्ट नहुने मान्यता छ । त्यसपछि राजेश जयदासको दैलोसम्म आइपुग्छन् । एकैछिनमा बाटोमा लाखेनाच हेर्नेको भीड बाक्लिन्छ । सडक गुड्ने गाडी र मोटरसाइकल रोकिन पुग्छन् । धाः बाजा र भुस्या बजाउनेहरूले दुम दु झ्या तालमा बाजा बजाउन सुरु गरेलगत्तै मजिपातको सडक भीडले ढाकिन्छ । लाखेको ख्वापा लगाएका राजेश जयदासको घरभित्र पालो फेर्न पस्छन् । बाहिरबाट ड्यामडुम ढोका बन्द गरिन्छ र ख्वापा फेरेको फोटो खिच्न सख्त मनाही गरिन्छ ।

लाखेको ख्वापा जयदासको घरको दोस्रो तल्लामा पुग्छ । हतारिँदै राजेश लाखे बनेको बेला लगाएको तासको टल्किने जामा, चोलो, फेट्टा, जनी, घङ्ला, हातमा बान्ने रुमाल सबै फुकालेर जयदासका हातमा थमाइदिन्छन् । जयदास घरको तेस्रो तलामा उक्लिएर फटाफट उही पहिरन लगाउँछन् । उनले भोटो लगाउँदै गर्दा घरको माटनमा आफन्तको ओहोरदोहोर चलि नै रहन्छ । अगराठको साँघुरो भर्‍याङ पनि थर्किरहन्छ ।

पहिरन लगाएपछि जयदास एकछिन चुपचाप बस्छन् । त्यतिबेला शान्त भैरवका रूपमा रहेका लाखेकणे उचाल्नै कठिन देखिने ख्वापा टेबलमाथि चौंरीगाईको रातो पुच्छरको रौं फिँजारेर पल्टिरहन्छ । रातो रङको डरलाग्दोे ख्वापासँगै एकैछिन आफन्तहरूको फोटो सेसन चल्छ । ससाना नानीबाबूलाई ख्वापा देखाएर ढोग्न लगाइन्छ, ताकि ती नानीबाबू भूतप्रेतदेखि नडराऊन् । नेवारी समाजमा लाखेलाई बालबालिका संरक्षकका रूपमा लिइन्छ । पौराणिक कथनअनुसार लाखेले आफ्नो दानव अवतार त्यागेलगत्तै उनलाई शान्त भैरवको रूपमा पुजिन्छ ।

लाखे निकाल्ने तयारीसँगै जयदासको अनुहारमा त्यही राक्षसी अनुहारको देवमुकुट डोरीले बाँधेर अड्याउन सुरु हुन्छ । अनुहारमा ख्वापा अडिएसँगै जयदासको भद्र अनुहार एकाएक अजंगको भुत्ले कपालले ढाकिएको डरलाग्दो रूपमा परिणत हुन्छ । भैरव अवतारलाई दैलोनिर भुइँतलामा दियो बालेर अबिर र अक्षताले पूजा गरेपछि चिउरा, मिठाइ, फलफूल आदि प्रसादका रूपमा चढाइन्छ । सबै विधि पूरा भएपछि जयदास दैलोबाट बाहिरिन्छन् । त्यसपछि सुरु हुन्छ बाजाको तालमा लाखेनाच ।


आफ्नै दैलोअगाडि एकछिन जयदास उफ्रीउफ्री नाच्छन् । उनी नाचेको हेर्न वरिपरिका घरका झ्याल, बार्दलीबाट हेर्नेहरू सडकतिर टाउको निहुराउँछन् । सडकछेउमा पनि लाखे हेर्ने मानिसको लर्को लाग्छ । भीडको बीचबाट लाखे आजुको फोटो खिच्ने र भिडिओ बनाउनेहरूले आआफ्नो मोबाइल, क्यामेरा जतिसक्दो माथि उठाउँछन् ।

घर दैलो हुँदै जयदास जैसीदेवलतिर लाग्छन् । केहीबेर बाजाको तालमा नाचेपछि त्यहाँ श्रीगणेश, भैरव, कुमारी, पुलुकिसी र लाखे पूजा गर्न प्रसादका रूपमा सजाइएका समयबजीकोे एक भाग लाखेलाई चढाइन्छ । नाच्दै गर्दा जयदास मुकुन्डो घरि माथि उठाउँछन्, घरि तल तान्छन् र चिसो रुमालले पसिना पुच्छन् । झयालिंचाले लाखेलाई जिस्काउँछन् पनि । त्यसबेलाको माहोल बडो रोमाञ्चित बन्छ । एकछिनपछि जयदास नाच्दैनाच्दै चिकमुगल, अटकोनारायण, मरु हुँदै ओम बहालको गल्लीतिर हुर्रिन्छन् ।


ओमबहालमा अर्का लक्ष्मण रञ्जित लाखे बन्न पालो कुर्दै थिए । त्यहाँ पुगेपछि फेरि त्यही मुकुट फेर्ने विधि लागू हुन्छ र त्यही ख्वापामा लक्ष्मण घरबाट निस्कन्छन् । उक्त लाखे अब ओमबहाल हुँदै वसन्तपुर पस्न कसरत गर्छ । जयदासलाई आफ्ना बुबा, हजुरबुबाले पनि लाखे नाच्ने गरेको सम्झना छ । उनी भन्छन्, ‘त्यतिबेला लाखेसँगसँगै यति हिँडेको छु कि मैले हेर्दाहेर्दै लाखे नाचको बारे सबै कुरा सिकें ।’ परम्परादेखि चल्दै आएको संस्कृति भन्दै जयदासको प्रत्यक पुस्ताले लाखेनाच हेरेको छ । अब छोरा रिजय रञ्जितकार लायक भएपछि उनलाई पनि लाखे नचाउन लगाउने जयदासले सोचिसकेका छन् । ‘लाखे नाच्नु हाम्रो परिवारको अभिन्न अंग भइसक्यो’ उनी भन्छन्, ‘कसैले मलाई छोड् पनि भन्दैनन् र म आफैं पनि छोड्न सक्दिनँ ।’ समय परिवर्तन भयो भन्छन्, संस्कृति हराउँदै गयो पनि भन्छन् तर जयदासलाई त्यस्तो लाग्दैन । उनी भन्छन्, ‘समयसँगै हाम्रो संस्कृति अझै परिष्कृत हुँदै गएको छ । मानिसहरू पनि संस्कृति जगेर्नामा अझ दत्तचित्त भएर लागेको देखिन्छ ।’ जयदासलाई लाखे बन्नुपर्दा कहिल्यै बोझ भएन, बरु लाखे बन्न पाउँदा सधैं उत्साह बढिरह्यो ।

बाल्यकालमा लाखेदेखि डराउने जयदास समय बित्दै जाँदा लाखेको मित्र भए । अहिले आफैं लाखे बनेका छन् । लाखे आजुलाई सबैले सम्मान गर्छन् । कोहीकोहीले यसको फाइदा उठाउने गरेको जयदास बताउँछन् । उनी भन्छन्, ‘यसो गर्नु धर्मविपरीत हो, पाप हो ।’

लाखेप्रतिको विश्वास अझ उत्तिकै छ । भूकम्पको क्षण सम्झँदै जयदास भन्छन्, ‘०७२ सालको भूकम्पमा लाखेको क्षेत्र (चिंकमुगलदेखि जैसीदेवल) भित्र रहेका घरपरिवारमा कुनै क्षति भएन । उनी आफैं वर्षौं पुरानो घरमा बस्दै आएका छन् । घरका भित्ताहरूमा कुनै चिरा परेको छैन । जयदास जुन घरमा लाखेको पालो फेर्न जान्छन्, त्यो घर पनि पुरानो तर अझै सग्लो छ ।

लाखेलाई सम्मानस्वरूप लाखे आजु पनि भनिन्छ । लाखे छेँ (लाखे घर) बाट लाखे आजु नाच्दै बाहिर निस्कँदा दर्शन गर्नेको भीड लाग्छ । साथै वसन्तपुर डबलीमा पुगेर नाच्ने शान्त भैरवकोे नृत्य हेर्ने उत्सुकता मानिसमा त्यत्तिकै देखिन्छ । धेरैलाई लाग्छ, सुरुदेखि अन्त्यसम्म एउटै लाखेले नृत्य गर्छन्, तर होइन । बीचमा पालो दिँदै र पालो फेर्दै चोकचोक घुम्ने जयदासजस्ता थुप्रै लाखेहरू हुन्छन् । तिनीहरू भीडबाटै हराउँछन् । जयदास पनि २० वर्षयता भीडमा हराउँदै आएका लाखे हुन् ।

लाखेननीमा रहेको श्री लाखे आजुको घरबाट लाखेको ख्वापामा नाच्दै बाहिर निकालिएको लाखे इन्द्रजात्राको दिनदेखि निरन्तर आठ दिनसम्म नचाइन्छ । यसबीचमा लाखे नाच्नेहरू फरकफरक हुन्छन् । आवश्यकताअनुसार दोहोरिन्छन् पनि । जात्रा सकिएसँगै शान्त भैरवको ख्वापा फेरि लाखे छेँमा समयबजी चढाएपछि विधिवत् रूपमा ‘पिला’ नामक गोप्य माटोको भाँडोमा राखिन्छ र अर्को वर्ष मात्र निकालिन्छ ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.