गाउँमै 'सेलार स्टोर' भएपछि आम्दानी दोब्बर

गाउँमै 'सेलार स्टोर' भएपछि आम्दानी दोब्बर

जुम्ला : बगैंचामा लटरम्म स्याउ । बोटमा लटरम्म स्याउ देखेपछि जो कसैको मन लोभिन्छ । तर, टिप्ने सिजनमा भनेजस्तो भाउ आउँदैन । अफ सिजनमा मूल्य राम्रो आउने भएपछि खाल्डो खनेर राख्ने गरिन्थ्यो । यसरी राखेको केही महिनामा स्याउ कुहिएर सकिन्थ्यो ।

जुम्लाको पातारासी गाउँपालिकास्थित उर्थुकी चैती बिष्टले आम्दानीको एक मात्र स्रोत स्याउ जोगाउन नसक्दा घाटा व्यहोर्दै आएकी थिइन् ।तर अहिले उनको आम्दानी दोब्बर हुन थालेको छ । गाउँमै सेलार स्टोर (स्याउलाई आधुनिक प्रविधिबाट भण्डारण गर्ने घर) निर्माण भएपछि उनको आम्दानी पहिलाको तुलनामा दोब्बर बनेको हो । स्याउ फल्ने सिजनमा बजारमा मूल्य नपाइने र बिक्री गर्न पनि समस्या हुने भएपछि उनले बगैंचामा फलेको स्याउ त्यही सेलारमा लगेर भण्डारण गर्न थालेकी छन् । भण्डारण गरिएको स्याउ लामो समयसम्म पनि नकुहिने र ताजा अवस्थामै रहने भएकाले पनि उनले बेसिजनमा स्याउ निकालेर दोब्बर मूल्यमा बिक्री गर्ने गरेकी हुन् ।

यसपालि बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै बिष्टले भनिन्, ‘पहिला भण्डारणको व्यवस्था नहुँदा खाल्डोमा जौको भूस हालेर स्याउ राख्नुपथ्र्यो, यसरी राख्दा स्याउ कुहिएर सकिन्थ्यो । लामो समयसम्म जोगाउन समस्या हुन्थ्यो, अहिले त गाउँमा सेलार स्थापना भएपछि हामीलाई स्याउ भण्डारण गर्न कुनै समस्या छैन ।’ बगैँचाको स्याउ टिपेर सीधै सेलार स्टोरमा राख्ने र बेसिजनका बेला झिकेर बजार पठाउने गरेको जानकारी उनले दिइन् । बेसिजनमा बजार पठाउँदा स्याउको मूल्य दोब्बर हुने र आम्दानी पनि बढेको उनको भनाइ छ ।

स्याउ भण्डारण गर्ने उपयुक्त ठाउँ नहुँदा उर्थुकै बिजुला बिष्टले पनि चार वर्ष पहिलेसम्म काठको भकारीभित्र स्याउ राख्ने गर्थिन् । भकारीमा राखेको स्याउ चाउरिने र मुसाले खाने समस्या थियो । बल्लतल्ल फलाएको स्याउ जोगाउन नसक्दा उनले पनि मेहनत र लगानीअनुसार मुनाफा लिन पाइनन् । तर, अहिले उनको आम्दानी लोभलाग्दो छ ।

घर नजिकै स्थापना भएको सेलार स्टोरमा असोजमा भण्डारण गरेको स्याउ चैत वैशाखसम्म पनि ताजा रहने भएपछि उनले पनि स्याउको दोब्बर मूल्य पाउन थालेकी हुन् । चैती र बिजुला मात्र होइनन्, पछिल्लो समय उर्थुका स्याउ किसानले स्याउबाट बेसिजनमा राम्रो आम्दानी गर्न थालेका हुन् ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले उर्थुमा दुईतले सुविधायुक्त सेलार स्टोर निर्माण गरिदिएको छ । यसका कारण स्थानीय स्याउ किसानलाई चैत र वैशाखसम्म खडेरीमा स्याउ जोगाउन सहज भएको हो । विगतमा भण्डारण गर्ने ठाउँ नहुँदा कुहिएर खेर जाने डरले किसानले सिजनमा सस्तोमै स्याउ बेच्थे । तर, अहिले सेलार स्टोरमा राख्दा स्याउले दोब्बर मूल्य पाउने गरेको हो ।

जुम्लामा स्याउको पकेट क्षेत्र मानिने उर्थुमा आयोजनाले १९ लाख ९५ हजार रुपैयाँको लागतमा १५ टन क्षमताको सेलार स्टोर निर्माण गरेको छ । यस्तै स्थानीय किसानले पनि तीन लाख ८० हजार पाँच सय ५० रुपैयाँ लगानी गरेका हुन् । सिजनमा प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा बिक्री हुने स्याउ सेलार स्टोर सञ्चालनमा आएपछि चैत–वैशाखमा प्रतिकिलो एक सय २० रुपैयाँमा बिक्री हुने गरेको स्थानीय किसान पवित्रा बिष्टले बताइन् ।

सेलार स्टोरबाट उर्थुका ७२ घरपरिवार किसान प्रत्यक्ष लाभान्वित भएको सहकारीका अध्यक्ष परेउ बिष्टले जनाए । सेलार स्टोरमा लामो समयसम्म राख्दा स्याउमा दाग नलाग्ने र नकुहिने गरेको स्थानीय किसान सपना बिष्टले बताइन् । सेलार स्टोरले आफूहरूको आम्दानी बढाउन पनि उत्तिकै सहयोग गरेको उनको भनाइ छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले कर्णालीका कालिकोट र जुम्लाका ६९ समूह र सहकारीलाई स्याउ उत्पादन र बजारीकरणमा सहयोग गरेको बताए ।

आयोजनाले स्याउ भण्डारणका लागि सेलार स्टोर निर्माण गर्नुका साथै किसानलाई स्याउ टिप्ने औजार, बोक्ने डोको र क्यारेट दिएको छ । भारीका अनुसार जुम्ला र कालिकोटमा स्याउको मूल्य शृंखलामा आयोजनाले आठ करोड ९५ लाख ९७ हजार रुपैयाँ लगानी गरेको छ । त्यसबाट दुई हजार ५५ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.