सटर फोडेर मोबाइल पसल चोरी
सिरहा : सिरहाको लहानमा एक व्यापारीको मोबाइल पसल चोरी भएको छ। गयराति लहान बजारको पूर्व–पश्चिम लोकमार्गमा रहेका हाम्रो मोबाइल पसलकाे सटर फोडेर करिब १७ लाख मूल्य बराबरको मोबाइल चोरी भएको पसल सञ्चालक धनन्जय गुप्ताले जानकारी दिए। उनका अनुसार पसलमा ४७ थान महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ।
इलाका प्रहरी कार्यालय नजिकै रहेको माेबाइल पसल सटर फोडेर चोरी गर्दासमेत प्रहरीले सुइँको पाएनन्। लहानका डिएसपी राजेश थापाले चोरहरुको क्रियाकलाप सिसिटिभीमा कैद भएको जनाएका छन्। प्रहरीले चोरी गर्ने समुहको खोजी कार्य जारी राखेको उनले बताए।