राजधानी सारेको विरोधमा धनगढी बन्द
धनगढी : प्रदेशसभाको राजधानी सार्ने निर्णयको विरोधमा शनिबार धनगढी बन्द गरिएको छ। राजधानी सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै नागरिक समाज संघर्ष समितिले धनगढी बन्द गराएको हो।
धनगढी बजार पुरै बन्द गरिएको छ । ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन्। बिहानै केही सार्वजनिक सवारी साधान चले पनि ९ बजेदेखि ठाउँ–ठाउँमा बन्दकर्ता भेला भएर सवारी रोकिरहेका छन ।
शुक्रबार अपरान्ह विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुसँग छलफल नै नगरी, बाहिर भइरहेको आन्दोलनको परवाह नै नगरी प्रस्ताव पास गरिएको आरोप लगाएको छ ।
प्रदेशसभामा सत्तापक्षका सभामुखसहित ३९ प्रदेशसभा सदस्य छन् भने कांग्रेसका १२ र राजपाका दुई सदस्य छन् । सभामुख बाहेकका पुरै ३८ मत प्रस्तावको पक्षमा खसेको थिए।
प्रदेश सभामा दर्ता भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व, गोदावरी बजारदेखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ ।