नक्कली प्रमाण पत्र बनाउन लगाउने र बनाउने पक्राउ
जाजरकोट : जाजरकोटमा नक्कली प्रमाणपत्र बनाइ पेश गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छेडागाड–४ का सुनिल परियार र भेरी नगरपालिका–४ मा कम्प्युटर इन्सिच्युट सञ्चालन गर्दै आएका तेजराज विष्ट पक्राउ परेका हुन् ।
नेपाली नागरिकताको प्रमाण पत्र लिने सिलसिलामा एसईईको चारित्रिक प्रमाण पत्र नक्कली बनाएर परियारले जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थिए । छेडागाड नगरपालिका–५ स्थित रामोदय माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियारले एसईईको चारित्रिक प्रमाण पत्र कम्प्युटर इन्सिच्युटमा नक्कली बनाएका थिए ।
सुनिल पहिले नागरिकता बनाउन आउदा एसईईको मार्कसिट र चारित्रिक प्रमाणपत्रमा जन्ममिति फरक परेको र केरमेट देखिएपछि सच्चाएर ल्याउन भनेको प्रमुख जिल्ला अधिकारी ललित बस्नेत बताए ।
‘विद्यालयबाट एसईईको मार्कसिट अनुसार चारित्रिक प्रमाण पत्र बनाएर ल्याउन भनी फर्काएका थियौं तर उनले कम्प्युटरमा गएर नक्कली बनाएर ल्याएको पाइयो’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने ‘एक हजार आठ सय रुपैयाँ लिएर भेरी कम्प्युटर इन्सिटच्युटले नक्कली प्रमाण पत्र बनाएको पत्ता लागेपछि पक्राउ गरेर मुद्दा चलाउने निर्णय गरिएको हो ।’ सदरमुकामबाट अनिलले एसईई पास गरेको विद्यालय जान दुई दिन पैदल हिड्नुपर्छ ।
यति टाढाको विद्यालय जानुभन्दा केही पैसा खर्च गरेर सदरमुकामबाटै काम हुने भएपछि उक्त कार्य गरिएको परियारले स्वीकार गरेका छन् । उनले कारकबाही हुनेबारे आफू अनभिज्ञ रहेको बताए ।
नक्कली प्रमाणपत्र बनाउने र बनाउन लगाउने दुवैलाई पक्राउ गरी मुद्दा चलाउने तयारी भएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । अनिलको आग्रहपछि कम्प्युटर इन्सिटच्युट सञ्चालक विष्टले नयाँ बनाएको प्रमाणपत्रको रकम लिई आफ्नो कम्प्यूटरमा नयाँ डिजाइन गरी प्रधानाध्यापकको हस्ताक्षर समेत आफैले गरेको खुलेको छ । प्रहरीले लिखत सम्बन्धी कसुर अन्र्तगत किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी गरेको प्रहरी निरीक्षक सुनारले बताए ।
कसुर ठहर भए ७० हजार जरिवाना र ७ वर्ष जेल जेल सजाय हुने व्यवस्था छ ।’ पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत जाजरकोटले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।