जालिनी अर्थात् पुरुषसत्ताको चित्रशाला
कुनै कथालाई किन नाटक बनाइन्छ ? उत्तर अनेक हुन सक्छन्। एउटा उत्तर ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ भित्रको ‘जालिनी’लाई नाट्य रूपान्तरण गर्ने सन्दर्भमा निर्देशक दयाहाङ राई दिन्छन्। उनी भन्छन्, ‘कथाका दृश्यहरू मभित्र चल्मलाउन थाले। त्यसैले यसको नाट्य रूपान्तरण कल्पेको हुँ।’ अहिले मण्डला थिएटरमा ‘जालिनी’ कथामा निर्देशक राईले देखेको दृश्य मञ्चमा उत्रिरहेको छ। ‘जालिनी’लाई नाटकको रूपमा हेर्दा परियारका कथामा दृश्यको श्रृंखलाबद्ध प्रवाह हुन्छ भन्ने पुस्टि हुन्छ।
नाटकको सुरुआत भने कथामा जस्तो छ, त्यसरी हुँदैन। लोकजीवनमा कथाको भूमिकालाई सम्बोधन गर्दै नाटक सुरु हुन्छ। बाढीले आफ्नो घर जान समस्यामा परिरहेकी युवतीलाई एक वृद्धाले कथामार्फत विम्बात्मक रूपमा जीवनको यथार्थ बुझाउन खोज्छिन्। वृद्धाको कथनसँगै युवतीको मस्तिष्कमा पैदा हुने दृश्यमार्फत नाटक कथामा प्रवेश गर्छ।
मिथकीय सन्दर्भलाई आधुनिक समयसँग विम्बमा जोड्नु कथाकार परियारको विशेषता हो। यस कथामा राजाकी एकमात्र छोरीको नाम हो, ‘जालिनी’। जसको अर्थ लाग्छ- ‘चित्रशाला।’ नामले जालिनीलाई केन्द्रमा राखिएजस्तो लागे पनि यो कथा चाहिँ छोरीलाई चौढोकाभित्र कैद गरेर आफ्नो महान चित्र कोर्न लगाउन खोज्ने राजाको कथामा बुनिएको छ। वर्तमानसम्मकै शासकीय मनोविज्ञानको चित्र हो यो।
स्वार्थको कुवामा पौडिरहेका सल्लाहकारको घेरामा चेतनाशून्य भएर शासन गर्ने शासकले विद्रोहलाई आमन्त्रण गर्छ।
‘जालिनी’लाई आफ्नै बाबुको चित्र बनाउन बाध्य पार्न अनेकन तिकडम सिकाउन ज्योतिषीमण्डल सक्रिय हुन्छ। तर सारा तिकडम असफल हुन्छन्। अन्तत: ‘जालिनी’ले एउटा विद्रोही युवकको चित्र बनाउँछिन्।
कथाभित्रका घटना रोमाञ्चक लागे पनि शासनबारे सामान्य दृष्टिले शोध वा प्रतिशोध गर्ने हरेकलाई नौलो लाग्दैन। कथाबाट नाटकसम्म आइपुग्दा भने सान्दर्भिक बहसलाई एक पाइला अघि बढाएको छ। हरेक शासकको पतनपछि विद्रोही शक्ति स्थापित हुन्छ। तर त्यो शक्ति शासक भइसकेपछि के हुन्छ। उही शासक ?
राजनीतिक तहमा भएका परिवर्तनले नागरिकको जीवनमा परिवर्तनको आभास दिएको छैन। नाटकमा राजा-महाराजाको तस्बिरको ठाउँमा विद्रोही प्रधानमन्त्री भएपछि कोदाली खनिरहेको किसानको फोटो टाँसिन्छ। परिवर्तनको स्तर त्यत्तिमा मात्रै सीमित देखिन्छ। कथालाई नाटक बनाउँदा निर्देशकले उठाउन खोजेको यो बहसलाई भने बलियोगरी पक्रिन सकिन्छ।
नाटकको केन्द्रमा पुरुष छन्। कथावाचक वृद्धा छोरालाई कुरिरहेकी छिन्। अर्को विद्रोही पात्र जलजला, उनकोे प्राण रक्षा गर्न पनि छोरो नै आइपुग्नुपर्छ। चित्र बनाउन जालिनी एउटा पुरुष कुरिरहेकी छिन्। यस्तो दृश्य हाम्रो पितृसत्तात्मक मनोविज्ञानको तहमा स्वाभाविक लाग्न सक्छ, तर उचित लाग्दैन। आमाले छोरालाई कुर्नु र युवतीले युवकलाई कुर्नु ठीकै लाग्न सक्छ। तर जब सत्ता मनोविज्ञानबाट बाहिरिएर हेरिन्छ, सीधै देखिन्छ- उनीहरूको गन्तव्य पुरुष हो। कथाकारको तर्क छ, ‘यो हाम्रो समाजको चित्र हो, जसले वर्षौंदेखि महिलाको दिमागमा पनि पुरुषको सौर्य स्थापित गरिदिएको छ।’ वर्षौं चौघेराभित्र महिलाको अनुहारमात्रै देखाएर राख्दा पनि जालिनी चित्र बनाउन पुरुषकै प्रतीक्षामा बस्नुलाई कथाकारको तर्कभित्र सामेल गर्न सकिन्छ। तर यहीँनेर प्रश्न गर्ने ठाउँ चाहिँ छ, त्यस्तो पुरुषप्रधान चित्रलाई बदल्ने प्रयत्न इतिहासमा कहीँ कतै भएको छैन र ?
कथामा प्रति-मिथकीय अभ्यास देखिन्छ। जस्तो कि, खसी-बोका काटेर खाने तल्लो जातका बनाइन्छन्। यसमार्फत कुनै समय आख्यानीकरण गरिएको मिथ्या घटनालाई सत्य ठानेर स्थापित भएका मान्यतामाथि व्यंग्य र बहसको आमन्त्रण एकैचोटी गरेको छ।
यस्तै अनेकन सन्दर्भमा शाश्त्रीय कथानकको स्वादमा वर्तमानको सन्दर्भ खोज्दै चिन्तनमा डुब्न र बहसमा उत्रिन ‘जालिनी’ नाटकले आमन्त्रण गर्छ।