बालबालिकाका पक्षमा
- टेकनाथ दहाल
अमेरिकी शिक्षाविद् जोन हल्टको किताब ‘हामी बालबालिका’ इन्डिगो इन्क प्रकाशनले भर्खरै बजारमा ल्याएको छ। किताब सुशील भट्टराईले अनुवाद गरेका हुन्। जोन हल्ट (१९२३-१९८५) ले लामो समय प्राथमिक तथा माध्यमिक तहमा अध्यापन गरेका थिए। उनी सदैव औपचारिक शिक्षाका आलोचकका रूपमा प्रस्तुत भए। औपचारिक शिक्षाका कमीकमजोरी औंल्याउँदै उनले विद्यालय शिक्षामा सुधार ल्याउन थुप्रै लेख तथा पुस्तक लेखेका छन्।
‘हामी बालबालिका’मा जोन हल्टले कमजोर भनिएका बालबालिकाले पनि कसरी आफ्नो मानसिक विकास गर्न सक्छन् भन्ने कुरालाई निकै गहिरोसँग प्रस्तुत गरेका छन्। विद्यालयका समस्या, शिक्षण सिकाइमा रहेका परम्परागत धारणा आदिबारे गहिरो विश्लेषण गरेर उनले यस क्षेत्रका समस्याहरू पहिल्याएका छन् र समाधान पनि खोजेका छन्।
यस पुस्तकमा स्कुले बालबालिकाको शिक्षा र सिकाइका आधारभूत मान्यतामाथि गहिरिएर विश्लेषण गर्न व्यावहारिक र उपयोगी तरिकाहरू समावेश छन्। शिक्षण सिकाइ क्रियाकलाप र विद्यालय तथा अभिभावकको लापर्बाहीले गर्दा सबै बालबालिका समान ढंगले शिक्षा प्राप्त गर्न सकिरहेका हुँदैनन्, फलस्वरूप विद्यार्थीहरू असफल हुन पुग्छन्। हल्टले त्यस प्रकारका समस्याबाट बचाई कसरी बालबालिकालाई असफल हुन नदिने भन्ने कुरालाई व्यावहारिक ढाँचाद्वारा नै सम्झाएका छन्।
कुनै विद्यार्थी विषय वा स्थिति विशेषमा मात्रै मेधावी वा कमजोर हुन्छन्; विषय वा स्थितिमा फरक रहनेबित्तिकै उनीहरूको प्रतिभामा पनि फरकपन आउने गर्छ। कोही गायनमा अब्बल हुने गर्छ भने कोही खेलकुदमा। कोही भौतिक विज्ञानमा तीक्ष्ण हुन्छ भने कसैको सामाजिक विषयमा रुचि हुन्छ। त्यसका लक्षणहरू केटाकेटीले सानै बेलादेखि देखाउन थालेका हुन्छन् भन्ने कुरालाई हल्टले प्रस्तुत पुस्तकमा देखाएका छन्।
बालबालिकाको यो विविधतालाई विद्यालय तथा शिक्षकले बोध गरेर उनीहरूको रुचिअनुसारको शिक्षा र सिकाइ क्रियाकलाप गर्ने हो भने कुनै केटाकेटी प्रतिभावान् र कुनै कमजोर भन्ने हुँदैन भन्ने जोन हल्टको निष्कर्ष छ। साठी सत्तरीजना विद्यार्थी एउटै कक्षाकोठाभित्र थुनेर एउटै कुरा सिकाउँदा त्यो विषय रुचि हुनेले सिक्ने र त्यो पठनशील अनि प्रतिभावान् पनि हुने तर रुचि नहुनेले सिक्दा पनि नसिक्ने र परीक्षामा फेल भएपछि ऊ प्रतिभाहीन र कमजोर विद्यार्थीका रूपमा चित्रित हुने हाम्रो शिक्षा प्रक्रिया आजको सबैभन्दा ठूलो चुनौती हो।
जोन हल्टले आफ्नो अध्ययनलाई यसैमा केन्द्रित गरेका छन्। सिकाइ र गराइबीच अनि समाज र विद्यालयबीच जुन पृथकता र अन्तरविरोध देखा परेको छ, त्यसलाई एउटा बालकले आफ्नो परिवेशमा व्यवस्थापन गर्न नसक्दा बालक असफल मानिएको हो भन्ने मान्यता उनको छ। औपचारिक कक्षामा कमजोर भएका विद्यार्थी पनि बाहिर कुनै विषयमा निकै प्रतिभावान् हुन्छन्। विद्यालय र शिक्षकले बालबालिकाको त्यो प्रतिभालाई चिन्नुपर्ने धारणा उनको छ। यो समस्या समाधानका लागि व्यवस्था गरिएको शिक्षक-अभिभावक संघको अदूरदर्शी सोचका कारण समस्या झन्झन् जटिल बन्दै गइरहेको छ भन्ने निष्कर्ष यस पुस्तकमा प्रस्तुत गरिएको छ।
बालबालिकाको पक्षमाब्रेकर : जोन हल्टले कमजोर भनिएका बालबालिकाले पनि कसरी आफ्नो मानसिक विकास गर्न सक्छन् भन्ने विषयलाई गहिरोसँग लेखेका छन्।
जोन हल्टका अध्ययन र अनुभवहरू नेपालका सन्दर्भमा हुबहु उतार्न नसकिए पनि हाम्रा विद्यालयमा अध्यापन गराउने शिक्षक र हाम्रा अभिभावकलाई निकै उपयोगी हुनेछन्। खासगरी औपचारिक विद्यालयहरू जेल वा ब्यारेकसरह हुन्छन् भनेर आलोचना गर्ने जोन हल्ट केटाकेटीलाई घरमै उसको रुचि अनुसारको शिक्षा दिनुपर्ने मान्यता राख्छन्। केटाकेटीलाई भौतिक र मानसिक यातना नदिने, जबर्जस्ती रट्न नलगाउने, गृहकार्यको भारी नबोकाउने जस्ता हल्टका सुझावलाई नेपालका विद्यालयहरूमा लागू गर्न सकिन्छ। उनले यस पुस्तकमा तथ्य रटाउने तर तथ्यको समीक्षा गर्न नसिकाउने प्रवृत्तिको आलोचना गरेका छन्। तथ्यहरू घोक्नेभन्दा पनि तथ्यको विश्लेषण गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्ने राय उनको छ। शिक्षक र अभिभावकले आफ्ना केटाकेटीसँग कस्तो र कसरी व्यवहार गर्ने भन्ने कुरालाई पनि यस पुस्तकले मार्गनिर्देश गर्छ।
आज नेपाली समाजमा अंग्रेजी भाषालाई सिकाइको स्तर मान्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ। अंग्रेजी जान्नु भनेको योग्य हुनु हो भन्ने मनोविज्ञान समाजमा बिस्तार भइरहेको छ। आज नेपाली कला, संस्कृति, भूगोल, इतिहास जस्ता मौलिक पक्ष पनि अंग्रेजीमा सिकाइँदै छ। जोन हल्टले यो प्रवृत्तिको पनि आलोचना गरेका छन्। केटाकेटीलाई आफ्नो भाषामा नै सिकाउनुपर्ने उनको धारणा छ। सामान्य अवस्थामा त सबैले ससाना समस्याको समाधान गर्न सक्छन्। तर, जब बिल्कुलै नयाँ परिवेशमा नयाँ किसिमका समस्यासँग जुध्नपर्ने हुन्छ; त्यसबेला मात्रै व्यक्तिभित्रको प्रतिभा पहिचान हुने मान्यता जोन हल्टको छ। विद्यालयमा प्राप्त गरेको प्रतिशत र विद्यालयले निर्धारण गर्ने श्रेणीले विद्यार्थीको प्रतिभाको पहिचान हुन नसक्ने मान्यता उनले यस पुस्तकमा राखेका छन्।
जबसम्म विद्यार्थीको वैयक्तिक विशेषतालाई ध्यानमा राखेर विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गरिँदैनन्, तबसम्म त्यस प्रकारका समस्याहरू रही नै रहन्छन्। हाम्रो आफ्नै अनुभवले पनि के देखाएको छ भने विद्यालय समयमा अब्बल नदेखिएका बालबालिका पछि गएर निकै राम्रो भएका छन्। अनि विद्यालयमा अब्बल देखिएका बालबिलाका पछि कमजोर बनेका छन्। आफ्नो जीवनमा राम्रा विद्यार्थीभन्दा कमजोर मानिएका विद्यार्थीहरू बढी सफल पनि भएका हुन सक्छन्। जसले आफ्नो रुचिअनुसारको काम गर्न सक्छ, त्यसले बढी प्रगति गर्छ। जसले आफ्नो रुचिअनुसारको काम गर्न पाउँदैन उसले धेरै प्रगति पनि गर्दैन। मानिसको त्यो विशेषता सानै उमेरदेखि देखिन थाल्छ। हाम्रा विद्यालयहरूमा त्यसको पहिचान गरी सानै उमेरदेखि उसको रुचिको विषय बालबालिकालाई सिकाउनुपर्ने सुझाव जोन हल्टले दिएका छन्। यसो गर्न सकिएमा हाम्रा आजका शिक्षा क्षेत्रका समस्याहरू पनि समाधान हुन सक्छन्।
यो पुस्तक नै समस्याको अचुक औषधि त बन्न सक्दैन तर बालबालिकाका धेरै समस्यामध्ये केही समस्या पत्ता लगाएर उनीहरूको क्षमता विकासमा लाग्न विद्यालय, शिक्षक र अभिभावकलाई यसले पक्कै सहयोग पुर्याउने छ। साथै हाम्रा शैक्षिक योजनाकारका लागि पनि पुस्तक पठनीय छ।
पुस्तक : हामी बालबालिका
लेखक : जोन हल्ट
अनुवादक : सुशील भट्टराई
मूल्य : रु. ३७९÷-
प्रकाशक : इन्डिगो इन्क प्रा.लि. ...