बैतडीका ९ स्थानीय तहमा बैंक

बैतडीका ९ स्थानीय तहमा बैंक

बैतडी : बैतडीको दुगर्म सिगास गाउँपालिकाका नागरिकले बैंकिङ कारोबारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ। केही दिनअघि सिगासको गाँजरीमा कृषि विकास बैंकको शाखा स्थापना भएपछि बैंककै लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको स्थानीयबासी भानसिंह धामीले बताए।

उनले भने, ‘गत साल गाउँपालिकाका सबै वडाका नागरिक उपभोक्ता समितिका खाता खोल्न बैतडी पुगेका थियौं। खाता सञ्चालनकै लागि सदरमुकाम पुग्दा निकै झन्झट भएको थियो। अब गाउँपालिकानजिकै बैंकिङ सेवा सुरु भएको छ। यसले हामीलाई सजिलो भएको छ।’

सिगास गाउँपालिकामा बैंक नहुँदा गत वर्ष बैंकिङ कारोबार बैतडी सदरमुकामबाटै गरिएको थियो। यसका लागि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले सदरमुकाममा डेरा गर्नुपर्ने बाध्यता थियो। गाउँपालिकामा बैंक स्थापना भएर काम सुरु भएपछि त्यो बाध्यता हटेको सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रौपदी चन्दले बताइन्।

उनले भनिन्, ‘बैंकका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हटेको गाउँपालिकाबासीलाई पनि सजिलो हुन्छ। हामीलाई पनि कार्यालयको काम गर्न सजिलो हुन्छ।’ सिगास जस्तै पञ्चेश्वर गाउँपालिकामा बैंक नहुँदा नागरिकलाई सास्ती थियो। गाउँपालिकाले बैंककै सेवा नभएका कारण सदरमुकामबाट पनि सेवा दिनुपर्ने बाध्यता थियो।

गत साउनदेखि गाउँपालिकामा नबिल बैंकले सेवा दिन थालेपछि बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने ‘गाउँपालिकाको कुलाउमा बैंक स्थापना भएको छ। हामीलाई उपभोक्ता समितिका खाता सञ्चालन गर्न पनि सजिलो हुन्छ। सबै कर्मचारीको खाता पनि नबिलमै खोल्छौं। गाउँपालिकाले पनि नबिल बैंकबाटै सेवा लिइरहेको छ।’

गाउँमै बैंकिङ सेवा पुगेपछि स्थानीयलाई निकै सजिलो भएको पञ्चेश्वर गाउँपालिका कुलाउका तेजेन्द्रबहादुर चन्दले बताए। उनले भने, ‘गाउँमै बैंक पुगेपछि ग्रामीण क्षेत्रका नागरिकको पनि बैंकिङ सेवामा पहुँच पुगेको छ। यसले हामीलाई निकै सजिलो भएको छ।’

सिगास र पञ्चेश्वरजस्तै जिल्लाका नौ स्थानीय तहमा बैंकको पहुँच पुगेको छ। दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा पहिलादेखि नै बैंकको पहुँच थियो भने बाँकी सातवटामा संघीय संरचनापछि बैंक पुगेका हुन्। अब बैतडीको एक मात्र शिवनाथ गाउँपालिकामा मात्रै बैंक पुग्न बाँकी छ। उक्त गाउँपालिकामा पनि नेपाल एसबीआई बैंकले आगामी महिनादेखि सेवा दिने गरी काम सुरु गरेको गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन्।

पुरचौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा ग्लोबल आईएमई बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक, डिलाशैनी गाउँपालिकामा कुमारी बैंक, सिगास गाउँपालिकामा कृषि विकास बैंक, मेलौली नगरपालिकामा एनसीसी बैंक र पञ्चेश्वर गाउँपालिकामा नबिल बैंकले सेवा दिइरहेका छन्। गाउँपालिकामा बैंकले सेवा दिन थालेपछि बैंकिङ कारोबारका लागि सजिलो भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले बताए। उनले भने, ‘स्थानीय सरकारका सेवालाई प्रभावकारी बनाउन बैंकिङ सेवा पनि आवश्यक थियो। बैंक स्थापनापछि हामीलाई कारोबार गर्न सजिलो भएको छ।’

जिल्लाको दशरथचन्द नगरपालिका सदरमुकामस्थित नगरपालिका भएकाले त्यहाँ राष्ट्रिय वाणिज्य बैंकसहित निजी लगानीका बैंकले पनि सेवा दिइरहेका छन्। त्यस्तै पाटन नगरपालिकामा कृषि विकास बैंकसहित अन्य निजी क्षेत्रका बैंकले सेवा दिइरहेका छन्। जिल्लाका प्रायः सबै ठाउँमा बैंक स्थापना भएपछि नागरिकको बैंकिङ सेवामा पहुँच पुगेको छ। यसले उनीहरूलाई बचत गर्ने बानीको विकास समेत गराउने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.