गोली दागिएको बालकको सम्झना
मैले फेरि इतिहासको जग
पातझैं हल्लिरहेको देखेँ
जब फूलको पत्रदलझैं
सुकसुकाउँदो बालक
अचानक मारियो लोकतन्त्रको रंगभूमिमा ।
मातिहिँड्ने आँधीजस्तै
गोली त अन्धो थियो
र, त लोकतन्त्रको काखमै
बालकको देब्रे छातीको मध्यभागबाट
सोझै पार भएको थियो गोली ।
भर्खरै खलिहानबाट फर्किरहेको
बाबुको काँधमा मच्चिँदै
लाडे पल्टँदा
उसका गालामा धसिएको माटो र
हँसिला आँखामा छचल्किएको खुसी
अझै उस्तै थियो ।
केही क्षणअघि मात्र
छिमेकी किशोरीको
आँखाको इशारा सम्झेर
हावामा हल्लिरहने पातजस्तो
उसको चञ्चल चेहेरामा अझै
भर्भराइरहेको थियो लालुपाते लाज ।
हटियाबाट फर्केकी
माईलाई भेट्न
बाबुको हात छुटाएर दौडँदाको चम्किलो खुसी
मेटिएको थिएन अझै उसको अनुहारबाट ।
फित्ताजस्तै तनक्क तन्केर
शिथिल भएपछि उसका हातहरू
उठेका थिए सोझै आकाशतिर
मानौं सत्ताको क्रूरताविरुद्ध
सभ्यताको एउटा वास्तुकार
मृत्युपछि पनि गरिरहेको थियो संघर्ष
जसरी थाहै नपाई मानिसहरू
गरिरहेका हुन्छन् जीवनको लडाइँ ।
बालकको शवमाथि शिर झुकाएर
मृत्यु स्वयम्
लेखिरहेको थियो आँसुले शोककाव्य ।
बादलको पर्दाभित्र छिरेर
घाम स्वयम् गरिरहेको थियो ब्ल्याकआउट ।
सिमलका कापहरूमा उभिएर
हावा स्वयम् गरिरहेको थियो मौन धारण ।
मैले अन्तिमपल्ट हेरेँ बालकको शव
उस्तै हँसिलो थियो अनुहार
उसैगरी उठेका थिए हात
उसका आँखाहरूमा थियो
हजार सूर्यको जस्तै एउटा वास्तुकारको तेज ।
त्यसपछि मैले देखिनँ अरू केही
सिवाय, आँधीमा मकाएको बूढो सिमलझैं
सभ्यताका किल्लाहरू हल्लिरहेका थिए ।