कांग्रेस केन्द्रीय पदाधिकारीमा मधेसलाई दुई पद अनिवार्य गर्न माग
वीरगन्ज : मधेसस्थित नेपाली कांग्रेसका नेता–कार्यकर्ताले पार्टीको केन्द्रीय पदाधिकारीमा मधेसको सहभागिता सुनिश्चित हुने गरी पार्टीको विधान संशोधन गर्न शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।
वीरगन्जमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको कांग्रेसको प्रदेशस्तरीय विधान संशोधन सुझाव सङ्कलन भेलामा सहभागी मधेसका कांग्रेस नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रीय उपसभापति र सहमहामन्त्री दुवै पदमा मधेसका नेताको सहभागिता सुनिश्चित हुने गरी विधान संशोधन गर्न सुझाव दिएका हुन् ।
कांग्रेसको अहिलेको विधानमा केन्द्रीय उपसभापति एक जना मनोनित, महामन्त्री निर्वाचित एक र मनोनित एक गरी दुई जना तथा सहमहामन्त्री एक जना मनोनित गर्ने प्रावधान छ ।
भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा क्षेत्रीय र जिल्ला कार्य समितिबाट सिफारिस भएकालाई नै उम्मेद्वार बनाउन पनि पार्टी नेतृत्वसँग माग गरेको छ । यसअघि पार्टी विधान कुल्चिएर केन्द्रले क्षेत्रीय र जिल्ला कार्य समितिका सिफारिस लत्याएको भन्दै यस्तो माग गरेका हुन् ।
भेलाबाट आएका सुझाव कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालको संयोजकत्वको विधान संशोधन समितिलाई हस्तान्तरण गरिएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिएका छन् ।भेलाबाट संकलित सुझावमाथि विधान संशोधन समितिले छलफल गरी केन्द्रीय कार्य समितिलाई बुझाउनेछ । त्यसलाई केन्द्रीय समितिले अन्तिम रुप दिने प्रावधान छ।