भूकम्पले जीर्ण भवन स्थानीयले बनाए
बेनी : ढल्लाढल्लाजस्तो भवनमुनि पढ्नुपर्ने बाध्यता हटेकोमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख मावि कक्षा १० मा अध्ययनरत छात्रा भावना पाइजा दंग छिन् । ३ वर्षअघिको भूकम्पले जीर्ण बनाएको भवन पुनःनिर्माण भएपछि पाइजाजस्तै शिख माविका धेरै बालबालिकामा त्रास हटेको छ । ‘चिरा–चिरा परेको भवन कति बेला भत्किएर पुर्छ भन्ने त्रास थियो’, कक्षा १० कै छात्रा सीमा पुर्जाले भनिन्, ‘पक्की भवन निर्माण भएपछि ढुक्क भएर पढ्न पाएका छौं ।’
सरकारी निकाय, स्थानीयबासी, प्रवासी र देशका ठाउँ-ठाउँमा पुगेका शिखका बासिन्दाको ३ करोड २८ लाख रुपैयाँको लागतमा १७ कोठे २ वटा भवन पुनःनिर्माण भएको हो । २०७२ सालको भूकम्पले भत्काएको भवन पुनःनिर्माणमा सरकारी निकायको तुलनामा समुदायको लगानी बढी छ । तत्कालीन जिविस, गाविस र शिक्षा कार्यालयको ६६ लाख रुपैयाँ, दाताको १ करोड ६६ लाख रुपैयाँ र समुदायको ९६ लाख रुपैयाँमा विद्यालयको नयाँ भवन बनेको हो ।
२ वटै भवन अपांगमैत्री र भूकम्प प्रतिरोधी क्षमताका छन् । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पले विद्यालयको पुरानो भवन जीर्ण बनेपछि विद्यार्थी जोखिम मोलेर पढ्दै आएका थिए । ‘गत वर्ष सरकारी निकायको ५० लाख रुपैयाँ अनुदान र समुदायको ९० लाख रुपैयाँको लागतमा छ कोठे भवन निर्माण भएको थियो’, व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले भने, ‘ब्रिटिस गोर्खा वेयलफेयरको १ करोड ६६ लाख रुपैयाँ सहयोगमा यस वर्ष ८ कोठे अर्को भवन पुननिर्माण गरेका छौं ।’
अध्यक्ष बुद्धुजाका अनुसार बेलायती गोर्खा सैनिकका सेवा निवृत्त वागवीर पाइजाको पहलमा गोर्खा वयलफेयरको योजना पारिएको हो । गत वर्ष निर्माण भएको ८ कोठे भवनमा यसपटक जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको १६ लाख र समुदायको ६ लाख रुपैयाँ बराबरको सहयोगमा ३ वटा कोठा थपिएको हो ।
पोखरा, काठमाडौं र प्रवासमा रहेका शिखका बासिन्दा तथा पूर्वविद्यार्थीले विद्यालय भवन पुननिर्माणमा सहयोग गरेको प्रअ केदार कार्कीले बताए । ‘समुदाय र प्रवासीको साथ नभएको भए विकट क्षेत्रमा सुविधासम्पन्न भवन निर्माण सम्भव थिएन’, प्रअ कार्कीले भने, ‘पूर्वाधारसँगै शैक्षिक सुधारमा समुदायको राम्रो सहयोग पाएका छौं ।
कक्षा १२ सम्मको पठनपाठन हुने १९१ जना विद्यार्थी अध्ययनरत शिख माविको कक्षा १ देखि १० सम्म पूर्वविद्यार्थीको सहयोगमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गरिएको छ । अमेरिकामा रहेका पूर्वविद्यार्थी तिलक पाइजाको पहलमा ३२ लाख रुपैयाँ जुटाएर १६ वटा ल्याप्टपको व्यवस्था र सौर्य ऊर्जा जडान गरिएको छ ।
गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति र उत्कृष्ट शिक्षकलाई प्रोत्साहन गर्न ६ लाख रुपैयाँको शैक्षिक गुणस्तर वृद्धि कोष स्थापना गरिएको विद्यालयले जनाएको छ । प्रवासी, पूर्वविद्यार्थी र स्थानीयबासीको सहयोगमा खेलमैदान र छात्रावास भवनसमेत निर्माण गरिएको छ । महायज्ञबाट आर्थिक स्रोत जुटाएर २०६६ देखि १० जोड २ तहको पढाइ सञ्चालन गरिएको छ ।