यौनहिंसा पीडित न्याय खोज्दै
राजविराज : मालिकको यौनहिंसाको शिकारबाट जन्मिएको तीन महिने शिशु बोकेर न्याय खोज्दै चहार्नु सुरुंगा १ की ३५ वर्षीया उर्मिलादेवी सदाको नियति बनेको छ। काखको तीन महिनाको छोरो छिमेकी ओमप्रकाश यादवकै शारीरिक सम्बन्धबाट जन्मेको दाबी गर्दै दैनिक न्यायिक समिति, प्रहरी कार्यालय, विभिन्न संघ–संस्थामा पुगेर न्यायका लागि गुहारे पनि न्याय पाउन नसकेको सदाले बताइन् ।
दुई वर्षअघि पति नारायण सदाको मृत्यु भएपछि चार सन्तानको भरणपोषणका लागि उनी यादवको घरमा भाँडा माझ्ने र खेतीबारीको काम गर्न थालेकी थिइन्। घरमा कोही नभएको मौका छोपी यादवले जबरजस्ती यौन सम्पर्क गरेपछि पटक–पटक धम्क्याउँदै यौन सम्बन्ध राखेको उर्मिलाको भनाइ छ ।
सदाका अनुसार, गर्भवती भएपछि विवाह गर्ने आश्वासन दिए पनि यादवले दलित भएकै कारण स्वीकार गर्न मानेनन्। गाउँमा बसेको पञ्चेतीमा यादवले गल्ती स्वीकार्दै विवाह गर्ने कबोल गरेका थिए। अहिले बोली फेरेको उनले सुनाइन् ।
गर्भवती भएपछि न्यायका लागि विभिन्न निकायमा पुगेकोमा प्रमाण अभावमा सबैले ‘पहिले सन्तान जन्माउ अनिमात्र डीएनए परीक्षण गरेर न्याय दिलाउन सकिने’ बताएका थिए। उर्मिलाले भनिन्, ‘अहिले बच्चा जन्मिएपछि कहिले जिल्ला प्रहरी त कहिले अदालत जाऊ भन्छन् ।’ पाँच सन्तानलाई दुई छाक खुवाउन बिहानैदेखि मजदुरीमा जुटनु पर्ने बाध्यता सुनाउँदै उनले न्यायका निम्ति लामो समयसम्म यता र उता भौतारिरहनु पर्दा शारीरिक एवं मानसिक समस्या भएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले आरोपितलाई पक्राउ गरी एक रात थुनामा राखेर सोधपुछ गर्दा आरोप नस्वीकारेपछि प्रमाणको अभावमा छोडनु परेको बताए। अहिले बच्चा जन्मेकाले डीएनए परीक्षण गरेर वास्तविकता पत्ता लगाई न्याय दिलाउन सकिने प्रहरी निरीक्षक श्रेष्ठले बताए।
उर्मिला आफू डिएनए परीक्षणका लागि तयार रहेको भन्दै तत्काल यसका लागि पहल गर्न सरोकारवालासँग आग्रह गरेकी छन्। न्यायका लागि सहयोग गरिरहेका जनचेतना दलित संगमका कार्यकारी निर्देशक गणेशकुमार रामले न्यायका लागि सरोकारवाला सबैसँग सहयोगको अपिल गरेका छन् ।