अर्को देश

अर्को देश

प्रिय पाठक, यो देश छोरीहरूको होइन भने, तपाईंहरूको पनि होइन। त्यसैले यो देशको चिन्ता नगर्नुस्, बरु नेपाल भन्ने ठ्याक्कै यस्तै अर्को देशको समाचार टीभीमा हेर्नुस्। त्यहाँ त चाँडै पानीजहाज आउँदैछ रे। रेल आउँदै छ रे।


यो कथा तपाईंको नेपालको होइन। यो मेरो देशको कथा हो। हुबहु नेपालकै जस्तो भूगोल र इतिहास, सांस्कृतिक विविधता, आर्थिक, सामाजिक र राजनीतिक समस्या भएको देशको कथा हो। तर, पाठकवृन्द ! तपाईंहरू यो कथालाई नेपालकै कथा र नेपालकै नियति मान्न पनि स्वतन्त्र हुनुहुन्छ। यो कथामा उल्लेख गरिएकी कमला, नेपालकै कुनै स्कुलबाट फर्कंदै गरेकी किशोरी हुन् भनेर चिन्न स्वतन्त्र हुनुहुन्छ। उनको अनुहार नेपालका धेरै नानीहरूसित मिल्छ। पश्चिम नेपालकी निर्मला, पूर्वी पहाडकी दिलसरी, काठमाडौंकी जमुना र मधेसकी आलियासित पनि उनको अनुहार मिल्छ।

तपाईंहरूलाई जुन अनुहार ठीक लाग्छ। त्यही अनुहारको कथा हो भन्नेर मान्न स्वतन्त्र हुनुहुन्छ। म पाठकीय स्वतन्त्रताको सम्मान गर्छु।

००

उहाँ साह्रै चिन्तित हुनुहुन्थ्यो। उहाँको चिन्ता जायज पनि थियो। देशभरिबाटै एकपछि अर्को बलात्कारका समाचारहरू आइरहेका थिए र धेरैजसो मामिलामा पुलिसले अभियुक्त समात्नै सकेको थिएन। देशको कार्यकारी प्रमुख भएपछि हरेक मुद्दा र समस्या उहाँसम्मै ठोक्किन आइपुग्थे। विपक्षीहरूलाई त उहाँको खेदो खन्ने सानोभन्दा सानो मौकाको प्रतीक्षा रहनु स्वाभाविकै थियो। अरू कुरामा भइदिए त उहाँले जस्तो सुकै होहल्ला पनि एक कानले सुनेर अर्को कानले उडाइदिनुहुन्थ्यो। तर, यसपटक उहाँ आफैंलाई पनि चैन भएन। यसरी हरेक दिन कलिला नवजात बालिकादेखि वृद्धासम्म बलात्कृत भइरहेको कुरामा अब हात बाँधेर बस्नु हुन्न र केही न केही दह्रो र विश्वासिलो कदम चाल्नै पर्छ भन्ने कुरामा उहाँ निकै गम्भीर भइसक्नु भएको थियो। अझ पछिल्लो समय कञ्चनपुरकी कमलाको बलात्कारपछि हत्याको मुद्दाले जनता तात्तिएका थिए। सडक तात्तिएको थियो। माइतीघर मण्डल तात्तिएको थियो। कलाकार, साहित्यकार र बुद्धिजीवीहरू तात्तिएका थिए। नतात्तिएको त देशको प्रहरी प्रशासन थियो। त्यसले अहिलेसम्म पनि अपराधी समात्नु त परै जाओस्, अपराधीको पहिचानसम्म गर्न सकिरहेको थिएन। अझ कतिले त भन्थे, पुलिसले अपराधी चिन्छ। तर, उसको पहिचान सार्वजनिक गर्न चाहिरहेको छैन। देशको यस्तो हविगतले उहाँलाई अलिअलि चिन्ता त हुने नै भयो। चिन्ताको मुख्य कारण भने चुनाव थियो। यही मुद्दाले उहाँ र उहाँको पार्टीको साख गिर्न सक्छ र आगामी चुनावमा उहाँले सत्ताको मजा नपाउन पनि सक्नुहुन्छ।

एकाबिहानै उहाँ दौरा सुरुवाल लगाएर तयार हुनुभयो। भान्सामा गएर एक मुट्ठी चामल पोको पारेर आफ्नो कोटको खल्तीमा राख्दै बैठकको भित्तामा झुन्ड्याइराखेको माक्र्स र लेनिनको फोटोलाई प्रणाम गर्नुभयो। हतार हतार गाडी चढेर सोझै एकजना गुरुकहाँ पुग्नुभयो र आफ्नो कोटको खल्तीको चामल गुरुको हातमा राखिदिँदै सोध्नुभयो, ‘गुरु ! आज कति बजे मन्त्रिमण्डलको बैठक बस्नु उपयुक्त होला ? ’

गुरुले आफ्नो हातको चामल यताउता गर्दै के के मन्त्र पढ्दै केलाएजस्तो गरे। चामलको केही गेडा हावामा उडाए। केही गेडा उहाँको शरीरमा छर्किदिए र जवाफ दिए, ‘एक बजेर ४३ मिनेटमा गरिएको बैठकले फलिफाप मिल्नेछ। त्यस समयमा गरिएको निर्णयले दूरगामी असर पार्नेछ र हजुरको पार्टीलाई अझै शक्तिशाली बनाउनेछ।’

गुरुको आशीर्वचन पाएर उहाँ प्रसन्न मुद्रामा आफ्नो कार्यालयतिर हुइँकिनुभयो। छिनछिनमा भगवान पशुपतिनाथको पनि स्मरण गरिरहनुभयो।

तोकिदिएकै समयमा सुरु भएको बैठकको अध्यक्षता गर्दै उहाँले मन्त्रीहरूसित भन्नभो, ‘आज कमला नानीको बलात्कारपछिको हत्याका हत्याराहरूको खोजीका लागि उच्चस्तरीय आयोग गठन गरिनेछ। मेरा भाञ्जा यो आयोगको अध्यक्ष हुनेछन्।’

करिब १५ वर्षअघिको कुरा हो। निज भाञ्जा आफ्नी नवजात छोरी र श्रीमतीलाई मरणान्त हुने गरी कुटेको आरोपमा पाँच सात महिना जेल बसिसकेका थिए। मामा श्रीले नछुटाएको भए दुई चार वर्षै जेल बस्नु पर्थ्यो। त्यसपछि भाञ्जाले तीनपल्ट विवाह गरे र हरेक पल्टका श्रीमतीले उनको कुटाइ सहन नसकेर सम्बन्धविच्छेद गरे। उनी अचेल एक्लै भएका कारण मामाकै निवासमा बसिरहेका छन्।

००

बेकामे भाञ्जाको लागि यो ठूलो अवसर थियो। उनी दंग परे। छोडपत्रको बेला उनकी एक श्रीमतीले काखेछोरीलाई छातीमा टाँसेर भनेकी थिइन्, ‘महिलालाई जुत्ता ठान्ने तिम्रो मानसिकताले तिमीलाई असल मान्छे बनाउँदैन। तिमीजस्ता पुरुषले गर्दा यो समाज दिनप्रतिदिन कुरूप बन्दैछ। म मेरी छोरीलाई तिमीबिना पनि हुर्काउन सक्छु।’

आफ्नो पुरुषत्वलाई चुनौती दिएर जाने तिनै श्रीमतीलाई आफू आयोगको अध्यक्ष बनेको प्रमाणपत्र देखाइदिन मन लाग्यो। तर, यतिका वर्ष कहाँ छिन् ? के गरेर बस्छिन् ? कहिल्यै उनले सोधखोजै गरेनन्। छोरी लिएर हिँडेपछि घाँडो पन्छिएजस्तो ठानेका थिए।

भाञ्जाबाबुको नियुक्तिको खबर सार्वजनिक हुनेबित्तिक्कै एक किलो मोतीचुरको लड्डुसहित प्रहरी प्रमुख बधाई दिन घरमै आइपुगे र कमला हत्याकाण्डबारे हालसम्म भएका कामकारबाहीबारे जानकारी दिए। उनले जानकारी दिइरहँदा भाञ्जाबाबुलाई भने दौरासुरुवालको चिन्ता लागिरहेको थियो। उनले प्रहरी प्रमुखसितै सोधे, ‘सहरमा राम्रो दौरासुरुवाल र कोट टोपी कहाँ पाइन्छ होला ? ’

भाञ्जाबाबुले दिनभरि लगाएर आफ्नो नापको दौरा सुरुवाल किनुन्जेल कमला हत्याकाण्डको विरोधमा निस्किएको जुलुसमा पुलिसको गोली लागेर एकजना किशोर मारिए। मामाले भाञ्जालाई फोन गरेर भने, ‘भाञ्जा, तत्काल घटनास्थल जाऊ र सरकारले गम्भीरतापूर्वक कारबाही अगाडि बढाएको भनेर सर्वसाधारणलाई आश्वासन देऊ।

भाञ्जाबाबु चार्टर गरिएको हेलिकप्टरलाई एयरपोर्टमा स्ट्यान्डबाई राखेर एकछिन भगवान् पशुपतिनाथसित आशीर्वाद लिन गए। पशुपतिनाथले आशीर्वाद दिउन्जेल अर्को बालकको खुट्टामा गोली लागिसकेको थियो। मामाले रिसाउँदै फोन गरे, ‘भाञ्जाबाबु, तिमी अघि नै घटनास्थलमा पुगेको भए बालकलाई गोली लाग्ने थिएन। अब तु पुग्नुपर्‍यो। नत्र विपक्षी पार्टीले यसलाई ठूलो मुद्दा बनाउँछ र आगामी चुनावमा यसले नराम्रो असर पार्छ।’

‘हस्, मामा।’, उनले आदेश शिरोपर गरे र एयरपोर्टतिर जाँदा भए। उनलाई बाटोमै सिनामंगलको सेकुवा र बियर खान उधुम मन लाग्यो। करिब एक घन्टा त्यतै अलमल भयो। उता घटनास्थलमा एउटा प्रहरी पनि आन्दोलनकारीको ढुंगा लागेर सख्त घाइते भयो।

भाञ्जाबाबु एयरपोर्ट पुगे। कुन बेला आयोगका अध्यक्ष आउँलान् र हेलिकप्टर उडाइहालुँला भनेर पाइलट व्यग्र प्रतीक्षामा थिए। समयमै घटनास्थल पुग्न पाए थप जनधनको क्षति हुने थिएन भनेर उनी चिन्तित थिए। तर, देशमा पाइलट चिन्तित भएर के ? डाक्टर, इन्जिनियर, रिक्साचालक, मजदुर, ट्याक्सी ड्राइभर या साहित्यकारहरू चिन्तित भएर के ? चिन्तित त सरोकारवाला पो हुनुपर्ने। सरकार र सत्ता पो हुनुपर्ने। तर, नेपालजस्तै देखिने यो देशको सत्ता कथित गुरु र पशुपतिनाथको आशीर्वादमा अल्झिएको थियो। दौरा सुरुवाल र सिनामंगलको सेकुवामा अल्झिएको थियो।

मौसम सफा भएकोमा भाञ्जाबाबु प्रफुल्ल थिए। उनलाई हिमाल हेरेर आफूभित्रको राष्ट्रवाद जागृत गर्ने मुड चल्यो। चिनेको ट्राभल एजेन्सीलाई फोन गरे। हिमाली फ्लाइट तयार भयो। उनले हिमाल दर्शन गरुन्जेल उता, जिल्लामा टियर ग्यास चल्यो। सडकका फलामे बारहरू भाँच्चिए। एउटा बसमा आगजनी भयो र एउटी घाइते वृद्धालाई अस्पताल भर्ना गर्नुपर्ने भयो।

००

बल्ल उनी घटनास्थल पुगे। घटनास्थल पुगुन्जेल भाञ्जालाई भोक लागिसकेको थियो। उनी सोझै त्यस इलाकाको नामी होटेलतिर लागे। होटेलमै डीएसपीलाई बोलाएर हकारे।

‘तपाईंहरू जाबो एउटा बलात्कारी समात्न सक्नु हुन्न ? ’

‘सर, हामीले बजारका सबै घरको खानतलासी गरिसक्यौं। अपराधी कतै भेटिएन।’, डीएसपीले पसिना पुछ्दै भने।

‘अपराधीलाई सहरबजारमा खोजेर हुन्छ ? मैले पनि विद्यार्थीकालमा एकपल्ट गोली चलाएर मान्छे मारेको थिएँ। त्यसपछि म जंगलमा लुकेको थिएँ। लु, हिँड्नुस् जंगल। म पनि सँगै जान्छु। यस मामिलामा तपाईंभन्दा मै अनुभवी छु।’

जंगलमा अपराधी फेला परेन। चित्तल फेला पर्‍यो। साँझ रक्सीसित भाञ्जाबाबुले चित्तल फ्राई खाँदै गर्दा बजार पूरै अस्तव्यस्त भयो र कफ्र्यु लाग्यो।

००

भाञ्जाबाबुले भनेका थिए, ‘अपराध गरिसकेपछि कतिपय अपराधीलाई पश्चाताप हुन्छ र उनीहरू मन्दिरमा गएर ईश्वरसित क्षमा माग्छन्।’ त्यसपछि पुलिसले कमलाका हत्यारालाई मन्दिरमा खोज्यो।

मन्दिरमा अपराधीहरू त टन्नै आएका थिए। तर, कसैले पनि कमलाको बलात्कारपछि हत्या गर्ने हामी नै हौं भनेर हात उठाएनन्। यस्तोमा कसलाई अपराधी भनेर समात्ने ? डीएसपी महोदयलाई आपत पर्‍यो।

सदनमा विपक्षीले कार्यकारी प्रमुख अर्थात् मामा श्रीसित प्रश्न गर्‍यो, ‘एउटी अबोध बालिकाको यसरी पाशविक हत्या हुँदा तपाईंको मन दुख्दैन ? ’

मन कसरी दुख्छ भन्ने कुरा मामाजी अर्थात् देशका कार्यकारी प्रमुखलाई थाहै थिएन। मन कहाँनेर हुन्छ र मन भनेको के हो ? त्यो पनि थाहा थिएन। मन दुख्ने कुरा उहाँलाई कोरा आदर्शवादी लाग्यो। त्यसैले जवाफ दिनु भयो, ‘महोदय, म दुःखी छु। किनभने मलाई पायल्सले दुःख दिइरहेको छ। थप प्रोस्टेटको दुःख थपिएको छ अचेल।’

००

अचानक एउटा सीसीटीभी फुटेज फेला पर्‍यो। त्यसमा एकजना पुरुषले कमलालाई बलजफ्ती बोकेर लगिरहेको दृश्य थियो। यो बलियो प्रमाणका कारण पुलिसले अपराधीको पहिचान गरिहाल्यो। भाञ्जाबाबुमार्फत त्यो खबर मामा श्रीसम्म पुग्यो। अपराधी भनेर पहिचान गरिएका पुरुष त मामा श्रीकै पार्टीको जिल्ला अध्यक्षकै भाइ पो परेछ।

अब भने कार्यकारी प्रमुखज्यूकै निधारबाट चिटचिट पसिना आउन थाल्यो। नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार। उहाँ दोधारमा पर्नुभयो। केही महिनाभित्रै पार्टीको महाधिवेशन हुँदैछ। कार्यकारी प्रमुखज्यू यसपटक पार्टीको अध्यक्ष पनि बन्न चाहनुहुन्थ्यो। त्यसका लागि पश्चिमी क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूको मत निर्णायक हुने कुरा उहाँलाई थाहा थियो। आफ्नो पकड मजबुत गर्न उहाँलाई जुन जिल्ला अध्यक्षको सहयोग आवश्यक थियो, तिनकै भाइ अपराधीका रूपमा समातिएका थिए।

अन्ततः कार्यकारी प्रमुखज्यूले भाञ्जाबाबुमार्फत प्रहरीलाई खबर पठाउनुभयो, ‘हाल अपराधीलाई गिरफ्तार नगर्नू। सडक भाञ्जाबाबुले सम्हाल्नू, सदन म मामा श्रीले सम्हाल्छु। ‘म भन्दिन्छु, कमला नानी वास्तवमा कालगतिले मरेकी हुन्। यो सबै विपक्षीले चर्काएको बेकारको मुद्दा हो।’

भाञ्जाबाबु राजधानी फर्किए। मामा श्रीले भनेजस्तै रिपोर्ट बनाए र दिए।

भाञ्जाबाबु घर पुग्दा १५ वर्षअघि पारपाचुके गरेकी श्रीमती कमजोर, लाचार र हतास मुद्रामा गेटबाहिर उभिएकी थिइन्। भाञ्जाबाबु कड्किए, ‘किन आकी तँ यहाँ ?  अर्को बिहे गरिसकिस् होली त। अब के खान आएकी यहाँ ? ’

‘म केही खान हैन, न्याय माग्न आएकी हुँ। तपाईंसित छुट्टिएपछि छोरीलाई मैले एक्लै हुर्काएँ। कहिल्यै तपाईंसित छोरीको लागि सहयोग मागिनँ। आज माग्छु। कमलालाई न्याय दिनुस्। ऊ तपाईंकै छोरी हो। उसलाई न्याय दिएर देशका अरू छोरीहरूको रक्षा गर्नुस्।’

भाञ्जाबाबुलाई भनन्न रिँगटा चल्यो।

कमलाले न्याय पाइन् या पाइनन्। त्यो त यस कथाका लेखकलाई पनि थाहा छैन। लेखक सर्वज्ञाता पनि त होइन। तर, एउटा कुरा सबैलाई थाहा छ अचेल। छोरीहरू जन्मिन डराउन थालेका छन्, यो देशमा।

००

प्रिय पाठक, यो देश छोरीहरूको होइन भने, तपाईंहरूको पनि होइन। त्यसैले यो देशको चिन्ता नगर्नुस्, बरु नेपाल भन्ने ठ्याक्कै यस्तै अर्को देशको समाचार टीभीमा हेर्नुस्। त्यहाँ त चाँडै पानीजहाज आउँदैछ रे। रेल आउँदै छ रे। देश समृद्ध हुँदैछ रे। तर, कमलाको दुर्भाग्य, उनी न मेरो देशमा बाँच्न पाइन्। न त नेपाल नामक देशको समृद्धिको समाचार सुन्न पाइन्।

मैले यस्तो लेख्दा, नेपालका कार्यकारी प्रमुखज्यू रिसाउनुहुन्छ होला। उहाँसित मेरो विनम्र अनुरोध छ, ‘तपाईं निर्धक्क शासन गरिरहनुस्, यो तपाईंको देशको कथा होइन। तपाईं यस्तो कहाँ हुनुहुन्छ ? मलाई थाहा छ, यो तपाईंको देशको कथा भएको भए कथा पढेर तपाईं रुनु हुन्थ्यो। तपाईंको मन दुख्थ्यो। हाम्रो देशको मामा श्रीलाई पो थाहा छैन। तपाईंलाई त पक्कै थाहा छ नि। मन कहाँ हुन्छ र मन कसरी दुख्छ भन्ने !’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.