सडक अवरोधले सास्ती
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिकास्थित छेप्का–कैना सडक चार महिनादेखि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षासँगै सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैनालगायत स्थानमा दर्जनौं पहिरो खसेको तथा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
पहिरोका कारण छेप्कादेखि कैनाका लागि छुट्ने यातायातका साधन कालिमाटी छेप्कामा थन्किएका छन् । छेप्का–कैना सडकको पहिरो व्यवस्थापन तथा सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको छ । सडकमा यातायात अवरुद्ध भएपछि नगरका २, ३,४, ६ वडाका टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ, गर्छिना, कुशे गाउँपालिका तथा बारेकोट गाउँपालिकालगायत दुर्गम गाउँका स्थानीय समस्यामा परेका छन् । दुर्गम गाउँमा दैनिक उपभोग्य सामान आपूर्ति सहज नहुँदा मूल्यवृद्धि अकासिएको छ ।
दुई रुपैयाँ प्रतिकेजी ढुवानी हुने सामान ८ देखि १० रुपैयाँ केजीमा ढुवानी हुने गरेको स्थानीय व्यापारी वीरेन्द्र खड्काले बताए । तारजाली, वाल, ढल निकास, ग्राभेललगायत कार्यको उचित प्रबन्ध नहुँदा कच्ची सडकमा यातायात अवरोध मात्र होइन, पहिरोको जोखिम पनि बढेको छ । कतिपय सडकमा पहिरोले हिँड्ने अवस्था पनि नभएको स्थानीय बताउँछन् । दसैँ–तिहार चाडपर्व नजिकिँदै गर्दासमेत ग्रामीण सडक सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले जनताले सास्ती खेप्नुपरेको हो । स्थानीय सरकारले बजेट अभाव देखाउँदै सडक खुलाउन पहल नगरेपछि समस्या देखिएको हो । जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् । सदरमुकाम खलंगादेखि जिल्लाका ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय मर्कामा परेका हुन् ।
खलंगादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउ, बाटुले, दशेरा, सीमालगायत बासिन्दा बढी मर्कामा परेका छन् । खलंगादेखि ग्रामीण क्षेत्र जाने मुख्य सडकमध्ये पाँचकाटिया, रिम्ना, कार्कीगाउ, स्याउली, भेरें, सीमा, दशेरा, सुवानाउली, ब्युलीढुंगा, नेटीलेक, कैना, खगेनकोटलगायतमा यातायात अनियमित बनेको छ ।
जिल्लामा निर्माण गरिएका ३ सय किलोमिटर ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा बर्सेनि वर्षापछिका ३/४ महिनासम्म स्थानीयले सास्ती व्यहोर्नुपरेको हो । सडक निर्माणका नाममा हरेक वर्ष करोडौं खर्च हुँदै आएको छ ।