ल्होत्सेमा सिजनको पहिलो आरोहण सफल
काठमाडौं : शरद ऋतुमा पहिलो पटक ल्होत्सेमा (८,५१६मी) आरोहण सफल भएको छ। द नर्थफेस स्की ल्होत्से एक्पीडिसन आरोहणदलका चार सदस्यसहित दुई शेर्पा गाइडले आइतबार सफल आरोहण गरेका हुन्।
अमेरिकी आरोही हिलारी नेल्सन, जेम्स मोरीसन, निकोलस जोन, डुच सिम्पसोन र गाइड उर्गेन लेण्डु शेर्पा र पाल्देन नाम्गे शेर्पाले हिमालको आरोहण गरेको आयोजक कम्पनी एक्स्ट्रिम क्लाइम्बर ट्रेक एण्ड एक्पिडिसन प्रालिका मेनेजिङ डाइरेक्टर पेम्बा शेर्पाले बताए।
आइतबार दिउँसो १:२७ बजे सबै आरोहीले चुचुरो पुगेको शेर्पाले बताए। आरोहणका लागि उर्गेन लेण्डु र पाल्देन नाम्गे शेर्पाले हिमालमा बाटो बनाएका थिए। बाटो बनाउने क्रममा उर्जेन लेण्डुले शनिबार साँझ ६:०५ बजे पहिलो आरोहण गरेका हुन्। शरद ऋतुमा ल्होत्से हिमाल आरोहणमा चार अमेरिकी आरोहीले मात्र अनुमती लिएका थिए।
पर्यटन विभागले आरोहणदलको सहयोगका लागि खटाइएका सम्पर्क अधिकृत जीवन रावत भने आधारशिविर नगएर काठमाडौंमै बसेका छन्। यसै साता मनास्लु हिमालमा पनि सफल आरोहण भइसकेको छ। यो मौसममा नौ हिमाल आरोहणका लागि २० आरोहणदलबाट एक सय ५९ आरोहीले अनुमति लिएको छ। यी मध्ये आठ हजारमाथिको धौलागिरी आरोहण बाँकी छ। बाँकी आठ हजार मिटरभन्दा होचा माथिका आरोहरण छन्।