आइटिएफ–४ मा भण्डारीको विजयी सुरुवात
पोखरा : पोखरामा जारी आइटिएफ–४ अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्षमाथिको एकलमा गत वर्षका च्याम्पियन कमल भण्डारीले विजयी सुरुवात गरेका छन् ।
भण्डारीले आइतबार भएको प्रतिस्पर्धामा भारतका अभिनास कुँवरलाई ६–१, ६–१ को सोझो सेटमा पराजित जर्दै विजयी सुरुवात गरेका हुन् ।
यस्तै गत वर्षका उपविजेता भारतका दिलिप मोहन्तिले पनि विजयी सुरुवात गरेका छन् । गत वर्ष मोहन्तिले भण्डारीसँग फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएका थिए । मोहन्तिले भारतकै अनिलनाथ कल्रालाई ६–२, ६–२ मा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।
यता नेदरल्याण्डका फ्राङ्क लाप्रेले पोखरा रंगशालामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा आफ्नो यात्रामा पूर्णविराम लगाएका छन् । ५५ वर्षमाथिको एकलमा नेपालका कृष्णराज घलेसँघको खेलमा रिटायर्ड हर्ट हुँदै उनले यस प्रतियोगिताबाट बिदा लिए ।
उनी रिटायर्ड हर्ट हुँदा स्कोरबोर्डमा दुबै खेलाडीको समान ६–६ अंक लेखिएको थियो । लाप्रेले ५–३ को अग्रता कायम गरेको खेल ९ पटक ड्युज र एडभाण्टेजमा पुग्दापनि उनले खेल आफ्नो पक्षमा पार्न सकेनन् । उनले पहिलो खेलमा नेपालका विष्णुप्रसाद गैह्रेलाई ६–०, ६–० को सहज सेटमा पराजित गरेका थिए ।
३५ वर्षमाथिको अन्य खेलमा भारतका स्वरणदीप ढोंढीले पोखराका गोपीबहादुर भट्टराईलाई ६–०, ६–१ मा पराजित गरे । यस्तै ४५ वर्षमाथिको एकलमा प्रताप मोक्तानले विकास गुरुङ्गलाई ६–४, ४–६ र ६–२ को कठिन सेटमा पराजित गरे । सोही उमेर समुहको अर्को खेलमा भारतका नारायण मूर्ती कोट्याला बेङकाटाले पोखराका अनुज बाँस्तोलालाई ६–१, ६–४ ले तथा अमृत कार्कीले माधब भण्डारीलाई ६–२, ६–३ ले पराजित गरे ।
५५ वर्षमाथिको एकलमा पूर्व उप–प्रधानमन्त्री समेत रहेका कमल थापाले आफ्नो विजयी यात्रालाई जारी राखे । थापाले भारतका अरुण अग्रवाललाई ६–१ र ६–० ले सजिलै पराजित गरे । त्यस्तै पोखराका अनिल तुलाचनले भारतका ड्योनम लामालाई ६–०, ३–६ र ६–२ को प्रतिस्प्रधात्मक सेटमा पराजित गरे । नेपालका छ्याम्बा ढुण्डुप भारतका आदित्य कर्नानीसँग ७–५ र ६–१ ले पराजित हुन पुगे।