दर्तै नगरी क्यानोनिङ सञ्चालन
काठमाडौं : नेपालमा पछिल्लो समय विदेशी पर्यटकको रोजाइमा पर्न थालेको साहसिक पर्यटन अन्तर्गतको क्यानोनिङ एक दशकभन्दा अगाडिदेखि नै बिना दर्ता सञ्चालन भइरहेको छ। यो व्यवसाय प्रवद्र्धन गर्न र व्यावसायिक समस्या समाधान गर्न सन् २००७ मा नै क्यानोनिङ एसोसिएन अफ नेपालसमेत गठन भएको थियो।
यो संस्थाले व्यावासायिक समस्या समाधान गर्न सरकार आवश्यक व्यवसायीको हितमा लविङ गरे पनि यसै अन्तर्गतका व्यवसायी कम्पनी भने दर्ता प्रक्रियामै छैनन्। पर्यटन मन्त्रालय अन्गर्तको पर्यटन विभागमा साहसिक पर्यटन अन्तर्गतका विभिन्न गतिविधि गर्न ११ वटा मात्रै संस्था गठन भएका छन्। पर्यटकीय गतिविधि सञ्चालन गर्ने यस्तो संस्थामा क्यानोनिङ गराउने उद्देश्य राखेर एउटा मात्रै कम्पनी पोखराको ड्रिम ल्यान्ड ल्वाङ क्यानोनिङ एन्ड मल्टि इन्भेन्टमेन्ट दर्ता भएको छ। यो कम्पनीपनि २०७३ को वैैशाखमा मात्रै दर्ता भएको हो।
पर्यटन विभागका अनुसार साहसिक पर्यटकीय गतिविध बढेको र यसप्रतिको व्यावसायिक चासो देखिएको भएपनि औपचारिक रूपमै ट्रेकिङ, र्याफ्टिङपछि बन्जी जम्पिङ, जिप फ्लायर्स, एमुजमेन्ट पार्क, म्याराथन दौड, रक क्लाइम्बिङसहितका साहसिक पर्यटकीय गतिविधि गर्ने यस्ता कम्पनी ११ वटा छन्।
विभागमा दर्ता भएका बन्जिजम्पिङ गर्ने कम्पनीका रूपमा पोखरामा सञ्चालित हाइ ग्राउन्ड एड्भेन्चर्स, सगरमाथा बेसक्याम्पमा हुने म्याराथन दौड गराउने तेन्जिङ हिलारी एभरेस्ट म्याराथन मे २९, चोभारमा मनोरञ्जन पार्क सञ्चालन गरेको अल्टिच्युड इनोभेसन दर्तामा भएको छ। माउन्टेयरिङसम्बन्धी रक क्याइम्बिङ गराउने हिमालयन क्लाइम्बिङ एन्ड मान्टेनेरिङ स्कुल, एभरेस्ट ट्रायल रेस गराउने अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपीडिसन, अल्ट्रा ट्रायल रेस गराउने वतास ट्रेक्स, ट्रायल रेस गराउने हिडन ट्रेक्स एड्भेन्चर, जिप फ्लाइङ गर्ने दरवार एड्भेन्चर जिप लाइन, ट्रायल रेस गर्ने ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपीडिसन र शेर्पा फोर्टिन पीक एन्ड एक्सपीडिसनमात्रै विभागमा दर्ता छ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सबै प्रकारका साहसिक पर्यटकीय गतिविधि दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्छ। विभागले बेला बेलामा सूचना जारी गर्ने र दर्ता प्रक्रियामा आउन आग्रह पनि गर्ने गरेको छ। दर्ताविना सञ्चालन हुने सबै पर्यटकीय गतिविधि गैरकानुनी हुन्। सरकारले कुनै पनि साहसिक क्रियाकलापमा गर्ने कम्पनीले अनिवार्य दर्ता गरेर मात्रै व्यावसायिक क्रियाकलाप गराउनुपर्ने स्पष्ट व्यवस्था गरेका छन्।
हालसम्म व्यवसायीले न अटेर गरिरहेको बुझाइ पनि घिमिरेको छ। पर्यटन मन्त्रालयले भर्खरै सार्वजनिक गरेको उद्धार कार्यविधिमा पनि कुनै पनि साहसिक पर्यटन अनिवार्य दर्ता हुनैपर्ने व्यवस्था गरेको घिमिरेले बताए। कानुनअनुसार दर्ता प्रक्रियामा नआउने कम्पनी कुनै पनि समयमा हुने अनुगमनबाट कारबाहीमा पर्ने जानकारी पनि घिमिरेले दिए।
‘पछिल्लो समय बजार विस्तार गर्न थालेको नयाँ साहसिक पर्यटकीय प्रडक्टको रूपमा क्यानोनिङ विकास हुँदै गरेको छ। क्यानोनिङ व्यवासाय सञ्चालन गर्ने व्यवसायीमध्ये क्यानोनिङ एसोसिएसनको सदस्य नै ७५ जना पुगेका छन्’, एसोसिएसनका पूर्वअध्यक्ष कर्ण लामाले भने। उनका अनुसार क्यानोनिङ विधामा रूचि भएका र सञ्चालन गरिरहेका व्यवासायीलाई संस्थाको सदस्य बनाइएको हो। यी व्यवसायीले नेपालमा वार्षिक करिब पाँच सय जनालाई क्यानोनिङ गराइरहेका छन्।
नयाँदेखि पेसागत रूपमा यो क्षेत्रमा लाग्नेलाई व्यवसायीले नेपालका भोटेकोसी, सुनकोसी, मस्याङ्दी, मनाङ, स्याङ्जा, कास्कीसहितका ५० स्थानलाई पहिचान गरेर क्यानोनिङ गराइरहेको लामाले बताए। उनका अनुसार यो विधालाई व्यावसायिक बनाउन पहल भइरहेको र सरकारले क्यानोनिङ सञ्चालनको कार्यविधि नबनाएकाले दर्ता प्रक्रियामा नगएको पनि लामाको तर्क छ। सरकारले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि नै नबनाएको र यो विधालाई साहसिक पर्यटनको अन्य विधामा लगेर राखेकाले पनि संघले पटकपटक सरकारसँग व्यावसायिक बनाउन कार्यविधि माग गर्दै आएको तर्क दिए।
लामाका अनुसार साहसिक पर्यटनको गतिविधि चलाउने ट्रेकिङ र्याफ्टिङबाहेक विभाग दर्ता भएका कम्पनी न्युन हुन नै सरकारले यसलाई सञ्चालन गर्न छुट्टै कार्यविधि नबनाउनु नै हो। सरकारले आवश्यक नियम कानून बनाउने र व्यवासायलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने आधार नबनाएसम्म दर्ता प्रक्रियामा सहभागी हुन नसक्ने एसोसिएसनको भनाइ छ।
पर्यटन विभागले पर्यटन ऐन २०३५ अनुसार साहसिक पर्यटनलाई नियमन गर्न पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० जारी गरेको छ। सोही निर्देशिकको दफा २ को (ध)मा साहसिक गतिविधि भन्नाले स्किइङ, हेलि स्किइङ, जिप फ्लायर, बन्जि जम्पिङ, क्यानोनिङ, हेलि ड्राइभिङलगायत अन्य यस्तै गतिविधि सम्झनुपर्छ भन्ने व्यवस्था गरेको छ।
पर्यटन विभागका निर्देशक मिरा आचार्यका अनुसार बजारमा के कति क्यानोनिङ तथा साहसिक पर्यटनका गतिविधि सञ्चालन भइरहेका छन तर यी सबैको अनुगमन गर्नुपर्ने अवस्था छ। अनुगमनबाट मात्रै साहसिक पर्यटनका गतिविधिको अवस्था के कस्तो छ भन्न सकिन्छ।
‘क्यानोनिङसहिका साहसिक पर्यटन नेपालमा भर्खरै आउँदै गरेको नयाँ पर्यटकीय गतिविधि हुन्। यिनलाई अहिले निरूत्साहित गर्ने होइन पहिले धेरैभन्दा धेरैलाई आउन दिन प्रोत्साहन गर्नुपर्ने हुन्छ’, आचार्यले अन्नपूर्णसित भनिन्। उनका अनुसार विभागमा ५७ जनाको दरवन्दी भए पनि २४ जनाले मात्रै काम गर्नुपरेका कारण जनशक्ति अभाव छ। जनशक्ति पर्याप्त नहुँदा कति कम्पनी छन् र दर्ता प्रक्रियामा किन आएन भनेर अनुगमन गर्न नसकिएको तर्क आचार्यको छ।