ह्यासट्याग आन्दोलनको एक वर्ष

ह्यासट्याग आन्दोलनको एक वर्ष

एउटै आरोपले विश्वव्यापी रूप लिन्छ भन्ने कसैको अनुमान थिएन। तर लियो। एक वर्षअघि यौन दुव्र्यवहारको आरोप लागेको थियो, अमेरिकी फिल्म निर्माता हार्वे वेन्सटेइनलाई। दुई दशकअघि अभिनेत्री एस्ली जडलाई उनले गरेको दुव्र्यवहारबारे ५ अक्टोबर २०१७ को न्युयोर्क टाइम्सले लेख्यो, ‘वेन्सटेइनले जडलाई पेनिन्सुला बेभेर्ली हिल्स होटलमा बोलाए।

एस्लीले सोचेकी थिइन्, ब्रेकफास्टका साथै केही योजनामाथि छलफल गर्न बोलाए होलान्। तर, कोठामा लगेर उनले आफूलाई मालिस गर्न अह्राएको, बाथरुममा हिँड्न कर गरेको एस्लीले अन्तर्वार्तामा बताइन्।’ वेन्सटेइनलाई पटकपटक दर्जनौं महिलामाथि त्यस्तो दुव्र्यवहार गरेको आरोप लाग्यो।

यसपछि उनीविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिन थाल्यो। हजारौंले उनको विरोधमा स्ट्याटस पोस्ट गरे, ट्वीट गरे। दुव्र्यवहारमा आफू पनि परेको भन्दै ‘मि टु’ ह्यासट्यागको लहर चल्यो। अमेरिकी अभिनेत्री एलिसा मिलानोले यौनहिंसाको सिकार भएकाले मि टु ह्यासट्याग लेखेर आवाज उठाउन आग्रह गरेपछि यो अभियानले झन् बढी फैलियो। मिलानोले १६ अक्टोबर २०१७ मा ट्वीट गर्दै भनिन्, ‘तपार्इं यौन दुव्र्यवहारमा पर्नु भएको छ भने मि टु सहित आफ्नो भनाइ लेखेर यो ट्वीटमा मेन्सन गर्दै जानुस्।’ मिलानो (४६)लाई द गार्जियनले ‘संसारभरि अहिले भइरहेका यौन दुव्र्यवहारविरुद्ध बिम्ब’को उपमा दियो।

सामाजिक सञ्जालमा प्रचारित मि टु ह्यासट्याग (#Metoo) अभियानले एक वर्ष पूरा गरेको छ। यौन हिंसाविरुद्धको यो आन्दोलनले संसारको ध्यान खिच्यो। तर मि टु ह्यासट्याग २०१७ देखि नै पहिलो प्रयोग भएको चाहिँ होइन। यसअघि पनि सो ह्यासट्याग प्रयोग भएको बिबिसीले लेखेको छ।

पछिल्लो अभियानले यौन उत्पीडनसम्बन्धी नयाँ–नयाँ तथ्य बाहिर ल्यायो। कलाकारिता, पत्रकारिता, राजनीतिमा पनि यसको प्रभाव पर्‍यो। यसले गन्यमान्य भनिनेकै कर्तुत बाहिरिए। अफिस, सडक, यातायात वा अन्यत्र भोग्नुपरेको हिंसालाई सामाजिक सञ्जालमा पोस्ट गर्ने अझै बढिरहेका छन्। टाइम म्यागेजिनले मि टु आन्दोलनमा सहभागीमध्ये केहीलाई ‘द साइलेन्स ब्रेकर’ भन्दै सन् २०१७ को वर्षव्यक्ति घोषणा गर्‍यो।

अभियानले धेरै गन्यमान्य भनिनेका कर्तुत उदांगो पार्‍यो, कतिको त जागिर खोसिदियो

अमेरिकाबाट सुरु यो आन्दोलन विश्वभरि फैलियो। मि टुले धेरैको जागिरै खाइदियो। कति उच्च पदस्थले माफी नै मागे। त्यसमध्येकै हुन्, अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुस। टेलिग्राफका अनुसार बुसले अभिनेत्री हिथर लिन्डालाई केही वर्षअघि अनुचित मनसाय राखेर छोएको आरोप खेप्नुपर्‍यो। बुसले २४ अक्टोबरमा माफी मागे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यौन दुव्र्यवहार आरोपबाट मुक्त छैनन्। मि टुअघि (सन् २०१६) नै तीन महिलाले ट्रम्पबाट पीडित भएको बताए। तर, डिसेम्बर ११ मा ह्वाइट हाउसले उनीमाथिको आरोप ‘डिसमिस’ गरिदियो, अनुसन्धान रोकियो।

युरोपमा पनि धेरै उच्चपदस्थ यौन हिंसामा मुछिए। वेस्टमिनिस्टरका तत्कालीन सुरक्षा सचिव सर माइकल फ्यालनले यौन दुव्र्यवहार आरोपपछि पदबाट राजिनामा दिए। डेली मेलकी पत्रकार जेन मेरिकले फ्यालनको यौन दुव्र्यवहारमा परेको सार्वजनिक गरिन्। फ्यालनले समाएको र म्वाइँ खान खोजेको भन्दै उनले ट्वीट गरेकी थिइन्। घटना–दुर्घटना यतिमा मात्र सीमित भएन। मि टु जति फैलियो, तथ्यहरू झन्झन् सार्वजानिक हुन थाले। साथीलाई दुव्र्यवहार गरेको भन्दै स्वीस सांसद यानिक बटेटले पदबाटै राजिनामा दिनुपर्‍यो।

मि टुले छिमेकी भारतमा पनि अभियानकै रूप लियो। १४ डिसेम्बर २०१७ मा त्यहाँकी महिला तथा बालबालिका विकास मन्त्री मेनका गान्धीले २४ जना शक्तिशाली बलिउड प्रोड्युसरलाई चिठी नै लेखेर महिलाका लागि ‘सुरक्षित र समावेशी वातावरण’ बनाउन अनुरोध गरिन्। त्यस्तै, १९ अक्टोबर २०१७ मा बलिउड अभिनेत्री कोनकोना सेन र राधिका आप्टेले मि टु आन्दोलनको पक्षमा लाग्नुपर्ने बताए। सेनले टेलिग्राफलाई भनेकी छिन्, ‘यसले एकताको भावना दिन्छ। समस्याको समाधान कसरी गर्ने भनेर हामीले गहिरो गरी सोच्नुपर्छ।’

नेपालमा बलात्कार घटना दोहोरिइरहेका छन्। दोषीलाई कारबाही गर्न माग राख्दै आन्दोलन भइरहेका छन्। पछिल्लो उदाहरण हो, निर्मला पन्त बलात्कार र हत्या प्रकरण। दोषीलाई कारबाही गर्न माग राख्दै सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ। फेसबुक÷ट्वीटरमा बलात्कारविरुद्धको आवाज चर्काइएको छ।

बलात्कारविरुद्ध अभियानमा सामाजिक सञ्जालले गतिलो भूमिका खेलेको बताउँछिन्, मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी। शिक्षित समुदायले महिलामाथि हुने दुव्र्यवहार, यौन शोषण वा बलात्कारका घटनाविरुद्ध आवाज उठाइरहेको उनको भनाइ छ। ‘सोसल साइटमा सकारात्मक र पुरातन दुवै विचार राख्ने छन्,’ उनले भनिन्, ‘मि टु अभियान सकारात्मक विचार राख्नेले चलाएका हुन्। हाम्रोमा पनि यस्ता अभियान चलेका छन्।’

सामाजिक सञ्जालले विश्व दृष्टिकोण बुझाउन महत्वपूर्ण भूमिका खेलेको बताउँछिन्, निर्वाचन आयुक्त इला शर्मा। ‘हाम्रोमा बलात्कारविरुद्ध र्‍याली, आन्दोलन भइरहेको छ। सामाजिक सञ्जालमार्फत मान्छे एकीकृत भएका छन्,’ उनले भनिन्, ‘मान्छेलाई संगठित बनाउन फेसबुक, ट्वीटरको भूमिका उल्लेख्य छ।’ मिटु जस्तो संगठित अभियानमा नेपालीको संलग्नता नभए पनि फरक रूपमा हिंसाविरुद्ध आवाज उठिरहेको उनले बताइन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले यौन दुव्र्यवहारविरुद्ध ‘रेज एगेन्स्ट रेप (#Rageaginstrape), निर्मला बलात्कार–हत्या प्रकरणमा जस्टिस फर निर्मला (#JusticForNirmala)ह्यासट्याग चलाएका छन्। नेपाली समाजमा हिंसालाई नबुझिएको अन्सारीको बुझाइ छ। उनले भनिन्, ‘बलात्कारलाई मात्रै हामी हिंसा भयो भन्दै आवाज उठाउँछौं। महिलामाथि हुने अरु यौन हिंसालाई ख्यालै गर्दैनौं। जुनसुकै हिंसाविरुद्ध मि टुजस्तै अभियान चलाउनु पर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.