पर्यटकीय स्थल बन्यो राइनासकोट
बेसीसहर : मनास्लुदेखि अन्नपूर्ण हिमशृंखलासम्म। वरिपरि ससाना थुम्का। फेदीमा पूर्वबाट पश्चिम–दक्षिण बगेकी चेपे र लमतन्न परेको मस्र्याङ्दी। चित्ताकर्षक उपत्यका, सुन फल्ने समथर फाँट राइनासकोटका सौन्दर्य हुन्। गाउँमाथि ऐतिहासिक गढी। एउटै रङ र शैलीमा बनाइएका चिटिक्कका घरले जो कोहीको मन लोभ्याउँछ।
भूकम्पले क्षतविक्षत बनेको लमजुङको ऐतिहासिक राइनासकोट गाउँको पुनर्निर्माणसँगै मुहार फेरिएको छ। पुनर्निर्माणसँगै सुरु गरिएको होमस्टे पर्यटकको रोजाइमा छ। यही होमस्टेलाई गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) नेपालले भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको छ। विश्व पर्यटन दिवसको अवसरमा राइनासकोटलाई भिटोफले भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले होमस्टे सञ्चालिका विष्णुमाया गुरुङलाई प्रमाणपत्रसहित सम्मानित गरेका थिए। सम्मान गर्दै मन्त्री अधिकारीले पर्यटनमार्फत गाउँको आर्थिक विकाससँगै नेपाल समृद्धितर्फ अगाडि बढ्ने बताए। भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडाले कम लगानीमै होमस्टे गाउँका नागरिकले पर्यटनमार्फत आर्थिक स्तर उकासेको बताए।
भूकम्पपपछि राइनासबासीले गाउँमै सहयोग भित्र्याएर पुनर्निर्माणसँगै होमस्टे सुरु गरेका हुन्। १४ घर आधुनिक तवरबाट पुनःनिर्माण गरिएको छ। ४५ बेडसहितको होमस्टे छ। ६०–७० जना पाउन सजिलै राख्न सकिने विष्णुमाया गुरुङ बताउँछिन्। ‘भूकम्पको एक वर्षमै पुननिर्माण गर्र्यौं। होमस्टे सुरु गरेको एक वर्षमै सफलता पायौं’, गुरुङले भनिन्, ‘हामी पुरानो साख र सौन्दर्य फर्काउन चाहन्छौं। त्यतिमात्रै होइन, गरी खान नसकेर थातथलो छोडेकालाई फर्काउन खोज्दैछौं।
स्थानीय महत्व झल्कने गरी बनाइएको आधुनिक घरमा स्थानीयवासी र अमेरिकी नागरिक नतासा वाजनियाकको सहयोग छ। राइनासकोटका १४ घर, १ आरोग्य भवन र १ सामुदायिक भवन निर्माणका लागि करिब १ करोड ५० लाख रकम नतासाले जुटाएकी थिइन्। पुनःनिर्माणसँगै नौ वटा घरमा होमस्टे सुरु गरिएको सर्वोदय सेवा आ श्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए।
एउटै रङ र शैलीमा बनाइएका चिटिक्कका घरले जो कोहीको मन लोभ्याउँछ।
राइनासकोटमा पुननिर्माणसँगै वाताबरणमैत्री अवधारणा पनि सँगसँगै सुरु भइरहेको छ। वातवरणमैत्री अवधारणा अनुसार गोबरग्यास, धुवाँरहित चुल्हो, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ। प्रत्येक घरमा सोलार प्यानल जडान गरिँदैछ।
प्रत्येक घरमा गाउँले तवरबाट पिँढी, फलैंचा, आकासे पानीको व्यवस्थापनका लागि ट्यांक जडान, सडक बत्ती जडान कार्य समेत अघि बढाइएको छ। राइनासकोटमा रहेका केही पुराना घरहरु भने पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपमा सुरक्षितसँग छन्। गुरुङ जातिको बस्ती रहेको राइनासकोटमा उनीहरूको कला, संस्कृतिलाई जोगाउन संग्राहलय समेत स्थापना गरिएको छ। वैशाख १२ गतेको भूकम्पलाई सम्झना गर्दै स्मारक समेत निर्माण गरिएको छ।
राइनासकोटको पुनःनिर्माणसँगै एग्रोटुरीजम अवधारणा पनि सँगसँगै अघि बढ्ने भएको छ। एग्रोटुरीजम अवधारणा अनुसार प्रत्येक घरमा ग्रीन हाउस, कृषि र पशुपालनको पनि सुरुवात हुनेछ। राइनासकोटको तल्लो भागमा अलैंचीखेती सुरुवात गरीएको छ भने अर्को वर्षबाट चियाखेती समेत गरिने भएको छ।
राइनासकोट लमजुङ प्रवेशद्वार पाउँदीबाट तीन घन्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ। यहाँबाट १ सय ८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङ लगायत गरी १८ वटा हिमशृंखला देख्न सकिन्छ। यहाँ बाइसेचौबीसे राज्य शासनमा निर्माण गरिएको ऐतिहासिक राइनसकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायत इतिहास बोकेका स्थल छन्।