इन्जुरी समयको गोलले संकटाको जित
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो खेलमा संकटा क्लब विजयी भएको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले सरस्वती क्लबलाई १–गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
निर्धारित ९० मिनेटसम्म संकटालाई कडा टक्कर दिएको सरस्वती केही समय सम्हालिन नसक्दा पराजय बेहोर्न बाध्य भयो। संकटाका लागि लक्ष्मण रुचालले इन्जुरी समयको ९३औं मिनेटमा गोल गर्दै संकटाको संकट टारेका थिए। रुचालले विदेशी खेलाडी म्याक्सवेलले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए।
शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले न्युरोड टिम एनआरटीसँग एकएक अंक बाँडेको थियो। एनआरटी २–१ गोलले अग्रता बनाएको बेला आर्मीले खेल सकिन केही सेकेन्ड अघि मात्रै बराबरी गोल फर्काएको थियो।
पाँच वर्षपछि सुरु भएको लिग बंगलादेशमा सोमबारबाट सुरु हुने बंगबन्धु गोल्डकपपछि मात्रै सुचारु हुनेछ। लिगमा सहभागी अघिकांश क्लबका खेलाडी राष्ट्रिय टोलीमा रहेकाले लिग स्थगित गरिएको हो।
पुससम्म सञ्चालन हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। लिगको विजेताले ५० लाख, उपविजेता टोलीले ३५ लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौं हुने टोलीले क्रमशः १५ लाख, सात लाख र पाँच लाख रुपैयाँ हात पार्नेछन्। लिगको अनुशासित टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यसैगरी प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार तथा सर्वोत्कृष्ट विधाका स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई जनही एक थान मोटरसाइकल पुरस्कार दिइनेछ। लिगको विजेता टोलीले सन् २०१९ मा आयोजना हुने एएफसी एसिएन कप खेल्ने अवसरसमेत प्राप्त गर्नेछ।