नर्सिङमा सम्भावना
नर्सिङमा करिअर बनाउन चाहनेहरूको रुचि अहिले पनि बढ्दो छ। गाउँदेखि सहरसम्मका युवती यो पेसामा आकर्षित छन्। मानवीय भावनाको काम भएकाले नर्सको कामको कुनै मूल्य निर्धारण गर्न सकिन्न। नर्सको काम सुन्दा जति सजिलो लाग्छ, त्यति नै उत्तरदायीपूर्ण पनि हुने गरेको छ।
एक कुशल र अनुभवी नर्सले बिरामीको भावना र मनोविज्ञानलाई राम्रोसँग बुझेर उनीहरूको उचित हेरचाह गर्न सक्छन्। मानवसेवाको भावना राख्ने युवतीले मात्र यसलाई करिअर बनाउनु उपयुक्त हुन्छ। अहिले स्वास्थ्य सेवाको विस्तार भइरहेको छ। सहरमा मात्रै नभई गाउँमा पनि धेरै निजी अस्पताल खुलिरहेका छन्। त्यसैले नर्सिङ क्षेत्रमा रोजगारीको अवसर बढिरहेको छ।
एउटा कुशल नर्स बन्न त्यागको भावना मात्रै पर्याप्त हुँदैन। राम्रो नर्स बन्न एकेडेमिक कोर्सका साथै अनुभव पनि उत्तिकै जरुरी हुन्छ। बिरामीको उपचार डाक्टरले गर्छ। तर उक्त बिरामीको रेखदेख नर्सले गर्छिन्। उनले बिरामीको बाहिरी चोटपटकमा मात्र नभई भित्री चोटमा पनि मलहम लगाउने काम गर्छिन्।
नर्सको सहयोग त्यतिबेला बढी जरुरी हुन्छ, जब बिरामीलाई कुनै निको नहुने रोग लागेको हुन्छ र उनको जीवन अब केही दिनको मात्र छ भन्ने थाहा हुन्छ। त्यतिबेला बिरामीका लागि नर्सले एक आमाको भूमिका पनि निभाउन सक्नुपर्ने हुन्छ। एक नर्समा बिरामीको दुःख र वेदना बुझ्न सक्ने क्षमता हुनुपर्छ। त्यसैगरी बिरामीलाई मनैदेखि सहयोग गर्ने भावना पनि हुुनुपर्छ।
बिरामीसँग धैर्य र आफ्नोपन देखाउनु आवश्यक हुन्छ। आफ्नो पेसासँग सम्बन्धित नयाँ नयाँ खोज र तरिकाको बारेमा अध्ययन गर्नु र जानकारी लिनुपर्छ। कहिलेकाहीँ यस्तो अवस्था पनि आउन सक्छ, जहाँ बिरामीको लागि नर्स आफैंले कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। यसको तयारीको लागि पनि चिकित्सा क्षेत्रको नयाँ प्रविधि र विकासका बारेमा उनीहरूले अध्ययन गर्नुपर्ने हुन्छ।