पुर्ख्यौली पेसा बन्दै आरोहण

पुर्ख्यौली पेसा बन्दै आरोहण

३० वर्षअघि संखुवासभाको हुङगुङ गाउँबाट भरिया बनेर पर्यटन पेसामा प्रवेश गरेका फुर्पुरिदर भोटे (६०) अझै पनि पर्वतारोहण गाइडको रूपमा कार्यरत छन्। निरक्षर फुर्पुरिदरको पर्वतारोहण पेसा अहिले उनका छोराहरूले समेत अँगालेर जीविकोपार्जनको माध्यम बनाएका छन्।

घरपरिवार चलाउने मुख्य आधार नै पर्वतारोहण पेसा रहेको उनी बताउँछन्। यही पेसाबाट दुई छोरा र दुई छोरीलाई हुर्काएर, पढाएर काठमाडौंमा घरसमेत बनाएका छन्। उनका दुई छोराहरू पासाङ (३४) र दावाफिन्जो भोटे (३०) पर्वतारोहण क्षेत्रमै आउँदा यही पेसा यो परिवारका लागि पुस्तौनी पेसा बनेको छ। फुर्पुरिदरले भने, ‘हाम्रो तेस्रो पुस्ता अर्थात् नातिहरूले पनि यही पेसा अँगाल्ने पो हुन् कि भन्ने चिन्ता छ। डेथ जोन (उच्च क्षेत्र) मा काम गर्नुपर्ने भएकाले जोखिम बढी हुन्छ तर कमाइमा भने असन्तुष्टि छैन।

पूर्वको कर्णाली भनेर चिनिने अति विकट भोटखोला गाउँपालिका– १ हुङगुङको यो परिवार हातमुख जोड्ने विकल्प खोज्दै आरोहण पेसामा होमिएको थियो। पुर्पुरिदर भोटे समाजकै पहिलो आरोहीसमेत बनेका छन्। निरक्षर भएकाले अन्य विकल्प नहुँदा तीन दशक अघिदेखि आरोही गाइडको रूपमा काम गर्न सुरु गरेको बताए। २०५८ सालमा सगरमाथाको पहिलो पटक आरोहण गरेका फुर्पुरिदरले मनास्लु, छयो यू, पाकिस्तानको ब्रोडपिकलगायत १० बढी अग्ला हिमालहरूको आरोहण गरिसकेका छन्।

डेथ जोन (उच्च क्षेत्र) मा काम गर्नुपर्ने भएकाले जोखिम बढी हुन्छ तर कमाइमा भने असन्तुष्टि छैन।

हिमालमा प्रयोग हुने सामग्री खरिद गर्दा धेरै महँगो पर्ने र तालिम लिन पनि उत्तिकै महँगो हुने भएकाले सुरुमा शारीरिक मात्र नभएर आर्थिक लगानीसमेत गर्नुपर्ने उनले बताए। ‘पेसालाई निरन्तरता दिन हिमालमा प्रयोग हुने नयाँनयाँ प्रविधिको ज्ञान राख्नुुपर्ने हुन्छ। प्रतिस्पर्धा बढेकाले सुरक्षित आरोहण गराउन दक्ष भएर काम गर्न सके आरोहीको रोजाइमा परिने उनको अनुभव छ।

३० वर्षअघि पर्वतारोहण पेसालाई निरन्तरता दिँदै आएका संखुवासभाका आरोही फुर्पुरिदर भोटे र उनका छोरा पासाङ र दावाफिन्जो भोटे 

शरद र वसन्त ऋतुमा नेपालमा आरोहण हुने गरेको छ। उनी उक्त समयमा यतै काम गर्ने र बाँकी समय स्विट्जरल्यान्ड, नर्वे, अमेरिकालगायतका हिमालमा गाइड गर्ने गर्छन्। त्यसैले कामको खाँचोसमेत नपर्ने दावाको भनाइ छ। पछिल्लो समय पर्वतारोहणमा नयाँ पुस्ताहरूको आगमनसँगै हिमालमा प्रतिस्पर्धा बढेको र गलत गतिविधिसमेत बढेको छ। यसको नियन्त्रण नगरे पर्वतारोहण पेसा नै संकटमा पर्ने सरोकारवालासँग नियमन गर्न उनको माग छ।

पर्वतारोहण तालिम

इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसनले पर्वतारोहणको गाइड तालिम दिने गरेको छ। यो संस्थाको २०११ मा नेपाल सदस्य भएपछि नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनले तालिम दिने गरेको हो। एसियामा नेपाल र जापान मात्र यो तालिम दिइरहेका छन्। आधारभूत र एडभान्स तालिम लिएर पास भएपछि उच्च पर्वतारोहण उद्धार तालिम लिनुपर्ने हुन्छ।

यसमा सात हजार मिटरमाथि आरोहण अनिवार्य हुने नसक्ने पास हुन सक्दैनन्। डेढ महिनाको आधारभूत पर्वतारोहण तालिम ग्लेसियरमा हिँड्ने, रक, आइसमा हिँड्ने सिकाउने, हिउँ बञ्चरो चलाउने, एल्टिच्युट खप्न सक्ने, टिम व्यवस्थापन, क्राम्पोन प्रयोग गरी हिँड्न सिकाउने गरिन्छ। एडभान्स तालिममा कम्पास नक्सा प्रयोग र जीपीएसको सहयोगले ट्र्याकिङ गरी बाटो पत्ता लगाउन सिकाइने, नेतृत्व गर्ने, हिमालमा प्राविधिक ज्ञान कसरी लिने र डोरी आफैं टाँग्न सक्ने हुनुपर्ने हुन्छ।

सात हजार मिटर आरोहण गरिसकेपछि अन्तर्राष्ट्रिय गाइडको लागि उम्मेदवार हुने मापदण्ड तोक्ने सबै सामाग्री प्रयोग गरी आरोहण गर्न सक्नुपर्छ। त्यसपछि प्रवेश परीक्षा दिइने हिउँद र वर्षामा फरकफरक विषयमा काम गर्नुपर्छ। दुई वर्षसम्म काम नगरे राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक खारेज हुने र निरन्तर काम गरेपछि मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक बन्न योग्य हुन्छ। एक गाइड उत्पादन गर्न सरकारले ५० लाखभन्दा बढी खर्चेको हुन्छ भने गाइडले समेत ५० लाख बढी लगानी गरिसकेको हुन्छ।

बाबुछोराको कीर्तिमान

फुर्पुरिदरका कान्छा छोरा दावाफिन्जो माउन्टेन गाइड हुन्। १३ वर्षदेखि आरोहण पेसामा अँगालेका दावाले २०६४, २०६९ र २०७४ मा बुवा फुर्पुरिदरसँगै सगरमाथाको चुचुरो पुगेर कीर्तिमान राखे। यसरी बाबुछोरा एकैसाथ तीन पटक सर्वोच्च शिखरको चुचुरो पुग्नु नयाँ कीर्तिमान बन्यो।

जेठा छोरा पासाङले पनि बुबा फुर्पुरिदरसँगै सगरमाथाको आरोहण गरे। पासाङले २०६३ मा सगरमाथा आरोहण गरेपछि क्रमशः ल्होत्से, मनास्लु, केटु, नाङगा पर्वतलगायत दुई दर्जन बढी साना ठूला हिमाल आरोहण गरिसकेका छन्। कीर्तिमान मात्र नबनाएर आर्थिक हैसियत पनि उकासेका छन्।

दावाफिन्जो हिमालमा उत्कृष्ट काम

दावाले १३ पटक सगरमाथाको आरोहणमा गएपछि सात पटक सफल आरोहण गरेका छन्। अझै यो पेसालाई निरन्तरता दिने सोचमा रहेका दावाले चुचुरोमा पुग्नु नै पेसाप्रतिको सन्तुष्टि भएको बताए। एसएलसीसम्मको अध्ययन गरेका उनी १९ वर्षकै उमेरदेखि पर्वतारोहण क्षेत्रमा काम गर्दै आएका हुन्।

दावाले २०६९ मा डिप्लोमा इन् माउन्टेनेरिङ गरी अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक बनेर हिमालमा सक्षम गाइड बनेर परिचित बनेका छन्। पर्वतारोहण पथ प्रदर्शक संघमा रहेर २०६९ देखि नै प्रशिक्षणसमेत गर्दै आएपछि हिमालमा प्राविधिक पक्ष जानकार भएर मात्र सुरक्षित आरोहण गर्नुपर्छ भन्ने अभियान चलाउँदै आएका छन्।

आरोहण पेसामा दावाले उत्कृष्ट काम देखाएपछि उनको चर्चा अझै चुलिएको छ। शरद ऋतुमा हिमालमा डोरी टाँगेर बाटो बनाउनु निकै अप्ठ्यारो काम हो। तर उनले २०६७, २०६८ को शरद ऋतुमा सगरमाथा चढ्दै गर्दा डोरी टाँगेर बाटो बनाए। उनले अमेरिकाको डेनाली, आमादब्लम र पुमोरीमा डोरी टाँगेर बाटो निर्माण गरिसकेका छन्।

यी हिमालहरू प्राविधिक रूपमा बढी कठिन मानिन्छ। दावाले यसै वर्ष स्विट्जरल्यान्डको डोम, आइलिङ, ब्राइटहोम हिमाल आरोहण गरेका छन्। शेर्पासँगै भोटेलगायत अन्य जातजातिका युवा पनि पर्वतारोहण पेसामा आउन थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.