पशुपतिमा अब विद्युतीय परिवहन र लकर
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले सवारी साधन निषेध गरिएको क्षेत्रमा भक्तजनको सुविधाका लागि दुईवटा विद्युतीय सवारी परिवहन सञ्चालन सुरु गरेको छ। लक्ष्मी बैंकसँगको सहकार्यमा बिहान ६ देखि दिउँसो २ बजेसम्म उक्त सुविधा दिन लागिएको हो ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पशुपतिनाथ आउने असक्त, वृद्धवृद्धा र बालबालिकालाई सहज सेवा दिन सवारी निषेधित क्षेत्रमा यस्तो सुविधा सुरु गरिएको जानकारी दिए। उनका अनुसार, चार शिवालयदेखि पशुपति दक्षिण ढोकाको २ नम्बर प्रवेशद्धारसम्म उक्त सुविधा दिइनेछ। बैंकका पूर्वअध्यक्ष राजेन्द्र खेतानले दुईवटा परिवहन (सफा टेम्पो) कोषलाई हस्तान्तरण गरेका हुन् ।
यसैगरी माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कोषले भक्तजनलाई सुविधा पुर्याउन पाँच सय १० वटा लकरको व्यवस्था गरेको छ। यसअघि कोषले जुत्ताचप्पल मात्र राख्न पाउने सुविधा दिएको थियो।
संस्कृतिमन्त्री रविन्द्र अधिकारीले लकर र परिवहनको उद्घाटन गरेका थिए। भक्तजनले अब मोबाइल, क्यामेरा, लगेज लगायत राख्न निशुल्क लकर प्रयोग गर्न पाउने भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए। मन्त्री अधिकारीले पाशुपत क्षेत्रमा स्मार्ट शौचालय बनाउन निर्देशन दिए। वृक्षारोपण र हरियाली पार्क बढाउन सुझाव दिँदै उनले भक्तजनलाई शाकाहारी भोजन गृहको समेत सुविधा दिने व्यवस्था मिलाउन निर्देशन दिए ।
१८ सम्पदा पुनर्निर्माण
भूकम्पबाट क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सम्पदाको निर्माण कार्य पूरा भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट १२, पशुपति क्षेत्र विकास कोषबाट चार, दाता रत्ना मास्केबाट एक र गुरुनानक सोसाइटीबाट एक गरी १८ सम्पदाको पुनर्निर्माण गरिएको हो। कोषका कार्यकारीनिर्देशक रमेश उप्रेतीले १२ करोड ४२ लाख ६७ हजार रुपैयाँमा १८ सम्पदाको पुनर्निर्माण भएको जानकारी दिए ।
पाशुपत क्षेत्रमा ४६ सम्पदा पुनर्निर्माण गर्नुपर्नेमा १० वटा निर्माण भइरहेको र बाँकी १८ को काम बाँकी रहेको उप्रेतीको भनाइ छ। प्राधिकरणले शंकराचार्य मन्दिर, कुलानन्द झा सत्तल, वनकाली सत्तल, गुहेश्वरी नदी किनारको सत्तल, १५ शिवालय सत्तल, चौतरिया दुईवटा शिवालय, चन्दनपाटी, आमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिर, कोटीलिंगेश्वर मन्दिर, शंकराचार्य मन्दिर र ताराप्रकाशेश्वर मन्दिर पुनर्निर्माण गरेको हो।
कोषबाट लालगणेश मन्दिर, मूलभट्ट निवास र पोडेपाटी पुनर्निर्माण गरेको हो भने डेब्रिस हटाउने कार्य पनि आफैं गरेको थियो। सोसाइटीले गुरुग्रन्थ मन्दिर र दाता मास्केले श्राद्धपाटी राजराजेश्वरीको पुनर्निर्माण गरेका हुन् ।