किन फुल्छ कपाल ? यस्ता छन् रोकथामका उपाए
डा.राजेश शाक्य
शरीरमा भएका विभिन्न किसिमका हर्मोनमा आएका परिवर्तनका कारणले कपाल झर्ने समस्या देखा पर्न थाल्छ। हिजोआज बालबालिकादेखि युवायुवती र वयष्कसम्मलाई सताउने रोग थाइराइडका कारणले पनि कपाल फुल्ने समस्या आउन सक्छ। थाइराइड रोगमा थायराक्सिन नामक हर्मनको घटबढका कारण शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन जान्छन्।
प्राय ४० वर्षको उमेर कटेपछि कपाल फुल्ने समस्याले सताउन थाल्छ। त्यसैगरी कसैकसैको भने वंशाणुगत कारणले गर्दा पनि चाँडै नै कपाल फुल्न थाल्छ। यो बाहेक विभिन्न रोगका संक्रमणका कारणले पनि कपाल फुल्ने समस्याले सताउन सक्छ। के कारणले फुलेको हो भनेर जान्न हर्मनको परीक्षण नै गर्नुपर्ने हुन्छ।
कपाल फुल्ने कारणहरू :
*हर्मोनमा आएको परिवर्तन
*वंशाणुगत गुण
*यीबाहेक अरू विभिन्न रोगले पनि कपाल फुल्न सक्छ। उदाहरणका लागि क्यान्सर भएर केमोथेरापी गराउन थालेपछि कपालको गुणस्तर धेरै नै बिग्रिएर पूरै कपाल झर्ने सम्मको समस्या देखिन्छ।
*व्यस्त दिनचर्यामा हुने विभिन्न तनावका कारणले गर्दा पनि उमेर नै नपुगी धेरै जनाको कपाल फुल्ने समस्याले सताएको देखिन्छ।
*आधुनिक जीवनशैलीले गर्दा हिजोआज खानपिनको शैली पनि परिवर्तन भइरहेको छ। युवायुवती धेरै जंक फुडमा निर्भर रहन थालेका कारणले पनि चाँडै नै कपाल फुल्ने समस्या देखिन थालेको छ।
रोकथामका उपाय
*बजारमा पाइने बढी रसायनयुक्त स्याम्पुको प्रयोगले पनि कपाल फुल्ने र झर्ने समस्या देखिन सक्छ। त्यसैले स्याम्पु र साबुन छान्दा जहिले पनि कम रसायनयुक्त छान्नु उपयुक्त हुन्छ।
*प्रदूषण बढेका कारणले दिनमा एक पटक कपाल नुहाउनु जरुरी हुन्छ। तर जाडो होस् या गर्मी, बढी तातो र बढी चिसो पानीले नुहाउनु हुँदैन। हरेक सिजनमा मनतातो पानीले नुहाउनु छालाको लागि राम्रो हुन्छ।
*जाडोमा म्वाइस्चराइजरयुक्त साबुन र स्याम्पुको प्रयोग गर्नुपर्छ भने गर्मीमा कम म्वाइस्चराइजरयुक्त साबुन र स्याम्पुको प्रयोग गर्नु उचित हुन्छ।
*सरसफाइमा ध्यान दिने। नुहाएर पुछ्न प्रयोग गर्ने टावल, सिरानीको खोल र बेड कभर सधैं सफा राख्नुपर्छ।
*जुनसुकै परिस्थितिमा पनि तनाव नलिने।
*प्रशस्तै मात्रामा पानी पिउने।
*जंकफुडबाट टाढै रहने, सन्तुलित आहारमा ध्यान दिने।
*नियमित व्यायाम गर्ने।
*बजारमा पाइने विभिन्न किसिमको मेहेन्दी र कलरको प्रयोग गर्न सकिन्छ। तर प्रयोग गर्नु अगाडि यसले आफूलाई एलर्जी गराउँछ कि भनेर छालामा प्रयोग गरेर २४ घन्टासम्म राख्नुपर्छ।
*कुनै पनि रसायनलाई लामो समय प्रयोग गर्नु हुँदैन। त्यसैले कलर वा मेहेन्दी सकेसम्म कम प्रयोग गर्नुपर्छ।
(चर्मरोग विशेषज्ञ शाक्यसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)