मिथिलाञ्चलमा जितियाको उल्लास
जनकपुरधाम : छोराछोरीको दीर्घायुको कामना गर्दै मनाउने कठिन व्रत जितिया सोमबारदेखि मिथिलाञ्चलमा सुरु भएको छ। पितृपक्षको सप्तमी तिथिमा व्रत बस्ने महिलाले पवित्र जलासयमा नुहाएर (नहायखाय) घिरौलाको पातमा तोरीको पिना र तेल जिमुतवाहन भगवानलाई चढाएर व्रतको आरम्भ गरेका छन्।
व्रतभन्दा एक दिन अगाडी व्रतालुले माछा, कोदोको रोटी, नौनीको सागसहितका परिकार खाने गर्दछन्।पर्वको सबैभन्दा रमाइलो पक्ष औगठन हो। व्रतको एकदिन अगाडी सूर्य उदाउनुभन्दा पूर्व व्रतालु महिलाले चुरादही, मिठाइलगायतका परिकार खानुलाई औगठन भनिन्छ।
औगठनको सन्दर्भमा रहेको एउटा उखान मिथिलामा प्रसिद्ध छ। 'जितिया पावैन बड भारी, धियापुताके ठोकी सुतेलौ अपने खेलौ भरी थारी।' आमाहरुले यो व्रत सुरु गरी नवमी तिथि आरम्भ भएसम्म निराहार बस्ने प्रचलन छ।
व्रतमा पानी समेत नखाने र व्रत अवधिभरी व्रतालुले केही सामान नभाँच्ने, सियो नचलाउने, कुचो नछुने, जुठो नछुनेजस्ता कडा नियम पालन गर्नुपर्छ।यस व्रतको क्रममा ब्रतालुले थुक समेत निल्नु नहुने प्रचलन छ।
पण्डितका अनुसार सतयुगमा एक दम्पत्तिले आफ्नो एकमात्र छोरालाई गाउँमा रहेको दुष्ट गरुडको आहार नबनोस् भनी भगवानसँग प्रार्थना गरेर जितवाहन भगवानको पूजा अर्चना गरेका थिए। उनको पूजाले खुशी भएका भगवानले बालबालिकालाई खाने गरुडलाई आफ्नो शरणमा लिएर त्यस दम्पत्तिको छोरासहित गाउँका अन्य बालबालिकालाई पनि मृत्युबाट जिवित पारेको हुनाले यो पर्व आफ्नो छोराछोरीको दीर्घायुको लागि मनाउन थालिएको भनाइ छ। जितिया पर्वको अवसरमा प्रदेश सरकारले महिलाका लागि सार्वजनिक विदा घोषणा गरेको छ।