'केन्द्र सरकार प्रदेशलाई विफल बनाउन खोज्दैछ'
जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउतले केन्द्रीय सरकारले प्रदेशलाई असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। प्रदेशमा कर्मचारी नपठाउनु, कार्यालय प्रदेश सरकार मातहत आउन ढिलाइ हुनु, प्रहरी प्रशासन संघमै निहित हुनुजस्ता बाधा अवरोध खडा गरेर संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको मुख्यमन्त्री राउतले आरोप लगाएका छन्।
संघीय सरकारले प्रदेशमा आवश्यक कर्मचारी पठाएन भने ऐन कानुन ल्याएर प्रदेश सरकारले आफ्नो आवश्यकता अनुसार आफैं प्रदेशमा कर्मचारी भर्ना गर्ने राउतले चेतावनी दिएका छन्। सोमबार जनकपुरमा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको समुद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले भने, 'प्रदेशमा आवश्यक कर्मचारीको ५० प्रतिशत पनि हालसम्म पदपूर्ति भएको छैन।
यदि कर्मचारी संघबाट खटाइएका छन् भने उनीहरु प्रदेशमा किन आइरहेका छैनन्, निगरानी गर्ने काम कसको हो ? मुख्यमन्त्री राउतले प्रश्न गरे। तर, यी सब विषयका बारे प्रश्न उठाउँदा संघीय सरकारले जवाफ दिन चाहेको छैन्।
कर्मचारी र स्रोत साधनको अभावमा प्रदेश सरकारले जनताको चाह्ना बमोजिम काम गर्न नसकेको अवस्थामा उल्टा प्रदेश सरकार सुविधाभोगी भयो, गाडी, भत्तामै लिप्त भयो भनि नकारात्मक सन्देश दिएर संघले प्रदेशलाई विफल पार्ने नियतले काम गरिरहेको राउतको भनाइ छ।
संघीय सरकारका कर्मचारीतन्त्रभित्र हाल पनि केन्द्रीकृत र एकात्मक मानसिकता व्याप्त भएको भन्दै प्रदेशलाई सहयोग गर्न नचाहेको मुख्यमन्त्री राउतको दाबी छ। उनले भने,'प्रदेश सरकार यदि असफल भयो भने देश सफल हुनै सक्दैन्।
सम्बृद्ध नेपाल र सुखी नेपाली नारा संघीय सरकारले लिएपनि प्रदेश- २ को सम्बृद्धिबिना यो नारा सफल नहुने,प्रदेशको विकास र सम्बृद्धिका लागि संघले समन्वयकारी भूमिका निर्वाह गर्नुको विकल्प नरहेको मुख्यमन्त्री राउतको भनाइ थियो।
कार्यक्रममा सहभागी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले केन्द्रको असहयोगको कारण प्रदेश मातहतका कार्यालयको स्थापनमा ढिलाइ भइरहेको बताए। सोनलले भने, 'हामीले प्रदेशमा १५ वटा कार्यालय प्रदेश सरकार मातहत स्थापना गर्नुपर्ने छ। तर, सरकार गठन भएको सात महिना पूरा भइसक्दा दुईवटा कार्यालय मात्र उद्घाटन गर्न सकिएको छ।' मन्त्री सोनलले थपे, 'प्रदेशमा पर्याप्त कर्मचारी छैन्, कार्यक्रम पनि छैन्, मातहत कार्यालय छैनन्, यस्तो अवस्थामा सरकारले कसरी काम गर्छ।
साविकको जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय र साविकको सिँचाई कार्यालयलाई एकीकृत गरी जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको स्थापना गरिएको हो। सो कार्यालय प्रदेश मातहत रहने डिभिजनल प्रमुख भगवान झाले जानकारी गराएका छन्।