बाहिरी चक्रपथ बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई
काठमाडौं : सरकारले बाहिरी चक्रपथ (७२ किमि) को ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई नै दिने तयारी गरेको छ। बूढीगण्डकी बेचिएकै शैलीमा बाहिरी चक्रपथ पनि ईपीसीएफ (इन्जिनियरिङ, निर्माण, सुपरीवेक्षण र लगानीसमेत) मोडेलमा दिने तयारी गरिएको हो।
छिटो बनाउने गरी निर्णय नगरे आयोजना नै नबन्ने कारण देखाउँदै सरकारले चिनियाँ कम्पनी ‘चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ लाई दिन लागेको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए। काठमाडौं, ललितपुर र भक्तपुर भएर जाने ७२ किमिको यो चक्रपथ बनाउन १४ वर्ष अगाडि नै निर्णय भएको थियो।
यो कम्पनीलाई पहिले बाहिरी चक्रपथ पूरै खण्डको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाउन दिने र यही कम्पनीलाई ईपीसीएफ मोडलमा निर्माण गर्न दिने गरी सरकारले तयारी गरिरहेको मन्त्री राईले बताए। यो आयोजना बनाउन हाल तयार भएका डीपीआरमै आधारित भएर नयाँ डीपीआर र रेखांकन हुनेछ।
बाहिरी चक्रपथ बनाउन २४ वटा चिनियाँ सरकारी कम्पनीले इच्छा देखाएका थिए। यीमध्ये चाइना इनर्जीले नयाँ डीपीआर निःशुल्क बनाइ दिने प्रस्ताव गरेको छ। ‘हामीले खोजेजस्तै प्रस्ताव गरेर तीन महिनामा डीपीआर निःशुल्क बनाइदिन्छु भनेको छ’, राईले भने। यो कम्पनीले एसियाली विकास बैंकले दिने गरेको दुई प्रतिशत दरभन्दा पनि सस्तो ब्यादरमा २५÷३० वर्षका निम्ति ऋण दिएर आयोजना प्रस्ताव गरेको छ। यसले पाँच वर्षभित्रै आयोजना बनाउने गरी सहरी विकास मन्त्रालय समक्ष जानकारी दिएको छ।
यो कम्पनीको प्रस्तावअनुसार हाललाई डीपीआर बनाउने जिम्मा दिन सहरी विकास मन्त्रालयले अर्थसँग सहमति मागेको छ। सरकारलाई आर्थिक भार नपर्ने गरी डीपीआर बनाउन दिने भएकोले अर्थबाट स्वीकृति आएपछि मात्रै डीपीआरबारे सम्झौता हुनेछ।
हाल भइरहेकै रेखांकन तथा डीपीआरमा केन्द्रित रहेरै चोभार-सतुंगलसहितको जग्गा टुक्रा भइसकेको स्थान, बस्ती बढी भएका स्थानमा र अन्य समस्या आएको अवस्थामा दायाँबाया यो चक्रपथ सार्न सकिने गरी नयाँ डीपीआर बनाइनेछ। हाल ७२ किमिको ७२ अर्ब रुपैयाँ नै लागत अनुमान गरिएको यो आयोजना बनाउँदा करिब एक खर्ब नाघ्ने अनुमान गरिएको छ। २५ देखि २८ अर्ब रुपैयाँ सहरी जग्गाको मुआब्जासहित अन्य पूर्वाधारमा खर्च हुने अनुमान छ।
ईपीसीएफमा बनाउन चाहने कम्पनीसँग बढी लागत निकालेमा उसलाई नदिन पनि सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पाँच वर्षभित्रै बनाउने बलियो आधार अरु नभएकोले पनि यसको उपयुक्त विकल्प देखिएको छैन। सरकारले यो आयोजना बनाउन साइट भने क्लियर गर्नुपर्ने हुन्छ।
डीपीआर बनाउन स्वीकृत पाएपछि मन्त्रिपरिषद्बाटै यो आयोजा निर्माणको योजना स्वीकृत गर्ने योजना छ। सरकारले बूढीगण्डकी पनि मन्त्रिपरिषद्बाटै निर्णय गरेको थियो। ठूलाठूला ठेक्का मन्त्रिपरिषद्बाट पारित भएमा नीतिगत निर्णय हुने र त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा पर्दैन।
पूरै खण्डमा एकैपटक जग्गा रोक्का
यो आयोजना बनाउन प्रत्येक ६÷६ किमिको १२ वटा खण्डमा डीपीआर बनाएको छ। हालसम्म सातवटा खण्डको मात्रै डीपीआर तयार भएको छ। अन्य खण्डमध्ये दुईवटाको निर्माणाधीन र बाँकी नयाँ बनाउनै पर्ने पनि बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ। यस अघि पहिलो खण्ड चोभार सतुंगलको मात्रै जग्गा रोक्का गरेर निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भएको भए पनि २९ सय ५३ वटा टुक्रा तीन आनाभन्दा कमका छन्।
आयोजना बन्ने हल्लाका कारण जग्गा धेरै टुक्रा भएको र सरकारले पछि फिर्ता दिन नसक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयले अब एकैपटक सबै खण्डको जग्गा रोक्का गर्ने तयारी अगाडि बढाएको छ। सहरी विकास मन्त्री राईका अनुसार आयोजनाभित्र पर्ने सबै जग्गाको सिटसंख्या माग गरिएको छ। अब, ७२ किमिकै लागि जग्गा रोक्का गर्ने र डीपीआर गर्दै जाँदा कुनै खण्डको रेखांकन रोक्का गरिएको जग्गामा नपरे फुकुवा गर्दै जाने पनि मन्त्रालयले जानकारी दिएको छ।
जग्गा रोक्का गरेर आठ आनाभन्दा कममा टुक्रा गर्न नपाइने र बिक्रीवितरण पनि नहुने गरी रोक्का गर्ने गरी सहरी विकास मन्त्रालयले फाइल तयार गर्दै छ।