न्यूयोर्कमा ‘इन्द्रजात्रा’
न्यूयोर्क-अमेरिका : ज्याक्सन हाइटको ड्राइभर सिटी प्लाजामा शनिवार साँझको रौनक छुट्टै थियो । कालो भुँइमा रातो पारी गरेको साडीमा सजिएका नेवारी महिलाले धिमे बाजाको तालमा नाँचिरहँदा नेपाली मात्र होइन बाटो हिँड्नेसमेत रमिता हेर्न ब्यस्त थिए ।
खचाखच भरिएको प्लाजाको मध्य भागमा राखिएको एउटा ठुलो टेबुलमा नेवारी खानाका विभिन्न परिकार (समयाबजी) सजाइएको थियो ।
प्रसङ्ग थियो नेवारी समुदायको विशेष चाड इन्द्रजात्राको । काठमाडौँ, ललितपुर र भक्तपुर (उपत्यका) बासीले इन्द्रजात्रा मनाइरहँदा न्यूयोर्कमा बसोबास गरिरहेका नेवारी समुदायमा पनि जात्राको रौनकता उस्तै देखिन्थ्यो ।
पहिलो पटक इन्द्र ध्वजाको लिङ्गो लिएर जात्रामा निस्किएका नेवारी समुदायले आफ्नो पर्व सफल बनाउन कुनै कसुर बाँकी राखेका थिएनन् । उनीहरूसँगै गैर नेवारी समुदायका नेपाली पनि जात्राको रमाइलोमा मस्त देखिन्थे ।
अघिल्ला वर्ष अमेरिकाको बोस्टन, बाल्टिमोर र टेक्ससमा जात्रा मनाउँदै आए पनि न्यूयोर्कमा भने पहिलो पटक इन्द्रजात्रा मनाइएको हो ।
नेवा गुठीको आयोजनामा मनाइएको इन्द्र जात्रामा लिङ्गो ठड्याएर कुमारी देखाइएको थियो । काठमाडौँको भोटाहिटीमा भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजा सहितको लिङ्गो ठड्याएपछि आश्विन कृष्ण पक्ष चौथीसम्म (८ दिन) इन्द्र जात्रा मनाइने गरिन्छ ।
यसलाई ‘येयाँ पुन्हि’ पनि भनिन्छ । नेवारी भाषामा ‘ये’ भनेको काठमाडौँ र ‘याँ’ भनेको जात्रा हो । इन्द्रजात्राको भोलिपल्टको पूर्णिमामा मनाइने भएकाले यसलाई ‘येयाँ पुन्हि’ भनिएको हो ।
वर्षा र सहकालका देवता इन्द्रलाई पूजा गर्नाले धनधान्यले भरिपूर्ण हुने र परिवारमा सुख शान्ति मिल्ने किम्बदन्ती छ ।
आफ्नी आमालाई पूजा गर्नका लागि फुल टिप्न काठमाडौँ आएका इन्द्र भगवान्लाई पारिजातको फुल टिप्न लाग्दा चोर भनी नेवारी समुदायका तान्त्रिक गुबाजुहरुले बाँधेर बिच सडकमै जात्रा गरेको दिनलाई इन्द्र जात्राका रूपमा मनाउँदै आइएको हो ।
जात्रामा काठमाडौँको असन, इन्द्रचोक र हनुमान ढोका दरबार क्षेत्रमा गणेश, भैरव र कुमारीको तीन वटा रथ निकालिन्छ ।
‘काठमाडौँ उपत्यकामा मनाइने नेवारी समुदायको इन्द्रजात्रा पर्वलाई न्यूयोर्क सम्म ल्याएर नेवारी संस्कृति र पहिचानलाई जर्गेना गर्ने कोसिस गरेका हौँ’ नेवा गुठीका अध्यक्ष निर्मल प्रधानले भने, ‘वर्षौँदेखि भेट नभएका हाम्रो समुदायका विभिन्न व्यक्तिहरू सँग जात्रामै भेट्ने मौका मिल्यो । त्यति मात्र होइन हाम्रा छोरा नाति, भावी सन्ततिले पनि बाउ बाजेले मनाउँदै आएको पर्वमा रमाउने र जान्ने मौका पाए ।’
उनका अनुसार नेवार समुदायको भेषभुषा, भाषा र संस्कृतिलाई विदेश सम्म फैलाउन र समुदायलाई थप एकजुट गराउन यस्ता पर्वले ठुलो महत्त्व राख्नेछ ।
पर्वको रमाइलो मात्र होइन, जात्रा मनाउन आएका सबै एकजुट भएर आफ्नो संस्कार र संस्कृतिलाई कसरी जोगाउने, पछिल्लो पुस्तासम्म कसरी पुर्याउने भन्ने बारे पनि छलफल गरिएको उनले बताए ।
जात्रामा रमाइलो धिमेबाजा, लाखे नाँच, कुमारीको दर्शन, पुलुकिसि, समयाबजी लगायतको व्यवस्था गरिएको थियो । नेवारी परिकारहरू अण्डा, माछा, छोइला, मासु, आलु, हरियो साग, चिउरा, फलफुल रोटी, मिठाई लगायत परिकार राखेर समयाबजी सजाइएको थियो ।
फुल खोज्न गएका भगवान् इन्द्र हराएकोले खोज्नका लागि ऐरावत हात्ती पठाइएको प्रसंगसंग जोडेर जात्रामा हात्ती जत्रो आकारको ठुलो सेतो प्रतिबिम्ब निकालिएको थियो ।
ठुलो आकारको सेतो प्रतिबिम्बलाई पुलुकिसी भनिन्छ । धिमेबाजा बजाएर नाचगान सकिएपछि कुमारीको दर्शन पनि गराइयो । इन्द्रजात्राको कुमारीको छुट्टै महत्त्व भए पनि यहाँ जात्राकै लागि मात्रै ६ वर्षीया बालिकालाई कुमारी निकालिएको प्रधानले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा भने इन्द्रजात्राका लागि कुमारी तोकिएको हुन्छ । ती कुमारीलाई वर्षभरि कुमारी घरमा राखेर इन्द्रजात्राका दिनमा मात्रै बाहिर निकाल्ने गरिन्छ । सबै समुदायका व्यक्तिलाई समेटेर भव्य रूपमा जात्रा मनाइएको बताउँछन् जात्राका कला संयोजक विजय नकर्मी ।
‘आफ्नो नेवारी संस्कृतिलाई विदेशमा रहेका पछिल्लो पुस्ता सम्म पुर्याउन, हाम्रो संस्कृति र पहिचान बचाइराख्न सबै मिलेर मनाएका हौँ’ उनले भने ‘जात्रा भनेकै सबै मिलेर एकजुट भएर मनाउने पर्व हो । चाड पर्वले पनि समुदायलाई एकजुट बनाऊँछ । न्यूयोर्कमै बसोबास गरिरहेका र बर्षौ सम्म पनि भेटघाट नभएका कतिपय व्यक्तिहरूसँग भेट हुने मौका मिल्यो ।’
न्युयोर्कमा मात्र होइन टेक्ससको युलेसमा बस्ने नेवारी समुदायले पनि लिङ्गो ठड्याएर, कुमारी निकालेर इन्द्रजात्रा मनाएको छ ।
नेपालको एकीकरणको सन्दर्भमा पनि सबै इन्द्र जात्रामा रमाइरहेका बेला राजा पृथ्वीनारायण शाहले राजा जय प्रकाश मल्ललाई हराएर कान्तिपुर (काठमाडौँ उपत्यका) विजयी गरेका थिए रे । यसको पनि विशेष महत्त्व छ । इन्द्रजात्रा पर्व सँगै काठमाडौँ उपत्यकामा दशैको चहलपहल सुरु हुने गर्छ ।