चीनबाट फर्केपछि मुख्यमन्त्री गुरुङ : मागेर नचल्दो रहेछ, आफैँ गर्नुपर्ने रहेछ
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूले चीन भ्रमणका क्रममा प्रदेशको विकासका लागि पैसा नमागेको बताएका छन् । ५ दिने चीन भ्रमणबाट फर्किएपछि मंगलबार पोखरा विमानस्थलमा संवाददाताहरुलाई सम्बोधन गर्दै उनले चिनियाहरुसँग पैसा नमागेको र केही नल्याएको पनि सुनाए ।
आउँदो नोभेम्बरमा पोखरामै हाइनान र गण्डकी प्रदेशबीच मितेरी सम्बन्ध गाँसेर पोखरा र हाइनानको राजधानी हाइकावोबीच भगिनी सम्बन्ध जोड्ने सहमति गरेको उनले सुनाए ।
मैले पैसा पनि मागिनँ र केही पनि ल्याइनँ’, उनले भने, ‘गण्डकी प्रदेशको विकास हामी आफैंले गर्ने हो । प्रदेशको विकास हामीले नै गर्नुपर्छ भन्ने सिकें ।’ नेपाल संघीयतामा गएर प्रादेशिक संरचना बनिसकेकोबारे हाइनानका पदाधिकारी अपडेट नरहेको र त्यसबारे थाहा दिएको मुख्यमन्त्री गुरुङले सुनाए ।
राजनीतिक स्थरिता र केन्द्रसँग मिलेमतो भए विकास गर्न सकिँदोरहेछ भन्ने आफ्नो भ्रमणको अर्को सिकाइ रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘आफ्नो परिस्थिति अनुसारको विकास गर्नुपर्दो रहेछ’, उनले भने,‘मागेर चल्दो रहेनछ, हाइनानले पनि मागेर होइन आफैं विकास गरेको रहेछ ।’
तर केन्द्रको प्राथमिकतामा परेकै कारण देङ सिआओपिङले सुरुमा खोलेका ४ वटा विशेष आर्थिक क्षेत्रमध्ये एउटा हाइनानको सान्यामा खोलेको पनि मुख्यमन्त्री गुरुङले सुनाए ।