विमानस्थल सञ्चालन गर्न माग

विमानस्थल सञ्चालन गर्न माग

चौरजहारी : पश्चिम रुकुमको चौरजहारी विमानस्थल डेढ वर्षदेखि बन्द छ। निजी विमान कम्पनीले उडान नभर्ने यस विमानस्थलमा नेपाल वायु सेवा निगमका जहाजले सातामा एक पटक काठमाडौं र नेपालगन्ज उडान भर्ने गरेका थिए। तर, निगमले जहाज नभएको कारण देखाउँदै उडान तालिका नराखेपछि विमान सेवा लामो समयदेखि बन्द भएको हो। विमानस्थल दसैंअघि नै सुचारु गर्न स्थानीयले सरकारसँग माग गरेका छन्।

जहाजले उडान भर्दा खुबै चहलपहल हुने चौरजहारी आसपासको बजार सुनसान छ। डेढ वर्षदेखि बन्द विमानस्थल खुल्ने टुंगो छैन। विमानस्थलका कर्मचारीले घरमै बसी तलब खाइरहेका छन्। विमानस्थल सञ्चालनको पहल हुन सकेको छैन। जहाज, यात्र र पाइलट अभावजस्ता कारण देखाउँदै वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगन्जले उडान तालिका नबनाउँदा यहाँको हवाई सेवा डेढ वर्षदेखि बन्द छ।

हवाई सेवा सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन्। साढे चार करोड लागतमा पाँच वर्षअघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो। उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका यात्रु तथा बिरामी समस्यामा परेका स्थानीय यदु आचार्यले बताए। रुकुममा अर्को सल्ले विमानस्थल पनि छ। सल्लेमा पनि साउनदेखि उडान हुन सकेको छैन।

जाजरकोट सदरमुकाममा हवाई मैदान बनाउन उपयुक्त स्थान अभावमा ०४५ सालमा पश्चिम रुकुमको चौरजहारीमा हवाई मैदान बनाइएको थियो। पश्चिमरुकुम, जाजरकोट, डोल्पा र सल्यानका बासिन्दाको पायक पर्ने यो विमानस्थल लामो समय बन्द हुँदा सेवाग्राही सर्वसाधारण मर्कामा छन्।

हवाई सेवा बन्द भएपछि सिकिस्त बिरामी र जटिल खालका गर्भवती महिलालाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लिनुपर्ने बाध्यता रहेको चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष तेजबहादुर विष्टले बताए। ‘दुर्गममा स्वास्थ्य सुविधा राम्रो नहुने हुँदा जटिल खालका बिरामीलाई तत्काल जहाजबाट सुविधासम्पन्न अस्पतालमा लैजान सजिलो हुन्थ्यो। हवाई सेवा बन्द भएपछि अशक्त र बिरामीले निकै सास्ती पाउने गरेका छन्’, उनले भने, ‘विमानस्थल सुचारु गर्न नेताले समेत पहल गरेनन्। हामीलाई दुःख लागेको छ।’ पूर्वमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्रमा पर्ने यो विमानस्थल सुचारु गर्न उनले पहल नगरेको स्थानीयको गुनासो छ।

यसअघि चौरजहारीबाट नेपालगन्ज र काठमाडौं उडान भर्दै आएको नेपाल वायु सेवा निगमको जहाजले सेवा परिवर्तन गरेर प्रत्येक बुधबार काठमाडौं–नेपालगन्ज–चौरजहारी र प्रत्येक बिहीबार नेपालगन्ज–चौरजहारी–काठमाडौं उडान भर्ने गरेको थियो। रुकुमको सल्ले विमानस्थलमा उडान थप गरेको र चौरजहारीमा उडान कटौती गरेर सेवा बन्द गरेको थियो।

निगमले सेवा बन्द गरेपछि यस क्षेत्रका बासिन्दा निकै मर्कामा परेको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। उडान बन्द हुँदा नलसिंगाड हाइड्रोपावरका कन्सल्टेन्ट, डोल्पाको शे–फोक्सुन्डो तथा मानसरोवर जाने पर्यटक समस्यामा परेका उनको भनाइ छ। यहाँ निजी विमान कम्पनीले समेत उडान नगर्ने र नेपाल वायु सेवा निगमको जहाज पनि बन्द हुँदा यहाँका बासिन्दा निरास छन्। चौरजहारी विमानस्थल रुकुम जिल्लाको दोस्रो विमानस्थल हो। बन्द रहेको विमानस्थल सञ्चालन गरी यहाँका नागरिकलाई हवाई सेवा उपलब्ध गराउन सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने खत्रीले बताएका छन्।

नेपाल वायु सेवा निगम चौरजहारीका इन्चार्ज सुरेन्द्र नेपालीले जहाज अभावमा उडान सेवा बन्द भएको बताए। आफूहरूले हवाई सेवा सञ्चालनका लागि बारम्बार माग गरिरहेको भए पनि केन्द्रले उडान तालिका नराख्दा समस्या भएको इन्चार्ज नेपालीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.