सान्त्वना जित निकाल्दै घर फर्कियो नेपाल
काठमाडौं : यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । नेपालले मंगलबार भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई तीन विकेटले पराजित गर्यो । आफ्नो सुरुआती दुई खेलमा भारत र अफगानिस्तानसँग लगातार पराजय बेहोरेपछि नेपालको सेमिफाइनलमा पुग्ने ढोका भने यसअघि नै बन्द भइसकेको थियो ।
अघिल्लो दुई खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले यूएईविरुद्ध अन्तिम ओभरमा जित पक्का गरेको हो । बंगलादेशको क्रिरा शिखा प्रतिष्ठानको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६८ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ४९.१ ओभरमा सात विकेट गुमाएर दुई सय ७४ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।
नेपाललाई विजयी बनाउने क्रममा रोहितकुमार पौडेलले ८८ बलमा ९२ रनको योगदान गरे । उनले आफ्नो पालिमा तीन छक्का र ६ चौका प्रहार गरेका थिए । सन्दीप जोहराले ६७, कप्तान आसिफ सेखले ३५ र रीत गौतमले १८ रन जोडे । रसिद खान १४ बलमा २७ रन बनाउँदै अविजित रहे । रसिदले ५०औं ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै नेपालको जित निश्चित गरेका थिए । उनले आफ्नो पालिमा तीन छक्का प्रहार गरेका थिए ।
रसिदले बलिङतर्फ पनि दुई विकेट लिएका थिए । उनीसँगै नन्दन यादव र पवन सर्राफले पनि यूएईको दुईदुई विकेट लिएका थिए । त्यसअघि कप्तान तथा प्रारम्भिक ब्याट्सम्यान फहाद नवाजले ८३ र अंश टण्डनले ६७ रन जोड्दा यूएईले नेपालविरुद्ध ठूलो योगफल खडा गरेको थियो । फहाद र अंशको जोडीले पहिलो विकेटका लागि एक सय ५९ रनको साझेदारी गरेका थिए ।
यूएईका अन्य ब्याट्सम्यान भने सहज योगफलमै आउट भएपछि नेपाल खेल नियन्त्रणमा राख्न सफल भएको थियो । पराजयसँगै यूएई भने जितविहीन घर फर्कने भएको छ ।
यूएईले यसअघि भारत र अफगानिस्तानसँग पनि पराजय बेहोरेको थियो । समूह ‘ए’बाट भारत विजेता र अफगानिस्तान उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह विजेता बन्न भारतले मंगलबार भएको खेलमा अफगानिस्तानलाई ५१ रनले पराजित गर्यो ।