१२ वर्षपछि जुरेको संयोग
काठमाडौं : नेपालले १२ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा दुर्लभ कीर्तिमान बनाएको थियो । सन् २००६ मा मलेसियामा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफीमा नेपालले म्यानमारलाई १० रनको झिनो योगफलमै समेटेको थियो । उक्त खेलमा नेपालले कुनै विकेट नगुमाई दुई ओभरमै लक्ष्य पनि भेट्टाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कायम गरेको यो दुर्लभ कीर्तिमान अझै पनि सुरक्षित छ ।
खेलमा म्यानमारका पाँच खेलाडीले एक÷एक रन मात्र जोड्न सकेका थिए भने बाँकी ६ जना ब्याट्सम्यान शून्य रनमै आउट भएका थिए । लेग बाईमार्फत तीन र वाइड बलमार्फत दुई रन पाएपछि म्यानमारले कुल १० रनको योगफल पुर्याएको थियो । म्यानमार विरुद्धको उक्त खेलमा मेहबुब आलम एक्लैले सात र विनोद दासले तीन विकेट लिएका थिए ।
उक्त खेलमा नेपाली ब्याट्सम्यान धीरेन्द्र चन्द र महेश क्षेत्रीले तीन÷तीन रन जोडेका थिए भने विपक्षी टोलीका बलरले गलत बलिङ गरेपछि नेपालले अतिरिक्त पाँच रन पाएको थियो । नेपालले दुई ओभरमै जित पक्का गरेको थियो । यही कीर्तिमानी खेलको १२ वर्षपछि नेपाली टोली फेरि म्यानमारविरुद्ध अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा ओर्लंदै छ ।
सन् २०१९ मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकपअन्तर्गत बुधबारबाट सुरु हुन लागेको एसियाली क्षेत्रको ‘बी’ समूहको छनोटमा नेपालले आफ्नो पहिलो खेल नै म्यानमारसँग खेल्न लागेको हो । संयोगले यसपटक पनि भेन्यु मलेसिया नै जुरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा बुधबार खेल सुरु हुँदा दुवै टोलीले १२ वर्ष अघिको यो खेललाई सम्झने पक्का छ ।
बुधबार हुने खेलमा पनि नेपालले आफ्नो ऐतिहासिक प्रदर्शन कायमै राख्ने प्रयास गर्नेछ भने म्यानमार आफ्नो तीतो इतिहास बिर्साउने प्रयासमा रहनेछ । यद्यपि, बुधबारको खेलअघि नेपाल बलियो देखिएको छ । नेपालले यसै वर्ष एकविदसीय टोलीको मान्यता प्राप्त गरेको छ भने पछिल्लो समय निरन्तर रूपमा माथिल्लो स्तरको प्रतियोगिता खेल्दै आइरहेको छ ।
अर्कोतिर म्यानमार भने अझै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढ्न सकेको छैन । एसीसीले सन् २००६ पछि आफ्ना सदस्यराष्ट्रलाई दुई समूहमा विभाजन गर्दै माथिल्लो स्तरको टोलीलाई एसीसी ट्रफी एलिट र कमजोर टोलीलाई एसीसी ट्रफी च्यालेन्जमा समावेश गर्दै आएको छ । एसीसी ट्रफी च्यालेन्ज खेल्दै आएको म्यानमारको स्तर अझै पनि कमजोर नै देखिएको छ ।
त्यसैले नेपालले बुधबार म्यानमारविरुद्ध सहज जितसँगै प्रतियोगिताको सुखद सुरुआत गर्ने अनुमान गरिएको छ । छनोट प्रतियोगितामा नेपाल र म्यानमारसहित आयोजक मलेसिया, चीन, भुटान, सिंगापुर र थाइल्यान्ड गरी सातवटा टोलीको सहभागिता छ । राउन्ड रोबिन लिग प्रणालीमा हुने उक्त प्रतियोगिताको शीर्ष तीन स्थानमा रहने टोली सन् २०१९ मा आयोजना हुने अन्तिम चरणको एसियाली छनोट प्रतियोगिताका लागि छानिनेछन् ।