फिल्ममा धमाधम लोकभाका
फनफनी घुम्याको कम्मरमा
औंठी बैना मारेँ मैले पहिलो नम्बरमा...
अहिले विभिन्न पार्टी समारोहदेखि टिकटसम्म यो लोकभाकाको गीत हिट छ। दसैंताका रिलिज हुने फिल्म ‘छक्कापन्जा ३’का लागि तयार पारिएको यो गीत दुई महिनाअघि नै युट्युबमा रिलिज गरियो। राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीतमा डेविड शंकर र बिन्दु परियारले गाएको यो गीतको युट्युब भ्युअर एक करोड ३९ लाखभन्दा बढी भइसक्यो।
आउँदो तिहारमा रिलिज हुने रेखा थापाको फिल्म ‘मालिका’को लोकभाकाकै गीत ‘हल्का माया के माया गाढा लगाउने’ रिलिज भएको दुई महिनाभन्दा बढी भइसक्यो। नारा कार्कीको शब्द, सुरेश अधिकारीको संगीत र अञ्जु पन्तको स्वर रहेको यो गीत पनि राम्रै चलेको छ।
चंगाचेट फिल्ममा राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले गाएको ‘गोजीमा दाम छैन’को बेस पनि लोकभाकै हो। अभिनेत्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’मा राजनराज सिवाकोटी र अञ्जु पन्तले गाएको ‘चरी चट्ट परी’ले दर्शक लोभ्यायो। अचेल बनिरहेका र चलिरहेका नेपाली फिल्मका लागि लोकभाका अनिवार्यजस्तै बनेको छ। कतिपयले पहिला लोकभाकाको गीत रिलिज गरेर फिल्मको सुटिङ थाल्ने गरेका पनि छन्।
फिल्म ‘कमलेको बिहे’मा राखिएको गीत ‘टाकन टुकुन टक्क’ होस् या ‘गुलेलीले हान्दिऊँ कि’ जस्ता लोकगीतलाई पनि श्रोताले अत्यधिक रुचाए। दुई रुपैयाँमा राजनराज, मेलिना र राजन ईशानले गाएको ‘कुटुमा कुटु सुपारी दाना’ले सबैभन्दा बढी हेरिएको नेपाली गीतको रेकर्ड बनायो।
हुन त नेपाली फिल्ममा लोकगीत आएको पहिलादेखि नै हो। करिब आठ नौ वर्षअघि गोर्खापल्टन फिल्ममा इन्डियन आइडल विजेता प्रशान्त तामाङ र अञ्जु पन्तले गाएको ‘लाहुरे म त सोल्टिना’ बोलको लोकशैलीको गीतले हलसम्म दर्शक तान्न मद्दत गर्यो। त्यो बेला फिल्म निर्माताहरूले लोकलाई भन्दा आइटम गीतलाई प्राथमिकता दिन्थे।
चार वर्षयता भने नेपाली फिल्म चलाउन लोकभाकाको गीत अनिवार्यजस्तै मानेका छन् फिल्मनिर्माताहरूले। बजारमा आएको ‘वडा नम्बर ६’को गीत ‘सुर्के थैली खै’ले सारा नेपालीलाई नचायो। पिकनिकदेखि विवाह पार्टीसम्म यो गीत बज्यो। गीतले दर्शकहरूलाई फिल्म हलसम्म डोर्यायो। लोकभाकाको यो गीतले फिल्मलाई सफल बनाउन मद्दत गरेपछि भने अन्य फिल्मकर्मी पनि लोकभाकातर्फ लोभिए। त्यसपछिका फिल्ममा धमाधम लोकभाका बजे।
वडा नम्बर ६ कै टोलीले निर्माण गरेको छक्कापन्जामा राजनराज र अञ्जुले गाएको ‘पूर्व पश्चिम रेल’ले पनि दर्शकलाई लोभ्यायो। लोकको लोभले छक्कापन्जा निर्माण टोली विवादमा पनि पर्यो। ‘छक्कापन्जा–२’मा हरिवंश आचार्य र आस्था राउतले गाएको ‘झ्याम्म झ्याम्म’ गीत पुरानो गीत ‘वासना मीठो’सँग मिलेको भन्दै विवादमा आयो। त्यही फिल्ममा अल्मोडा राना उप्रेती र सुजाता बर्माले गाएको ‘ए दाजु नसमाऊ नाडीमा’ त पुरानो गीतसँग ठ्याक्कै मिलेपछि निर्माता दीपकराज गिरीले माफी नै माग्नु पर्यो। तर पनि गीतले फिल्मलाई फाइदै गर्यो।
लोकभाका चल्न थालेपछि लोकशैलीका गीत बनाउनेहरूको आम्दानी पनि बढेको छ। चलेका गायक संगीतकारले एउटा लोकभाकाको गीत बनाएको दुई लाख रुपियाँसम्म लिने गरेका छन्। कुनै बेला हेला गरिने लोकभाका अहिले फिल्मकर्मीको रोजाइ बनेको छ। निर्माता निर्देशक मिलन चाम्स लोकभाकाका गीतले फिल्मको प्रवद्र्धनमा पनि भूमिका खेल्न थालेको बताउँछन्। भन्छन्, ‘त्यसैले फिल्मभन्दा पहिला लोकगीतको सुटिङ सकेर युट्युबमा राख्ने चलन छ।’
अहिले यस्ता धेरै गीत बनाइरहेका संगीतकार÷गायक राजनराज सिवाकोटी लोकभाका नेपालीको मौलिक भाका भएकाले सबैको मन छुने बताउँछन्। भन्छन्, ‘लोकभाकाले सबैको मनको भावना बोल्छ। त्यसैले लोकशैलीमा ढालिएका गीत नेपाली श्रोताका मनमा चाँडै बस्छन्।’
बजारमा आएका लोकशैलीका गीत एकै किसिमका छन्। यो शैलीमा विविधता नआए श्रोता दिक्क भएर यस्ता गीतको बजार कम हुन सक्ने चिन्ता पनि बढेको छ संगीतकर्मीहरूमा। धेरै फिल्मका गीतमा संगीत भरेका वसन्त सापकोटा भन्छन्, ‘दुईचार गीत चले भन्दैमा सबैले त्यस्तै गीत राख्नुभन्दा लोकमै पनि फरक शैलीका गीत बनाउनु आवश्यक छ। त्यसले मात्र विविधता ल्याउँछ अनि लोकसंगीतको बजार पनि दिगो हुन्छ।’