आइजीपी बनाउन अच्युतकृष्णसँग कसले माग्यो २० लाख ?

आइजीपी बनाउन अच्युतकृष्णसँग कसले माग्यो २० लाख ?

काठमाडौँ : अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान आइजीपीका दाबेदार थिए । आइजीपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव खरेललाई  आयो । सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल द्बिधामा परे ।

उनको प्रतिक्रिया के रह्यो ? के खरेल आइजीपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए ? पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रकाशोन्मुख आत्मकथा ती शक्तिशाली व्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएका छन् ।
 

अच्युतकृष्ण फुटबलका सोखिन थिए । खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए । कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे । उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने र प्रहरी फोर्समा महानिरीक्षक पनि ।

आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए । प्रहरी फोर्समा धेरैसँग दुष्मनी मोले । चितवन र भैरहवामा गुन्डा र तस्करसँग भिडे । डाँका पक्रन सीमापार गए । तस्करको बचाउ गर्ने राजनीतिक नेतासँग पटक-पटक झुत्ती खेले । लागुपदार्थ दुर्व्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ ।

करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक र प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन् । पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन् । खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ । 

विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने खुलासा अच्युतकृष्ण खरेलले आत्मकथामा गरेका छन् । प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाव दिएको वृत्तान्त पनि आत्मकथामा छ ।

प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना धेरै चर्चित छ । उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई दिइयो । सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई-प्रोफाइल’ घटना कसरी अघि बढ्यो ? त्यसको स-विस्तार वर्णन पनि खरेलले यस पुस्तकमा गरेका छन् । 

वि.सं. २०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो । राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबैभन्दा द्विधापूर्ण परिस्थिति थियो । त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन पनि आत्मकथामा छ ।
 
यति मात्र होइन, प्रहरी नियुक्ति र सरुवा-बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा पनि पुस्तकबाट गरेका छन्, खरेलले ।

उनको जीवनको आरोह-अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझयाल पनि हो । उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०३६ सालको प्रजातान्त्रिक आन्दोलन पनि भोगे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप पनि उनैले खेपे ।

प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व लगायत परिवर्तनका धेरै लहरको उनले सामना गरे । माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन् ।

प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजीपी नियुक्तिमा बेहोरेका छन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर बिदा भएका थिए ।

अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान आइजीपीका दाबेदार थिए । आइजीपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव खरेललाई  आयो । सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल  द्‍विविधामा परे ।

अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ । सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था पनि छर्लङ्ग पार्छ ।

एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन् । ‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह-अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्रै हो ।’

प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ ।

पब्लिकेशन्स नेपालयले देशको राजनीतिक तथा सामाजिक विगतलाई उक्त कालखण्डका विभिन्न पात्रका माध्यमबाट बुझ्ने जमर्को गर्दै आत्मकथा शृंखला प्रकाशित गर्दै आएको छ । यो आत्मकथा पनि त्यसैको निरन्तरता हो ।

इतिहासको ऐना भनेको त्यो इतिहासका पात्रको व्यक्तिगत भोगाइ नै हो । मान्छेको व्यक्तिगत भोगाइमा ऊ आफू बाँचेको समाजको मनस्थिति पनि सँगसँगै अभिव्यक्त भइरहेको हुन्छ । खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् ।

पुस्तक आगामी शनिबार (असोज २० गते) सार्वजनिक हुँदैछ । त्यही दिनदेखि पुस्तक अमेजोनको पीओडी (प्रिन्ट अन डिमाण्ड) मार्फत् संसारभर उपलब्ध हुने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.