दीर्घरोगको उपचारमा अपेक्षित प्रगति भएन : राष्ट्रसंघ
पेरिस : विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्म दीर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसंघीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताले बताएका छन्।
अर्बुद रोग, मुटुरोग, मधुमेह र जटिल किसिमका श्वासप्रश्वास रोगहरूबाट सन् २०१६ मा मात्र ३० देखि ७० वर्ष उमेरका १ करोड २५ लाख जनाको मृत्यु भएको थियो। ‘धेरै प्रतिबद्धता व्यक्त गरिए तर अधिकांश मुलुकले त्यो लक्ष्य पूरा गर्ने छाँट देखिँदैन’, पब्लिक हेल्थ स्कुल लन्डनका प्राध्यापक एवं अनुसन्धानका मुख्य लेखक माजिद इज्जाटीले भने। सन् २०१५ मा जारी राष्ट्रसंघीय दिगो विकासको लक्ष्य ३.४ पूरा गर्नेतर्फ सही मार्गमा रहेका मुलुक केवल ३५ वटा छन्।
‘विदेशी दाता र सरकारहरूले नसर्ने रोगहरूबाट हुने मृत्युलाई न्यून गर्नेतर्फ ज्यादै कम मात्र ध्यान दिएका छन्’, इज्जाटीले भने, ‘तैपनि राम्रो समाचार के छ भने अधिकांश मुलुक कमसेकम सही दिशातर्फ अग्रसर भइरहेका छन्।’ तर करिब २० वटा मुलुक ज्यादै पछि परेका छन् वा अरू खस्केको अवस्थामा छन्। धनी राष्ट्रले पनि राम्रो गर्न सकेका छैनन्। अमेरिकाको नसर्ने रोगको उपचारमा पर्याप्त प्रगति हुन सकेको छैन।
गत वर्ष निकै चर्चामा रहेको अमेरिकन जर्नल अफ पब्लिक हेल्थले अल्पायुमै हुने मृत्यु खासगरी गोरा, ग्रामीण क्षेत्रका अमेरिकीमा बढी देखिएको उल्लेख गरेको थियो। ‘कमजोर जनस्वास्थ्य, कमजोर स्वास्थ्य स्याहार प्रणाली, उच्च असमानताले समस्यालाई अझ विकराल बनाउँछ’, उनले भने। विश्वमा हरेक वर्ष नसर्ने किसिमका रोगबाट सबै उमेर समूहका चार करोडभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ। मृत्यु हुने दशजनामध्ये सातजनाको मृत्युको कारण नै यिनै नसर्ने रोगहरू हुन्।
यीमध्ये पनि करिब एक करोड ७० लाखको मृत्यु ‘अल्पायु’मा हुने गर्दछ, अर्थात् ७० वर्ष पुग्नुअगावै। ‘हामी निद्रामै हिँडिरहेका छौं र नसर्ने रोगका सम्बन्धमा खासै प्रगति हुन सकेको छैन’, एनसीडी एलायन्सकी क्याटी डेनले भनिन्। न्युयोर्कमा अर्को साता हुन लागेको राष्ट्रसंघीय उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा ल्यान्सेटमा प्रकाशित ‘एनसीडी काउन्टडाउन २०३०’ प्रतिवेदनले सरकार र दातृ निकायलाई जवाफदेही बनाउन मद्दत गर्ने क्याटीले जानकारी दिइन्।
इज्जाटीले राष्ट्रसंघीय लक्ष्य नै ज्यादै बढी राखिएको भन्ने भनाइ अस्वीकार गरे। उनले भने, ‘विश्वका ३० वटा मुलुक त सही मार्गमा छन् र अर्को ४० वा ५० वटा मुलुक लक्ष्यको निकै नजिक छन्।’ न्यून रक्तचाप, राम्रो स्वास्थ्य उपचार सेवा, असमानताको स्तरमा न्यूनता, सुर्ती सेवनमा कमी जस्ता केही सूचकमा राष्ट्रसंघीय लक्ष्यअनुरूप मुलुकहरूले पर्याप्त काम गर्न नसकेको अवस्थामा नसर्ने रोगबाट हुने मृत्युमा कमी ल्याउन कठिन हुने उनले बताए।
चारवटा मुलुकहरू – दक्षिण कोरिया जापान, स्वीजरल्यान्ड र अस्ट्रेलियाले मात्र पुरुष र महिला दुबैमा एनसीडी (नसर्ने रोग) मृत्युदरमा सबैभन्दा कमी ल्याएका छन्। स्पेन, सिंगापुर, पोर्चुगल, इटाली, फिनल्यान्ड र फ्रान्सले महिलाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएका छन्। पुरुषहरूका हकमा भने आइसल्यान्ड, स्वीडेन, नर्वे, बहराइन, क्यानडा र न्युजील्यान्डले राम्रो प्रगति गरेका छन्। अमेरिका पुरुषतर्फ ५३औं र महिलातर्फ ४४औं स्थानमा छ। चीनमा महिला र पुरुष क्रमशः ८०औं र ७६औं स्थानमा छन्।
चीनले लक्ष्य भेट्टाउने सम्भावना देखिन्न तर यसको एनसीडी दरमा कमी आइरहेको छ। तथापि चीनमा मोटोपना र उच्च रक्तचापको अवस्थामा उच्च वृद्धि हुन थालेको अध्ययनले देखाएको छ। चीनमा सूर्ती सेवनमा विगतको तुलनामा वृद्धि भएको छैन। चीनमा हरेक वर्ष सुर्ती सेवनकै कारण १० लाखभन्दा बढीको ज्यान गइरहेको छ।
‘चीनमा मदिरा र सुर्ती उद्योगहरू सरकारी नियन्त्रणमा रहेकाले यी दुबैको उत्पादन र वितरणमा नियन्त्रणात्मक उपाय अवलम्बन गरेमा चीनले जनस्वास्थ्यका क्षेत्रमा ठूलो फड्को मार्न सक्दछ’, इज्जाटीले भने। उप–सहारा अफ्रिकी मुलुकहरूमा नसर्ने रोगहरूबाट मृत्यु हुनेको संख्या कमै देखिएको छ। यद्यपि यहाँ एड्स र क्षयरोगजस्ता संक्रामक रोगले धेरैको ज्यान लिने गरेको छ।
उनले भने, ‘हामीले दातृ निकायलाई भन्नुपर्ने एउटै कुरा छ : एउटा एउटा रोगमा केन्द्रित हुने होइन, समग्र स्वास्थ्य प्रणालीमा ध्यान दिनुहोस्।’