धारापानीमा बिजुली
म्याग्दी : मोबाइल चार्ज गर्न आफन्त र छिमेकी कहाँ पुग्नुपर्ने बाध्यता हटेपछि म्याग्दीको धौलागिरी गाउँपालिका–७ धारापानीकी ज्ञानमती रसाइली खुसी भएकी छन्। ५० रुपैयाँसम्म तिरेर मोबाइल चार्ज गरेकी रसाइलीलाई गाउँमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेपछि सुखका दिन फिरेको अनुभव भएको छ। ‘राइस कुकर किनेर बिजुलीमा भात पकाउन थालेपछि सजिलो भाछ। दाउरा खोज्ने झन्झट सकियो’, रसाइलीले भनिन् ‘छोराछोरीले उज्यालोमा बसेर पढ्न पाएका छन्। देश विदेशका खबर घरमै बसेर टेलिभिजनमा देख्न पाएका छौं।’
धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्री गाउँमा बिजुलीसँगै विकासको अवसर भित्रिएको अनुभव सुनाउँछन्। फर्निचर, अल्लो प्रसोधन, राइसमिल, मासु पसल सञ्चालन हुन थालेको खत्रीले जानकारी दिए। सात वटा वडा रहेको धौलागिरी गाउँपालिकाको धारापानीमा गत महिनादेखि बिजुली बलेको हो।
२०६७ सालदेखि सुरु भएको विद्युतीकरण योजनाबाट धारापानीका दुई एक घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका सचिव किरन थापाले बताए। ‘आठ वर्षको प्रयासपछि गाउँपालिकमा पहिलोपटक बिजुली बाल्न सफल भएका छौं’, सचिव थापाले भने। गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयबासी, तत्कालीन जिविस र गाविसको ५६ लाख ८३ हजार रुपैयाको लागतमा योजना निर्माण भएको समितिले जनाएको छ।
उपभोक्ताले पोल, तार ढुवानी र पोल गाड्ने खाडल खन्न तीन दिनका दरले ३ लाख पचास हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए। विद्युतको मिटर जडान गर्न स्थानीय धारापानी सामुदायीक वन उपभोक्ता समूहले प्रतिघर एक हजार सात सय रुपैयाँका दरले अनुदान सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाले जानकारी दिए।
विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई गरी आम्दानी र खर्च विवरण सार्वजनीक गरिएको थियो। धौलागिरीका अधिकांश बस्ती उज्यालोका लागि लघुजलविद्युत परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन्। यसवर्ष विद्युतीकरण गर्न ताकममा ९० लाख, लुलाङमा ५० लाख र मराङमा २० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष थमसरा पुनले जानकारी दिइन्। संघीय सरकारको ऊर्जा तथा सिँचाइ मन्त्रालयले थप चार करोड ५० लाख रुपैयाँ विनियोजन गरेको पनि उनले बताइन्।