सिंहदरबार गेटमै पुगेर गृहमन्त्री र आइजीपीको राजीनामा माग (भिडियोसहित)

सिंहदरबार गेटमै पुगेर गृहमन्त्री र आइजीपीको राजीनामा माग (भिडियोसहित)

काठमाडौं : सिंहदरवारको दक्षिण गेट (जहाँबाट सर्वसाधारणलाई सिंहदरवार प्रवेश दिइन्छ)। ठिक ११ बजे।

भर्खर कार्यालय समय सुरु भएको थियो। गेट वरपर मान्छेहरूको बाक्लो आउजाउ थियो। सवारी साधनको पनि उस्तै चाप थियो।

पास/कार्ड देखाउनेहरूलाई प्रहरीहरू चिट हेर्दै गेटबाट सिंहदरवारभित्र जान अनुमति दिइरहेका थिए।

एकहुल मान्छे नाराबाजी गर्दै गेटमै आइपुगे। कताबाट आए, कसरी आए, कसैलाई पत्तै भएन। जब उनीहरू त्यहाँ देखिए, उनीहरूले नारा घन्काउन थालिसकेका थिए- 'वि वान्ट जस्टिस्। निर्मलालाई न्याय देऊ।'

उनीहरू कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको १३ वर्षीया निर्मला पन्तलाई न्याय दिन र अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै निषेधित क्षेत्रभित्र घुसेका थिए।

निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा प्रदर्शनकारी देखेर सिंहदरबार दक्षिण गेटमा रहेका सुरक्षाकर्मीमात्र होइन, त्यहाँ रहेका अरु मान्छेहरू पनि छक्क परेर हेरिरहेका थिए। मानिसहरू हतार-हतार मोबाइल निकालेर फोटो खिच्न पनि थालिहाले।

निषेधित क्षेत्र हो भन्ने वास्तै नगरी उनीहरू नारा लगाउन व्यस्त देखिन्थे।

प्रदर्शनकारी आएको पत्तो नपाएका प्रहरीहरू अत्तालिए झैँ देखिए। प्रदर्शनकारी सिंहदरबारभित्र छिर्लान् कि भन्ने डर उनीहरूमा देखिन्थ्यो। के गर्ने, के नगर्नेको भावमा रहेका उनीहरूले हतार- हतार सिंहदरबारको गेट बन्द गरे।

राष्ट्रिय अनुसन्धान विभागको कार्यालयको छेवैमा रहेको दक्षिण गेट अघिल्तिर उभिएर आन्दोलनकारीले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरे।

हेर्नुस् भिडियोः 

यतिबेलासम्म प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडिको सडकमा मानिसहरूको भीड लागिसकेको थियो। सडकमा ट्राफिक जाम भइसकेको थियो। प्रहरीहरू प्रदर्शनकारीलाई नाराबाजी बन्द गर्न र तितरवितर हुन भनिरहेका थिए।

३०/३५ जनाको संख्यामा रहेका प्रदर्शनकारी ‘निर्मलालाई न्याय दे’ लेखिएको ब्यानर टाँगेर नाराबाजी गरिरहेका थिए।

उनीहरूले नारा लगाउँदै 'पम्प्लेट' छरे। १० वटा माग समेटिएको ज्ञापनपत्र भुइँभरी भयो। सिंहदरवारको गेटभित्रै छिरे, पम्पलेट। पम्प्लेटको माथि ठूला अक्षरमा लेखिएको थियो- ‘निर्मलाको निम्ति न्याय अभियान।’

प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजिरहेको थियो। तर प्रहरीका सबै प्रयास असफल भए। आक्रोशित प्रदर्शनकारी  टन्टलापुर घामको वास्ता नगरी नाराबाजीमै मस्त थिए।

आन्दोलनमा अधिकांश महिला थिए। करिब आधा घण्टा सिंहदरबारको गेटमा चिच्याएपछि उनीहरू हनुमानस्थानतर्फ फर्किन लागे। अगाडि बढ्नासाथ बल्ल प्रहरीले रोक्न खोज्यो। निर्मलाको फोटोसहित न्याय माग गरिएको ब्यानर खोस्न प्रयासमा प्रहरी थियो।

प्रदर्शनकारीले 'महिला प्रहरी खै ?' भन्दै पुरुष प्रहरीको सातो लिए। आन्दोलनकारीलाई ‘कन्ट्रोल’ मा लिन खोजेपछि भीडबाट आवाज आइरहेको थियो– 'महिला प्रहरी ले, हामीलाई हात हाल्न पाइँदैन।'

प्रहरी रोक्न सक्ने अवस्थामा थिएन।  झण्डै आधाघण्टाको नाराबाजीपछि प्रदर्शनकारीहरू बबरमहलतिर मोडिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.