अढाइ महिनापछि भोजपुरमा हवाई उडान पुनः सूचारु
भोजपुर : झण्डै दुई महिनादेखि ठप्प भएको भोजपुर-काठमाडौँ हवाई उडान पुनः सूचारु भएको छ। गत साउन ११ गतेदेखि उडान ठप्प रहेको भोजपुरको एकमात्र टक्सार विमानस्थलमा बिहीबारबाट उडान सेवा पुनः सञ्चालनमा आएको हो।
अढाई महिना बढी भन्दा बढी समय उडान ठप्प भएपछि जिल्ला अस्पताल भोजपुरबाट रिफर गर्नुपर्ने बिरामी बाहिर लैजान समस्या हुँदै आएको थियो। अस्पतालबाट महिनामा ११/१२ जना गम्भीर किसिमका बिरामी रिफर गर्नुपरेको समयमा उडान सेवा बन्द हुँदा बिरामीलाई गाडीबाटै लैजानुपर्ने सास्ती थियो।
जिल्ला अस्पताल भोजपुरका चिकित्सक शिवजी रिजालका अनुसार वर्षात्मा प्रतिकुल मौसम हुने भएकाले अस्पतालमा हरेक दुई हप्तामा २ देखि ४ जनासम्म गम्भीर किसिमका बिरामी भर्ना हुने गरेको छन्।
उडान सञ्चालन नहुँदा कतिपय गम्भीर किसिमका बिरामीलाई मंहगोमा हेलिकप्टर चार्टर समेत गर्नुपर्ने अवस्था थियो।जिल्लामा उडान भर्दै आएको नेपाल वायु सेवा निगमको एकमात्र ट्विनओटर विमानमा खराबी आएपछि उडान सेवा ठप्प गरिएको थियो।
निगमले यसअघि भोजपुर-काठमाडौँ आइतबार र सोमबार बाहेक हप्ताको ५ दिन र भोजपुर-विराटनगर हप्ताको एक दिन उडान भर्दै आएको थियो। सोही रुपरेखा अनुरुप हवाई उडानलाई निरन्तरता दिने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले जानकारी दिए। उनले भने, 'ट्विनओटर जहाजको पार्टपुर्जामा खराबी आएका कारण विमान मर्मतका लागि उडान बन्द गरिएको हो।अब पहिलेकै समय तालिका अनुसार नै उडानलाई निरन्तरता दिइनेछ।'