माथिल्लो दोर्दी ए जलविद्युतको सुरुङ 'ब्रेकथ्रु'

माथिल्लो दोर्दी ए जलविद्युतको सुरुङ 'ब्रेकथ्रु'

बेसीसहर : लमजुङको दोर्दीखोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी 'ए' जलविद्युत आयोजनाको मुख्य सुरुङ‍को काम पूरा भएको छ। २०७१ असोजबाट निर्माण थालिएको आयोजनाको मुख्य सुरुङ बिहीबार (ब्रेकथ्रु) छेडिएको हो।

प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरेले स्वीच अन गरी अन्तिम विष्फोट गराएपछि २ हजार ६ सय २३ मिटर लामो मुख्य सुरुङ छेडिएको हो। सुरुङ पूरा भएसँगै आगामी ६ महिनाभित्र विद्युत उत्पादन गर्नेगरी काम सक्ने आयोजनाले लक्ष्य लिएको छ।

२ हजार ६ सय २३ मिटर लामो मुख्य सुरुङमध्ये अडिट पोर्टलबाट इनलेट पोर्टलतर्फ (अडिट अप स्ट्रिम) को १ दशमलव ३४ किलोमिटर सुरुङको गतवर्ष पुसमा ब्रेकथ्रु भएको थियो। साइट प्रोजेक्ट म्यानेजर सुरेश जोशीकाअनुासर चार फेसबाट सुरुङ खनिएको थियो। सुरुङ ब्रेकथ्रुपछि कम्पनीका अध्यक्ष जोशीले तोकिएको समयभित्रै विद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाए।

उनले आगामी १५ जनबरीभित्र आयोजनाको सबै काम सकिने दावी गरे। 'हामी तोकिएको समयभित्रै विद्युत उत्पादन गर्न प्रतिवद्ध छौँ। समयमै काम सक्छौँ', अध्यक्ष जोशीले भने, 'उत्पादित विद्युत खेर नजानेमा हामी विश्वस्त छौँ।'

आयोजनाका प्रमुख कार्यकारी इन्जिनियर विष्णुबहादुर श्रेष्ठले जलविद्युत निर्माणका लागि सुरुङ निर्माण एक महत्वपूर्ण कार्य रहेको बताए। उनले तोकिएको समयमा आयोजना निर्माण सकिने विश्वास व्यक्त गरे। 'आयोजनाको जोखिम कार्य सकिएको छ। यो नै सबैभन्दा ठूलो सफलता हो', श्रेष्ठले भने। 

गण्डकी प्रदेश सभा सदस्य धनन्ञ्जय दवाडीले लमजुङ लगानीमैत्री जिल्ला भएकाले ढुक्‍कसँग लगानी गर्न आग्रह गरे। उनले गण्डकी प्रदेशमा लमजुङलाई जलविद्युतको पहिलो क्षेत्र बनाउन लागिपरेको बताए। तोकिएको समयमा विद्युत उत्पादन भए दुई वर्षभित्र उज्यालो प्रदेश बनाउने योजना सफल हुने उनले बताए।

यसअघि सुरुङ निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी मेगाटेकले निर्माणमा ढिलाइ गरेपछि उसलाई हटाएर सुरुङ निर्माणको जिम्मा वाइबा कन्ट्रक्सनलाई दिइएको थियो।लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माण भइरहेको माथिल्लो दोर्दी 'ए' आयोजनाको निर्माणकार्य ८० प्रतिशत सकिएको छ। आयोजनाको बाँधस्थल र विद्युत गृहको ६० प्रतिशत काम सकिएको छ। पेनस्टकको काम ९० प्रतिशत सकिएको सञ्चालक राजेन्द्र वस्तीले बताए । 

दोर्दी गाउँपालिकाको ढोडेनीको तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा आयोजनाको बाँध बाँधी मालेबगरमा निर्माण गरिने विद्युतगृहमा लगेर पानी खसालिने छ। आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ दशमलब ६२३ किलोमिटर सुरुङ र २ दशमलब ८५४ किलोमिटर पेनस्टक पाइपमार्फत बाँधथलमा झारिने फिल्ड अफिसर जीवन घिमिरेले बताए।

आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ। जसबाट वार्षिक ८५ करोड आम्दानी हुने आयोजनाले जनाएको छ। उक्त आम्दानी सात वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले बढ्नेछ। 

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रस्तावित उदिपुर हवमा जोडिने छ। १२ दशमलव ५ मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहने यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैंसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैंसा रहने गरी प्रबद्र्धक कम्पनी लिवर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । 

कुल चार अर्ब रुपैयाँको लागतमा निर्माण गरिन लागेको यस आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकको इक्विटी लगानी रहेको छ। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा चार बैंकले आयोजनामा दुई अर्ब ७७ करोड ४० लाख लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.