हेडसरले निकाले डोम विद्यार्थी !
बर्दिबास : महोत्तरीको भगंहा हरिणमरीका मुकेशकुमार मल्लिकले पढेर ‘ठूलो मान्छे’ बन्ने सपना सँगालेका छन्। उनी गाउँकै किशोरी जनता माविमा कक्षा ७ मा पढ्छन्। तर, विद्यालयमा सरसफाइ नगरेको भन्दै प्रधानाध्यापक (हेडसर) मनोहरकुमार यादवले स्कुलबाट निष्काशन गरेपछि उनी समस्यामा परेका छन्।
तराई-मधेसको पिछडिएको डोम समुदायबाट विद्यालय पुगेका उनलाई प्रधानाध्यापक यादवले निष्काशन गरेका हुन्। विद्यालयका लेखापाल राकेशकुमार यादवकी हजुरआमाको शुद्धी भोज विद्यालयमै गरिएको थियो। त्यही भोजको फोहोर सफा नगरेपछि मुकेश विद्यालयबाट निष्काशित हुनुपरेको जनाइएको छ।
प्राधानाध्यापक यादवले दुई वर्षअघि मुकेशका दाई राकेशलाई विद्यालय छोडाएको पीडित परिवारले जनाएको छ। ‘हेडसरले सफाइ गर्न भन्नुभयो, मैले मेरो दाइलाई बोलाएर सफा गर्न लगाउनुस्, म पढ्न आएको हुँ भनें’, मुकेशले भने, ‘त्यसपछि हेडसरले अब विद्यालय नआइज भनेर हप्काएर पठाए।’
मुकेशकी आमा ललितादेवीले हेडसर घरमै आएर ‘तेरो छोरा पढ्ने खालको छैन, अब ऊ अर्कै स्कुलमा पढ्छ, स्कुल पठाउनुपर्दैन’ भन्दै हप्काएको गुनासो गरिन्। राकेशलाई पनि विभिन्न आरोप लगाएर कुटपिट गरी विद्यालयबाट निकालिएको उनको भनाइ छ।
प्रधानाध्यापक यादवले भने आफूले उनीहरूलाई निष्काशन नगरेको दाबी गरे। मुकेशकै सुँगुरले गाडिएको फोहोर उधिनेपछि गह्नाउन थालेको र सोही सफा गर्न अन्य विद्यार्थी र शिक्षकलाई सहयोग गर्न मात्र भनेको उनले सुनाए। ‘मुकेशलाई मैले अन्य विद्यार्थीसँगै फोहोर सफा गर्न मात्र भनेको हुँ’, उनले भने, ‘विद्यालय नै नआउन भनेको होइन।’
सरसफाइ नगरेकै कारण मुकेशलाई विद्यालयबाट निकालिएको उनका साथी ऋतिकरोशन दासले बताए। ‘अरू कुनै कारण होइन, फोहोर सफा गर्ने विषयमै मुकेशलाई हेडसरले हप्काउँदै स्कुल आउनुपर्दैन भनेर निकालेको हो’, उनले भने।
भंगहाका मेयर सजीव साहले मुकेशलाई स्कुलबाट निकालेको पाइएको बताए। उनलाई स्कुल फर्काउन पहल भइरहेको उनले सुनाए।
१८ जना शिक्षक र कर्मचारी कार्यरत विद्यालयमा प्रधानाध्यापक यादवको मनपरी रहेको जनाइएको छ। विद्यालयमा उनकी पत्नी, भान्जाभान्जी र भतिजा-भतिजी गरी ६ जना कार्यरत छन्। समुदायबाट विद्यालयमा विद्यार्थी ल्याउनुपर्ने जिम्मेवारी लिएका प्रधानाध्यापकको व्यवहार देखेर दुःख लागेको बर्दिबासका दलित अधिकारकर्मी चन्द्रकाली कोटेले बताए।