तनावमा जुकरबर्ग
![तनावमा जुकरबर्ग](https://annapurnapost.prixacdn.net/media/albums/2-facebook-hack_20181005050521_FEqs9A1Fos.jpg)
झन्डै ५० मिलियन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एकाउन्ट ह्याक भएकोमा फेसबुकका मालिक मार्क जुकरबर्गले चिन्ता व्यक्त गरेका छन्। ‘यो गम्भीर विषय हो। हामीले यसलाई ध्यानपूर्वक नै सोचिरहेका छौं,’ जुकरबर्गले गत शुक्रबार भने, ‘हामी अझै सक्रिय हुन जरुरी छ।’
फेसबुक यतिबेला सुरक्षा उल्लंघनबाट तर्सिएको छ। ह्याक भएकामध्ये एउटा एकाउन्ट जुकरबर्गको पनि थियो। फेसबुकका मुख्य परिचालन अधिकृत सेरिल स्यान्डबर्गको एकाउन्ट पनि ह्याक भयो। न्युयोर्क टाइम्सले भनेको छ, फेसबुकको तीनवटा सेफ्टवयरमा समस्या आएको छ। त्यो समस्याले कसैको पनि एकाउन्ट ह्याक गर्न सजिलो पर्छ। तर, फेसबुकले यो बारेमा सार्वजनिक रूपमा बताएको छैन।
फेसबुकका इन्जिनियरहरूका अनुसार २५ सेप्टेम्बरदेखि फेसबुकको सिस्टममा खराबी आएको छ। अब यो ठीक भइसकेकाले ह्याक हुने सम्भावना नरहेको पनि बताइएको छ। ताइवानका एक ह्याकरले आफू जुकरबर्गको फेसबुक एकाउन्ट ह्याक गर्न गइरहेको बताएपछि यो समाचार बाहिर आएको थियो। उनको एकाउन्ट लाइभ नै ह्याक गर्ने ह्याकरले बताएका थिए। ह्याकरको नाम चि युआन भनिएको छ। आफ्नो क्रियाकलापले जुकरबर्गलाई यति ठूलो समस्या आइलाग्ला भनेर कल्पना पनि नगरेको बताउँछन् उनी।
आफ्ना प्रयोगकर्तालाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै फेसबुकले क्षमा मागेको छ। फेसबुकले आफ्ना आन्तरिक कामहरू सबै आन्तरिक सिस्टमबाटै गर्छ। त्यसैले बाह्य क्रियाकलापले यसलाई असर पु¥याउन गाह्रो छ। ह्याकरले जुकरबर्ग र स्यान्डबर्गको एकाउन्टबाट कस्तो सूचना लिन खोजेका थिए भनेर पत्ता लागेको छैन। फेसबुकले भनेको छ, यो आक्रमणको आधिकारिक मान्छे अझै पत्ता लागेको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)