सजिलो छैन सरिताको बाटो
आफूबारे सामाजिक टिकाटिप्पणीले अब खासै फरक पार्दैन सरितालाई। आफ्नो पहिचानलाई नै आफ्नो शक्ति बनाएर रंगमञ्चमा टिक्ने प्रण लिएकी छन् उनले।
मैथिली समाज छोरीका लागि खासै उदार छैन। छोरीचेलीले घरभित्रै वा घरबाटै गर्न सकिने कामहरूमा हात हाल्नुपर्छ भन्ने मान्यताले अहिलेसम्म पनि थुप्रै परिवारलाई बाँधेको छ। छोरी, बुहारीलाई स्वतन्त्र भई बाहिरको दुनियाँमा उसले रोजेको काम गर्न दिने सोचको विकास त्यतिसाह्रो हुन सकेको छैन मधेसमा।
यी सबै पुरातनवादी सोचहरूलाई पछाडि पार्दै थुप्रै चेलीले आफ्ना सपना पूरा गर्न कम्मर कसेका छन्। अहिले मधेसका चेलीहरूले आफूले रोजेको क्षेत्रमा पहिचान बनाउन सक्दो प्रयत्न गरिरहेका छन्। यस्तैमा आफ्नो पहिचान बनाएरै छाड्ने महŒवाकांक्षाका साथ नेपाली रंगमञ्चमा पूर्णकालीन रंगमञ्चीय कलाकारका रूपमा स्थापित हुन् संघर्षरत छिन्, सरिता साह (२६)।
साह आफ्नो जन्मथलो महोत्तरीको भोइल टिमकिया गाउँबाट सुरु गरेको रंगयात्रालाई हाल काठमाडौंमा रहेर साकार पार्न दिनरात खटिएकी छन्। सामान्य परिवारकी उनको परिवारमा ६ दिदीबहिनी हुनाले उनको रुचिलाई सुरुमा खासै महŒव दिइएन। तर, खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनले आफ्नो सानैदेखिको कलाकार बन्ने सपना साकार पार्ने अठोट गरिन्।
बुवा रामचन्द्र साह र आमा रामप्यारीलाई छोरीको कलाकार बन्ने र नाटक खेल्ने जस्ता कुराहरूले सुरुमा निकै हैरान बनाएको थियो। एसएलसी दिएर गाउँबाट जनकपुर आएकी सरिताले एफएममा काम सुरु गरिन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो गर्जो टार्न पनि उनलाई काम गर्नुपर्ने बाध्यता थियो। रेडियोमा उनले स्थानीय समस्याहरूको विषयमा नाटकको माध्यमले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिन्।
सोही क्रममा उनको भेट मिथिलाञ्चलका प्रसिद्ध कलाकार रवीन्द्र झासँग भयो। झाले सरिताको कलाकारिता निकै रुचाएर उनलाई रेडियो नाटक ‘संगोर’मा काम गर्ने मौका दिए। सरिताको जीवनमा सो नाटकबाट नै थिएटर र कलाकारिता क्षेत्रमा प्रवेशको बाटो खुल्यो।
दुई वर्ष ‘संगोर’मा काम गरेपछि सरिता २०६९ सालतिर शिल्पी थिएटरमा एक नाटकमा काम गर्न छनोटमा परिन्। शिल्पीमा लगातार चार वर्षसम्म आफ्नो मेहनत र कलाकारिताको बलमा उनी निकै राम्रो पहिचान बनाउन सफल भइन्। हाल उनी स्वतन्त्र रंगकर्मी हुन्।
पछिल्लो समय सरिताले निर्देशन गरेको नयनराज पाण्डेको उपन्यासमा आधारित नाटक ‘लू’ले थिएटर जगत्मा निकै प्रशंसा पायो। सरिताकोे नाट्य निर्देशनमा अर्को चर्चित नाटक रह्यो, ‘काशीदेवी’। राजनीतिक परिवर्तनका कालजयी पात्र सहिद दुर्गानन्द झाको जीवनवृत्तमा आधारित नाटक काशीदेवीका लेखक हुन् नीराजन झा। सो नाटक हेर्न पुगेका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले समेत आँसु थाम्न सकेका थिएनन्। नाटकमा निर्देशकका साथै कलाकार पनि रहेकी सरिताको काशीदेवीको चरित्रले सम्पूर्ण नाटकमा प्राण भरेको थियो।
तीन वर्ष लामो अनुसन्धानपछि लेखिएको नाटक काशीदेवीमा सरिताको निर्देशनले निकै निखारिएको छ। काशीदेवीलाई देशभर प्रदर्शन गर्ने तयारीस्वरूप पछिल्लो समय सरिता जनकपुर आइपुगेकी छन्। जनकपुरमा समेत उनले यो नाटक मञ्चनको तयारी थालेकी छन्।
दर्जनौं नाटक, फिल्म र विज्ञापनमा आफ्नो कलाकारिताको राम्रो छवि प्रर्दशन गरेकी सरिता यस क्षेत्रमा निकै संघर्ष रहेको बताउँछिन्। यो यात्रा सजिलो नरहेको उनको बुझाइ छ। परिवारबाटै सुरु भएको उनको संघर्ष दिनप्रतिदिन जारी छ। मधेसी अनुहारलाई नेपाली रंगमञ्चमा स्थापित गर्नु आफैंमा एउटा चुनौती छ भने कम आर्थिक उपार्जनमा जीविका चलाउनु र आफ्नो कलाकारितालाई जीवन्त राख्नु अर्को चुनौती। तोकिएको आम्दानी छैन। कुनै महिना काम पाइयो भने डेराखर्च चल्छ, नभए सापटी जिन्दगी। तर पनि सरिताको संघर्षलाई आर्थिक अभावले छेक्न सकेको छैन।
आफूबारे सामाजिक टिकाटिप्पणीले अब खासै फरक पार्दैन सरितालाई। आफ्नो पहिचानलाई नै आफ्नो शक्ति बनाएर रंगमञ्चमा टिक्ने प्रण लिएकी छन् उनले। रंगमञ्चको कलाकार, निर्देशकका अतिरिक्त गायन, नृत्यसहितको क्षेत्रमा पनि दक्ष रहेकी सरिता मधेसको एउटा सफल नाट्यकलाकारको छवि बनाउने प्रयत्नमा छिन्।