सुपर मोडलका सुनौला सपना

सुपर मोडलका सुनौला सपना

तीन हप्ताअघि सोल्टी क्राउन प्लाजाको प्रांगणमा मोडल हन्ट नेपाल २०१८ को फाइनल राउन्ड चलिरहेको थियो। यो कार्यक्रमको मुख्य उद्देश्य उत्कृष्ट मोडल खोजी गर्नु थियो। अडिसनबाट नै देशभरिबाट छानिएर आएका युवाहरूको समूहले त्यो साँझ आफ्नो पर्फमेन्स दिँदै थियो।

प्रतिस्पर्धामा पुरुषतर्फ ३४ र महिलातर्फ २५ जना प्रतियोगी त्यो साँझ र्‍याम्पवक्का लागि तम्तयार थिए। कार्यक्रम झन्डै तीन घण्टा चल्यो। सबै राउन्डमा मोडलहरूले आफ्नो क्षमता प्रस्तुत गरिसकेपछि मोडल हन्ट नेपाल २०१८ को उपाधि हात पारेका थिए— अदिती अधिकारी र आशिष केसीले।

०००‍

अदिती अधिकारी (१७) पहिलोपटक यही कार्यक्रमबाट मोडलका रूपमा र्‍याम्पमा हिँडेकी थिइन्। हुन त मोडल बन्नकै लागि उनी यो क्षेत्रमा प्रवेश गरेकी हुन्। तर, प्रतिस्पर्धामा उत्कृष्ट हुन पाउँदा आफ्नो हौसला अझै बढेको उनी बताउँछिन्।

प्लस टु सकाएर बसेकी अदितीले प्रतियोगिता हुँदै छ भन्ने कुरा इन्टरनेटबाट थाहा पाइन्। योभन्दा पहिले आफूलाई मोडलिङको औपचारिक ज्ञान नभएको बताउँछिन् उनी। तर, नेक्स्ट मोडल्स नेपालले गरेको उक्त प्रतियोगितामा छनोट भएसँगै अदितीले धेरै कुरा सिक्न पाइन् रे।

भन्छिन्, ‘र्‍याम्पमा कसरी हिँड्ने, पर्सनालिटी डेभलपमेन्ट कसरी गर्ने र पब्लिक स्पिकिङदेखि मेकअप र गु्रमिङ गराउने काम भयो।’ यसबाट उनले क्यामेरा फेसिङदेखि फोटोसुट गर्ने तरिकाहरू पनि राम्रोसँग सिक्न पाएको बताउँछिन्। एउटा राम्रो मोडल बन्न र्‍याम्पमा कन्फिडेन्टका साथ प्रस्तुत हुनुपर्छ। अर्को आफूले लगाएको लुगा वा कुनै वस्तुलाई आकर्षक रूपमा सो गर्न पनि त्यति नै आवश्यक भएको अदिती बताउँछिन्।

मोडल हन्ट नेपालको प्रतिस्पर्धाको दिन अदिती ब्याक स्टेजमा बसिरहेकी थिइन्। ‘परिणाम के आउला भनेर सोचिरहेको थिएँ’, भन्छिन्, ‘पछि विजेताका रूपमा मेरो नाम अनाउन्स भएपछि म निकै खुसी भएँ।’ अब उनले छिट्टै नै अर्को दुईवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि भाग लिन पाउनेछिन्। पाँच फिट सात इन्च हाइट भएकी अदिती भन्छिन्, ‘मोडल बन्न सबैभन्दा उपयुक्त हाइट हो यो।’ साथीभाइ सबैले उनलाई मोडलिङ फिल्डमा जान उत्साहित गर्थे रे।

‘प्रतिस्पर्धीहरूले राम्रो गरिरहँदा आफूले पनि मेहनत गर्न कर लाग्दो रहेछ’, उनी भन्छिन्। परिवारले पनि मोडलिङमा आउन अदितीलाई सहयोग गरे। यो पेसामा प्रगति गर्ने हो भने मोडलिङ एजेन्सीहरूसँग आबद्ध हुन आवश्यक रहेको देख्छिन् उनी। भन्छिन्, ‘मोडलिङ भनेको टिम वर्क हो, एक्लै सम्भव हुँदैन।’

कपन बस्दै आएकी अदिती सबैबाट राम्रो प्रतिक्रिया पाउँदा फुरुक्क छिन्। अदिती हाँस्दै भन्छिन्, ‘अब सुपर मोडल बन्ने हो।’

०००

मोडल हन्ट नेपाल २०१८ को उपाधि पुरुषतर्फ आशिष केसी (२२)ले जितेका हुन्। टौदह, काठमाडौंमा बस्दै आएका आशिषको बीबीएस पढ्दापढ्दै मोडलिङमा रुचि बढ्न थालिसकेको थियो। प्रोफेसनल्ली मोडलिङ गरेको सातआठ महिना मात्र भएको बताउने आशिषले पहिलोपटक मोडल हन्ट नेपालको प्रतियोगिताबारे फेसबुकबाट थाहा पाएका थिए। नौ महिनासम्म विभिन्न ट्रेनिङमा पनि उनले भाग लिएका छन्।

मोडल हन्टका लागि भने उनले लगातार ४५ दिन ट्रेनिङमा सहभागिता जनाएको बताउँछन्। प्रतियोगिताको फाइनल राउन्डमा १८ देखि २८ वर्षका ५० भन्दा बढी युवा प्रतियोगी सामेल थिए। साथै थुप्रै डिजाइनर र मिडिया सेलिब्रिटी पनि उपस्थित थिए।

आशिषको हाइट ६ फिट एक इन्च छ, जुन मोडल बन्न उपयुक्त हाइट हो। ‘उक्त प्रतियोगितामा केटी मोडलभन्दा केटा मोडलको संख्या धेरै थियो’, उनी भन्छन्। अहिले केटाहरूलाई मोडलिङमा धेरै अवसर आएको आशिष बताउँछन्। भन्छन्, ‘पहिलेपहिले केटा मोडललाई रनवे सोहरूमा लिइँदैन थियो, अहिले लिइन्छ।’ अन्तर्राष्ट्रिय स्तरमै मेल मोडलहरूको दबदबा बढ्दै गएकाले पनि डिमान्ड हुन थालेको आशिषको बुझाइ छ।

उनी भन्छन्, ‘मोडलिङलाई मात्र आफ्नो करिअर भनेर पनि हिँड्नु हुँदैन। यो त करिअर बनाउने एउटा खुड्किलो बाटो हो।’ मोडलिङबाटै म्युजिक भिडियो, फिल्म क्षेत्रमा पनि प्रवेश गर्न सकिने बताउँछन् उनी। ‘अब यो उपाधि जितेसँगै मैले कोरिया र चाइनामा हुने कम्पिटिसनमा भाग लिन पाउँछु।’

प्रायः र्‍याम्पवाक गरिरहने आशिष मानिसहरूको भीडमा वाक् गर्न कहिल्यै अप्ठ्यारो महसुस नभएको बताउँछन्। मोडलिङमा ¥याम्पसम्म पुग्न थुप्रै कुरामा फिट हुनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘मोडल हन्टको अडिसनमा पास भएपछि प्रत्येक दिन हुने ट्रेनिङमा हाम्रो सिक्ने तरिका सुधार भएका विषयहरू केलाइन्थ्यो।’

र्‍याम्पवक् गर्दा बिटमा हिँड्ने तरिका, ड्रेस पहिरन, ध्यानमा राखेर काम गर्नुपर्ने आशिष बताउँछन्। फस्र्ट रनरअपसम्म पुगूँला भन्ने आशा बोकेर प्रतियोगितामा भाग लिएका आशिष अन्ततः विजेता नै बन्दा निकै खुसी छन्। भन्छन्, ‘मोडलिङमा भविष्य देखेर नै मान्छेहरूको रुचि यो पेसामा बढेको होला।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.