महाभारतमा इको पर्यटन
बनेपा : पछिल्लो समय काभ्रेमा प्राकृतिक वातावरणमा रमाउन, अध्ययन, अनुसन्धान र मनोरन्जनका लागि विदेशी पर्यटक आउने क्रम बढेको छ। महाभारत पर्वत शृंखलामा अवस्थित प्राकृतिक दृश्य, वनस्पति, वन्यजन्तुसँग रमाउन उनीहरू काभ्रे आउन थालेका हुन्।
होमस्टेमार्फत ग्रामीण पर्यटनका रूपमा महाभारतका जंगलको अध्ययन अवलोकन र मनोरम दृश्यका लागि पर्यटक आउने गरेको बेथानचोक गाउँपालिकास्थित माउन्ट महाभारत होमस्टे सञ्चालक कमल नेपाल बताउँछन्। ‘पर्यटक आकर्षित गर्न स्थानीय कला, संस्कृति र कृषिमा संलग्न गराउँछौं’, उनले भने, ‘यसले मनोरन्जनसँगै काम सिक्ने वातावरण, घुलमिल हुने मौका पाउँदा पर्यटक आकर्षित भएका छन्।’
नेपालका अनुसार विश्वका विभिन्न मुलुकबाट आएका पर्यटकलाई प्याकेज बनाएर पर्यावरणसँगै घुलमिल गराउने गरिन्छ। ‘अर्गानिक खेतीमा संलग्न गराउने, मनोरन्जन, हाइकिङ, ट्रेकिङ र सांस्कृतिक विविधताको अवलोकन र परिचय गराउँछांै’, उनले थपे ,‘हामी आफैं अर्गानिक तरकारी उत्पादन गर्न लगाउँछौं र त्यही खुवाउँछांै।’ गाउँघरमा रहेका स्रोतसाधनलाई उपयोग गर्दै पाहुनालाई स्वागत गर्ने गरेको स्थानीय बताउँछन्। केन्द्रीय होमस्टे प्रचारप्रसार प्रमुखसमेत रहेका नेपालले जिल्लामा विभिन्न मुलुकबाट वार्षिक १० हजारभन्दा बढी पर्यटक भित्रिने गरेको बताए। उनका अनुसार होमस्टेले रोजगारी सिर्जना गर्नुका साथै ग्रामीण भेगमा रहेका स्रोतसाधनको उपयोगितासमेत बढेको बताए। नेपालका अनुसार जिल्लामा रहेको माउन्ट महाभारत होमस्टेमा वार्षिक पाँच सय, पात्लेखेत होमस्टेमा तीन सय, बल्थली होमस्टेमा पाँच सय, बेथानचोक सामुदायिक होमस्टेमा दुई सय, पनौती सामुदायिक होमस्टे पाचँ सय, शंखु होमस्टेमा दुई सय, मानेगाउँ सामुदायिक होमस्टेमा दुई सय, भंैसेपाटी नमस्ते होमस्टेमा एक सय र बनेपा रेम्बो होमस्टेमा वार्षिक दुई सय ५० भन्दा बढी पर्यटक भित्रिने गरेको नेपालले जानकारी दिए।
समुद्र सतहबाट करिब २७ सय मिटर उचाइमा विहावर क्षेत्रस्थित अग्लो फुलचोकी पर्वत छ। यसमा जैविक विविधता, ट्राउट माछा, विभिन्न पशुपंक्षीको अवलोकन, फुल्चोकी नजिक भएको ठाउँबाट पूर्वमा कञ्चनजंगा र पश्चिममा माछापुच्छ«े हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने कुशादेवी सरोकार समाजका इन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार मनोरम दृश्यसँगै पर्यटकलाई हाइकिङ, प्याराग्लाइडिङ र जैविक विविधताको अध्ययन अवलोकन गर्ने सम्भावना भएकाले पछिल्लो समय पर्यटक आकर्षित भएका छन्।
प्रतिक्रिया दिनुहोस !