गौरीको गौरव
महिला अधिकार माग्ने, अनि पुरुषले दिने। यस्तो सोचयुक्त समाजप्रति गौरीको तिखो प्रश्न छ, ‘हामीले मागेर दिने उनीहरू को हुन् ?’
कुरा ३० वर्ष अगाडिको हो। एक दिन गौरी मल्लको भेट अभिनेत्री बसुन्धरा भुसालसँग भयो। त्यही भेटले गौरीको जीवनको लक्ष्य नै मोडिदियो। पारिवारिक सम्बन्ध भएकाले भेटघाट हुँदा हाँसोठट्टा चल्थ्यो। ठट्टैठट्टामा बसुन्धराले गौरीलाई ‘यो त गीत गाइरहन्छे, यसलाई सिनेमामा लैजानु पर्यो’ भनिन्। त्यति बेला गौरी र उनको परिवारलाई पनि कुरा ठीकै लाग्यो।
भइहाल्छ त भनियो, तर जाने कसरी ? गौरीलाई उत्सुकता जाग्यो। त्यति बेला प्रकाश थापा नयाँ फिल्म बनाउँदै थिए। उनी कलाकारको खोजीमा रहेको पनि बसुन्धराले बताइन्। गौरीले निर्देशक थापालाई भेटिन् र स्क्रिन टेस्ट पनि दिइन्। फिल्ममा एउटा सानो रोल होला भन्ने उनलाई लागेको थियो। तर, कन्ट्र्याक्ट साइन गर्दा हिरोइन पो रहेछ भन्ने उनले थाहा पाइन्।
गौरीसँग अभिनयको कुनै प्रशिक्षण थिएन। त्यसमा पनि फिल्म उद्योगमा बाघ निर्देशकका रूपमा चिनिने प्रकाश थापासँग काम गर्नु कम्ता चुनौती थिएन। तैपनि गौरीले फिल्म ‘सन्तान’मा काम गर्ने पहिलो अवसर छाडिनन्। नायक अर्जुनजंग शाहीसँग डाइनिङ टेबलमा गौरीले पहिलो दृश्य छायांकन गर्नुपर्ने थियो। पहिलो डायलग याद नभए पनि पहिलो टेकमै ओके भएको उनले बिर्सेकी छैनन्। सबैले ताली बजाए। त्यसपछि गर्न सक्ने रहेछु भनेर उनलाई झन् हौसला बढ्यो। यसपछिका दिनमा निर्देशक थापाले अरूका सुटिङ सेटमा लगेर ‘ल हेर, कसरी गर्ने’ भन्दा आफूले अभिनय सुधार्ने मौका पाएको उनी बताउँछिन्।
फिल्म ‘सन्तान’ पछिको एक वर्षसम्म गौरीले अरू काम पाइनन्। यसै क्रममा उनलाई ‘पिरती’को अफर आयो। रोल लामो थिएन। गर्दिनँ भन्दा पनि उनलाई अर्की नायिका नवीना श्रेष्ठले कर गरिन्। यसरी ‘पिरती’, ‘चेलीबेटी’ हुँदै अगाडि बढेको गौरीको फिल्म यात्रा आजसम्म पनि रोकिएको छैन।
विगत केही दिनयता गौरी नयाँ प्रोजेक्टमा निकै व्यस्त छिन्। बूढानीलकण्ठस्थित मह स्टुडियोमा फिल्म ‘सरकारी जागिर’को छायांकन चलिरहेको छ। बिहान सुटिङ युनिटसँगै स्टुडियोमा पुगेपछि बेलुकी कति बज्छ, उनलाई पत्तो हुँदैन।
सुटिङको ब्रेकमा अन्नपूर्णसँग कुराकानी गर्दै आफूले हिँडेको बाटोको यथार्थ उनले खुलाइन्, ‘वास्तवमा सिनेमा मेरो रोजाइ होइन।’ बाँसबारीमा बाल्यकाल बिताएकी गौरी आफ्नो बुवाजस्तै सेनामा जागिर खान चाहन्थिन्। तर, त्यति बेला एकैपल्ट सेकेन्ड लेप्टन बनेर प्रवेश गर्ने चलन थिएन। मेडिकल क्षेत्रबाट नर्स बनेर सेनामा जाने उनको धोको बन्यो। तर, वास्तविक जीवनमा उनको यो लक्ष्य पूरा भएन। दुईतीनवटा फिल्ममा गौरीले डाक्टरको भूमिका खेलेर फिल्ममार्फत भए पनि धोको पूरा गरिन्।
विद्यालयमा पढ्दा एकांकी नाटकमा उनी अभिनय गर्थिन्। कक्षाकोठामा कुनै भावपूर्ण विषयवस्तु पढ्नु पर्यो भने शिक्षकहरूले ‘गौरी तिमी पढ’ भन्थे। कसरी त्यसलाई एक्सप्रेस गर्ने, कसरी आरोह अवरोह मिलाएर भन्ने, त्यसमा गौरी सिपालु थिइन्। सायद यसैले उनलाई फिल्ममा सहयोग गर्यो। ‘अभिनय मेरो रगतमै थियो तर यसबारेमा म अनभिज्ञ थिएँ’, उनले भनिन्। सुरुका दिनमा पनि उनले ऐनाअगाडि उभिएर अभिनय अभ्यास गरिनन्। तर, हिजोआज क्यारेक्टरलाई फेसियल एक्सप्रेसन गर्दा कसरी जस्टिफाई गर्न सकिन्छ भनेर उनी ऐनाअगाडि अभ्यास गर्छिन्।
त्यति बेला सुटिङ स्पटसम्म पुग्न पनि धेरै दुःख हुन्थ्यो। सुटिङस्थलमै मेकअप गर्नेदेखि लुगा फेर्नुपर्ने हुन्थ्यो। ट्वाइलेटको व्यवस्था थिएन। त्यसमा पनि निर्देशकको हप्कीदप्की त छँदै थियो। सुटिङका क्रममा निर्देशकद्वय माधव किसन र प्रकाश थापाको हातबाट त कुटाइ नै खाएको गौरीले सुनाइन्। त्यति बेलाका दर्शकले कलाकारलाई धेरै माया गर्थे, त्यसैले निर्देशकको कुटाइ बिर्सिइन्थ्यो। गाउँमा सुटिङमा गयो भने आफ्नो घरमै लगेर कोठा दिन्थे। आफ्नै घरमा सुटिङ गरिदिए हुन्थ्यो जस्तो गर्ने उनले सम्झिइन्।
कलाकारलाई छोराछोरीजस्तै माया गर्ने निर्देशकबाट गौरीको करिअर सुरु भयो। त्यसैले पनि उनले कहिले निर्माता निर्देशकको कुदृष्टि भोग्नु परेन। ‘त्यस्तो चिज मेरोअगाडि आएको भए म राम्रै जवाफ दिएर हिँड्थेँ होला’, उनले प्रस्ट्याइन्। राम्रो नराम्रो जुनसुकै पेसामा हुन्छ तर सिने क्षेत्रमा सानो केही भइहाले एकैछिनमा त्यो भाइरल हुन्छ। त्यसैले पनि मानिसलाई नराम्रो भन्न सजिलो भएको छ। बरु फिल्म क्षेत्रमै मानिस सुरक्षित छन् जस्तो उनलाई लाग्छ। राति पनि भ्यानमै लगेर घरसम्म पुर्याइदिन्छन्, अरूमा यस्तो हुँदैन। तपाईं आफू कस्तो हुनुहुन्छ र समाजमा आफूलाई कसरी स्थापित गराउनुभएको छ, त्यसमा पनि भर पर्ने उनको धारणा छ।
पारि श्रमिकको विभेद हरेक क्षेत्रमा छ। फिल्ममा पनि नायिकालाई नायकभन्दा पारि श्रमिक कम दिइन्छ। तर, उनले आफ्नो डिमान्ड जहिले पनि राखिन्। जहाँ उनको डिमान्ड पूरा भयो, त्यहीँ मात्र काम गरिन्। व्यावसायिक रूपमा जाने ठाउँमा गौरी अहिले पनि डिमान्ड पूरा भएपछि मात्र सम्झौता गर्छिन्। कतिपय ठाउँमा शुभेच्छुक भएकै आधारमा उनले पारिश्रमिकमा विचार गरेकी छन्।
तर, फिल्मको कथा मन परेर सुटिङ गर्ने लोकेसनको टुंगो लागिसकेपछि पनि फिल्म हातबाट उम्केको भोगाइ गौरीसँग छ। त्यसो हुँदा पनि निर्माता निर्देशकले राम्रैका लागि गरेका होलान् भनेर चित्त बुझाउँथिन् उनी।
संसारमा असंख्य चरित्र छन्। ‘तर, तीमध्ये हामीले कति निर्वाह गर्यौं र त्यसबाट हामी सन्तोष हुने ? ’ सन्तुष्ट हुन पाउने चरित्र अझै आओस् जस्तो लाग्छ गौरीलाई। मन पर्ने फिल्म उनले धेरै गरिन् तर ती पर्याप्त लाग्दैन। त्योभन्दा अझै माथि धेरै काम गर्न बाँकी छ जस्तो लाग्छ उनलाई। ‘सरकारी जागिर’ सकिएपछि अर्को दुई प्रोजेक्टमा तुरुन्तै काम गर्नु छ उनले।
अभिनयमा गौरीको तीन दशक सजिलै कट्यो। यसले गौरी आफू हिँडेको बाटोमा सन्तुष्ट छिन् भन्ने प्रस्ट्याउँछ। उतारचढाव हरेक क्षेत्रमा हुन्छ तर सिनेमामा लाग्दाको यो समय एक निमेषमै बितेजस्तो अनुभूति हुन्छ उनलाई। यही क्षेत्रमा लागेर कमाएको परिचयले उनी खुसी पनि छिन्।
फिल्ममा गौरीको करिअरले उचाइ लिँदै थियो। यत्तिकैमा उनी जापान गइन्। उतै बस्छु भनेर नभई संयोगवश बस्नु पर्यो। त्यहाँको जीवन पनि उनका लागि अनौठो थियो। जीवनको एक नयाँ सुरुआत थियो। जिरोबाट जीवन सुरु गर्दा उनले धेरै सिक्ने अवसर पाइन्। अर्काको देशमा पुगेर काम, समय, पैसालगायत हरेक कुराको महत्व उनले बुझिन्।
यता फर्किएपछि सिनेमाभन्दा अरू रोजाइ उनको दिमागमा कहिल्यै आएन। पाए अभिनय गर्छु नपाए आफैं सिनेमा बनाउँछु। यस्तै सोच थियो गौरीको। त्यति बेला ‘सिंहदरबार सिजन वन’मा उनलाई प्रस्ताव आयो। यसपछि पनि ६ /७ वटा सिनेमा गरिन् उनले। ‘सिंहदरबार सिजन २’ पनि उनले सकाइसकिन्। अहिले पनि ५ /६ वटा सिनेमा लाइनमै छन्। त्यसैले सिनेमा नै गौरीको संसार बनेको छ। पछि आफैं निर्माण निर्देशनमा हात हाल्ने उनको विचार छ।
सोचलाई बराबरीमा राखे महिला पुरुषबीचको शक्ति संरचनामा आफैं सन्तुलन आउने उनको धारणा छ। उनलाई आफू अगाडिको पुरुष कहिल्यै पनि आफूभन्दा माथि लाग्दैन। यसलाई प्रस्ट्याउँदै उनले भनिन्, ‘नौ महिना आमाको पेटमा बसेर पुरुषको जन्मने प्रक्रिया र महिलाको जन्मने प्रक्रिया उही। अनि किन विभेद ? ’ त्यसैले हरेकले आफ्नो सोच बदले समाज आफैं बदलिने उनको भनाइ छ। महिला अधिकार माग्ने, अनि पुरुषले दिने। यस्तो सोचयुक्त समाजप्रति गौरीको तिखो प्रश्न छ, ‘हामीले मागेर दिने उनीहरू को हुन् ? ’ दिनहँ बढेको बालिका तथा महिलामाथिको हिंसाबारे दोषी जोसुकै भए पनि कडा सजाय हुनुपर्ने उनको धारणा छ।
‘सन्तान’बाट करिअर सुरु गरेकी गौरी एउटी महिलालाई सन्तानको आवश्यकताबारे फरक मत राख्छिन्। सन्तानबाट के अपेक्षा राख्ने ? ‘कुन अर्थमा सन्तान महत्वपूर्ण लाग्छ, त्यसमा भर पर्छ’, उनले भनिन्। सन्तानले कहिल्यै पनि सुख र सुरक्षा दिन्छ भन्ने भ्रममा पर्न नहुने उनको जिकिर छ। अहिले अभिभावकले सन्तानमाथि गर्ने लगानीको ग्यारेन्टी नभएको लाग्छ उनलाई।