नाटकका नायक

नाटकका नायक

नाटक अभ्यासमा अत्यन्तै अनुशासित उनले अभ्यास गर्दागर्दै लामालामा संवाद खर्लप्पै कण्ठ गरे। निर्देशकलाई निःसर्त सुन्ने उनको बानीले मलाई निकै सजिलो बनायो।


विसं २०३३ को एक दिन। तत्कालीन रोयल नेपाल एकेडेमीमा नाटक ‘फर्केर हेर्दा’को रोयल सो भइरहेको थियो। नाटक हेर्न तत्कालीन राजा वीरेन्द्र सपरिवार आएका थिए। सत्यमोहन जोशीको लेखन र प्रचण्डको निर्देशन रहेको उक्त नाटकमा प्रमुख भूमिकामा थिए, हरिहर शर्मा। नाटक सबैले मन पराए। शाही नेपाली चलचित्र संस्थानका महाप्रबन्धक उत्तमलाल श्रेष्ठ र चलचित्र निर्देशक प्रकाश थापा पनि दर्शकदीर्घामा रहेछन्। उनीहरू संस्थानबाट बन्ने फिल्म ‘सिन्दूर’को लागि कलाकार खोजिरहेका रहेछन्। नाटकमा अभिनय गर्दागर्दै ‘सिन्दूर’का लागि छानिए कलाकार शर्मा।

जीवनकै पहिलो फिल्म २५ वर्षे उमेरमा पाए उनले। उनको जीवनका अनेकौं खुड्किलामध्ये एउटा महत्वपूर्ण खुड्किलो थियो त्यो। ‘सिन्दूर’ आज पनि शर्माको लागि मन परेका फिल्ममध्ये एक हो। उनी ती दिन सम्झन्छन्, ‘तर फिल्ममा क्यामेराको परिधि नै मञ्च रहेछ। रंगमञ्चमा हामी प्रेक्षालयको पछाडिसम्मको दर्शकलाई देखाउन अलिक खुलेर अभिनय गर्छौं। तर, क्यामेराका लागि त्यो धेरै हुने रहेछ।’ नाटकमा यताउति हेर्न पाइने स्वतन्त्रता फिल्ममा बाँधिँदा उनको एक्सप्रेसनमा समस्या आयो। प्रकाश थापाको ठूलो स्वरले सबै कलाकार उनीसँग डराउँथे। शर्माका लागि यो फिल्म ठूलो सिकाइ भयो।

दौलतविक्रम विष्टको कथामा आधारित ‘सिन्दूर’ले गजब व्यापार गर्‍यो। फिल्मका लागि ५ /६ हजार रुपैयाँ पारि श्रमिक लिए। ठ्याक्कै रकम सम्झँदैनन्। एकेडेमीमा मासिक एक सय ९२ रुपैयाँको ज्यालादारी कलाकारका रूपमा काम गरिरहेका उनका लागि त्यो पारि श्रमिक काठमाडौंमा बस्न ठूलो सहयोग भयो। त्यतिखेर वर्षमा एकाध फिल्म बन्थे। नेपालमा टेलिभिजन स्थापना भइसकेको थिएन। यस्तो अवस्थामा पनि उनले निरन्तर फिल्म पाइरहे। आजका मितिसम्ममा उनले ७० भन्दा बढी फिल्म खेलिसकेका छन्। त्यत्तिकै संख्यामा नाटक पनि। हामी कुराकानीका लागि बसिरहेको घर औंल्याउँदै भन्छन्, ‘यो घर फिल्म खेलेरै बनाएको हुँ।’

रंगमञ्चमा स्थापित निर्देशकले अरूको निर्देशनमा काम गर्दा आफ्नो ‘निर्देशक अहम’ले अप्ठ्यारो बनाउन सक्छ। रंगमञ्च र फिल्ममा शर्माको दर्शन छ, ‘जब म कलाकार हुँ, कलाकारकै हैसियतमा रहन्छु। जब म निर्देशक हुन्छु, निर्देशककै हैसियतमा रहन्छु।’ भन्छन्, ‘फिल्म निर्देशकको सोच र परिकल्पना हो। उसको परिकल्पनालाई मूर्त रूप दिन सहयोग गर्ने काम हो कलाकारको। हरेक निर्देशकको काम गर्ने आआफ्नो तरिका हुन्छ, त्यसलाई कलाकारले सम्मान गर्नुपर्छ।’

०००

मैले जीवनमै पहिलोपटक हेरेको फिल्म ‘वासुदेव’ हो। त्यतिखेर म ६ /७ वर्षको थिएँ। पहिलोपटक हेरेको वासुदेव फिल्मको सम्झना खासै रहेन। तर, पछि नेपाल टेलिभिजनले शनिबार दिउँसो यही फिल्म दोहोर्‍याई तेहेर्‍याई देखाउन थाल्यो र धेरैपटक हेर्ने अवसर जुर्‍यो। नीर शाहको निर्देशन र विनोद चौधरीको निर्माणमा बनेको यो फिल्ममा आजका निकै चर्चित अनुहारहरू छन्। शकुन्तला शर्माले फिल्ममा पनि श्रीमतीकै भूमिका निर्वाह गरेकी छन्। वासुदेव कट्टेलको भूमिकामा धेरै कलाकार छानियो। हरिहर शर्माले नीर शाहलाई तपाईं आफैं यो भूमिका गर्नुस् भनेर सल्लाह दिए। शर्मा भन्छन्, ‘तर नीर शाहले पछि भन्नुभयो, यो पात्रमा न्याय गर्ने तपाईंबाहेक अर्को विकल्प छैन।’

‘वासुदेव’ हेरेको करिब १४ वर्षपछि अभिनय सिक्न म उनकै शरणमा पुगेँ। त्यतिखेर उनी सांस्कृतिक संस्थानको महाप्रबन्धक थिए। उनकै पहलमा संस्थानमा एकवर्षे अभिनय प्रशिक्षण सुरु भएको थियो। त्यसबीचमा मैले उनका निकै फिल्म हेरिसकेको थिएँ। २०५१ सालमा बनेको फिल्म ‘कर्जा’मा ज्वारीकोट लगाएका र बन्चरो बोकेका हरिहर शर्मा आज पनि मेरो स्मरणमा झलझली आउँछन्। मूलधारको कमसल फिल्म हो यो। तर, उनको अभिनय अब्बल लाग्छ मलाई। किशोर राणा निर्देशित ‘कर्जा’लाई आफ्ना सम्झनयोग्य फिल्ममध्येमा राख्छन् उनी पनि।

हामी सांस्कृतिक संस्थानमा अभिनय सिकिरहँदा उनको बारेमा अनेक कुरा हुन्थे। तीमध्ये एउटा किस्सा लोकप्रिय थियो। शर्मासँग रिसाएको कोही मान्छे, मुर्मुरिँदै उनलाई आक्रमण गर्न गयो भने पनि उनको अगाडि परेपछि विनम्र हुन्छ। यो उनको व्यक्तित्वको कमाल थियो। अत्यन्तै तौलिएर बोल्ने, शालीन र अनुशासित उनी आज पनि सजिलै आफ्नो परिवेशलाई नियन्त्रणमा राख्न सक्छन्। सांस्कृतिक संस्थानमा उनको प्रवेश उनकै लागि र नेपाली रंगमञ्चका लागि पनि ठूलो चुनौतीपछिको उपलब्धि हो। शर्मा संस्थानमा जानुअघि संस्थान लगभग बन्द अवस्थामा थियो। नेपाली रंगमञ्च मृतप्रायः थियो। संस्थान भएकाले सरकारी बजेटमा थपथाप गरेर कर्मचारीलाई तलब खुवाउने स्थिति थिएन। २०१६ सालमा काठ गोदाम खरिद गरेर सत्यमोहन जोशीले बनाइदिएको नाटकघर जीर्ण थियो। कामधाम केही थिएन। उनी दुई कार्यकाल अर्थात् १० वर्ष संस्थानमा बसे। अनेक झमेला झेल्दै आधुनिक नाटकघर निर्माण गरेर एकेडेमीको पुरानो काममा फर्किए। आज जमलमा ठडिएको भव्य ‘नाचघर’ उनकै कडा मेहनत र उत्कृष्ट व्यवस्थापनको फल हो।

प्यूठानको चौरपानीमा २००७ सालमा जन्मिएका हरिहर शर्माले गाउँकै स्कुलमा प्रारम्भिक शिक्षा लिए। बुवाको जागिर भारतको आसाममा भएको र छोराछारीलाई त्यहाँ शिक्षा निःशुल्क भएको हुनाले आमा र चार भाइको परिवार उतै सर्‍यो। त्यतिखेर उनी १० वर्षका थिए। शिक्षा, संस्कृति र जनजीवनका हिसाबले उनका लागि भारत जानु जीवनको अर्को खुड्किलो थियो। रासनपानी, बसोबास सबै सरकारले बेहोर्ने हुनाले उनले हिन्दी भाषाको स्कुलमा पढे। उनी पढ्ने स्कुलसँगै नेपाली भाषाको स्कुल पनि थियो, जहाँ हरिभक्त कटुवाल नेपाली पढाउँथे। उनले हेरेको पहिलो नाटक विद्यालयको वार्षिकोत्सवको अवसरमा हरिभक्त कटुवाल र जुद्धवीर लामाले तयार गरेका थिए। तर, नाटकको नाम सम्झँदैनन् उनी। उनी पनि स्कुलका विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिन्थे। कक्षा ६ पढ्दै गर्दा उनले ‘आमाको पुकार’ नाटकमा अभिनय गर्ने मौका पाए। ८ कक्षाको हुँदा उनले हिन्दी नाटक ‘सम्राट् चन्द्रगुप्त मौर्य’मा सम्राट्को भूमिका पाए। यो नाटक जयशंकरप्रसादले लेखेका हुन्।

म्याट्रिक सकेपछि शर्मा २०२८ सालमा उच्च शिक्षाका लागि काठमाडौं आए। अमृत साइन्स कलेजमा आईएस्सी पढ्न थाले। कलेजकै होस्टलमा बस्ने उनी कलेजका विभिन्न अतिरिक्त गतिविधिमा सक्रिय थिए। २०२९ मा जीएए (गोदावरी एल्मुनाई एसोसिएसन) नाटक प्रतियोगितामा कलेजले भाग लिने भयो। त्यही प्रतियोगिताका लागि विजय मल्लको नाटक ‘जीवनबिमा’लाई जितेन्द्रमहत अभिलाषीले निर्देशन गरे। हरिहर शर्माले यसै नाटकबाट उत्कृष्ट अभिनेताको पुरस्कार पाए। यो पुरस्कारले उनलाई अभिनयप्रति झन् आकर्षित गर्‍यो। अग्रज रंगकर्मीमाझ पनि चिनायो।

शर्माको जीवनको क्यालेन्डरमा २०३० साल अर्को ज्यादै महत्वपूर्ण र खुसीको वर्ष बन्यो। रोएल नेपाल एकेडेमीलाई नयाँ कलाकार चाहिएको रहेछ। गोरखापत्रमा विज्ञापन आएको कुरा कलाकार मदनदास श्रेष्ठले उनलाई सुनाए। उनले आवेदन दिए। तुलसी दिवस, चूडानाथ भट्टराय, विजय मल्ल, प्रचण्ड मल्ल आदिले उनको अन्तर्वार्ता लिए। एकेडेमीको ज्यालादारी कलाकारका रूपमा शर्मा छानिए। त्यतिखेर शकुन्तला गुरुङ एकेडेमीमा सिनियर कलाकारका रूपमा थिइन्। उनी ऐकेडेमीमा जागिरे भएपछि अभिनय गरेको पहिलो नाटक थियो चूडानाथ भट्टरायले लेखेको र प्रचण्ड मल्लले निर्देशन गरेको ‘श्री ५ पृथ्वीनारायण शाह’। यो नाटकमा शर्माले कालु पाँडेको भूमिका निर्वाह गरेका थिए। भन्छन्, ‘इतिहासका किताब पढेँ। तस्बिरहरूबाट कालु पाण्डेको भेषभूषा र हुलिया नियाल्ने मौका पाएँ।’

शर्माले सबैभन्दा बढी प्रचण्ड मल्लको निर्देशनमा नाटक खेले, सबैभन्दा बढी विजय मल्लको नाटक निर्देशन गरे। अभिनय वा निर्देशन गर्दा कलाकार शकुन्तला गुरुङसँग उनले धेरै सहकार्य गरे। गुरुङ र शर्माको प्रेमकथा निकै रोचक छ। शर्मा भन्छन्, ‘हामीले एकअर्कालाई म तिमीलाई माया गर्छु भन्नै परेन। माया गर्छौं भन्ने कुरा हामी दुवैलाई मनमनमै पत्तो थियो।’ एउटै अफिस, सँगै काम। घर जाँदा पनि बाटोमा सँगसँगै हुन्थे उनीहरू। शर्मा सम्झन्छन्, ‘२०३२ साल असार साउनको कुरा होला, हामी एकेडेमीबाट घरतिर लाग्दै थियौं। झमझम पानी परेको थियो। छाता थिएन। दरबारको पश्चिम गेट वरिपरिका ठूला रूखमुनि ओत लागेर बसेका थियौं। मैले त्यहीँ उनलाई भनेँ, शकु हामी बिहे गरौं।’ शकुन्तलाले भनिन्, ‘मलाई भनेर हुन्छ त, परिवारसँग कुरा गर्न जानुस्।’ आफ्नो परिवारले बाहुनसँग विवाह गर्न दिन्नन् होला भन्नेचाहिँ शकुन्तलालाई लागेको थियो। तर, यो विवाह सजिलै हुन्छ भन्नेमा हरिहर शर्मा विश्वस्त थिए। २०३३ सालमा शर्मा र गुरुङको विवाह भयो। दुई छोराका आमाबुवा यो जोडी ४२ वर्षे वैवाहिक यात्रामा छ।

विसं २०७२ मा हरिहर शर्माको अभिनय जीवनमा नयाँ घटना घट्यो। उनी २४ वर्षपछि रंगमञ्चमा चामत्कारिक हिसाबले देखा परे। करिब सवा दुई घन्टा लामो नाटक ‘समाजका नाइके’मा अत्यन्तै जोखिमपूर्ण भूमिकामा जब उनी देखा परे, नयाँ पुस्ताका दर्शकलाई अचम्मित पार्ने गरी उनले अभिनय गरे। उनलाई निर्देशन गर्ने सौभाग्य मैले पाएँ।

मेरा नाटकका गुरुहरूमध्ये निकै अन्तरंग भएर र खुलेर कुरा हुन्छ, हरिहर शर्मासँग। फुर्सद मिल्दा म उनको निवास लाजिम्पाट पुगिहाल्छु। सायद मैले उनीसँगको अनौपचारिक कुराकानीबाट धेरै सिकेँ। उनलाई नाटकमा खेलाउने सपना साँचेको थिएँ, २०७२ सालको मंसिरमा उनको घरमै गएर नाटकको स्क्रिप्ट बुझाएँ। नाटक थियो, नर्वेली नाटककार हेनरिक इब्सनको पिल्लर्स अफ सोसाइटीको नेपाली अनुवाद ‘समाजका नाइके।’ यस नाटकलाई नेपालीमा अनुवाद गरेका हुन्, डा. शिव रिजालले। अनुवाद निकै माझिएको थियो। कलाकार पनि झन् त्यस्तै। हरिहर शर्मा, देशभक्त खनाल, कृष्णभक्त महर्जन, अरुणा कार्की आदि शिल्पीबाहिरका कलाकार थिए। धनाढ्य व्यापारी क्य्रास्टन बेर्निकलाई नाटकमा विनोद चौधरी बनाइएको थियो। पैसा, शक्ति, प्रेम, धोका र भ्रष्टाचारको जालोमा बेरिएको यो चरित्रलाई हरिहर शर्माले साँच्चै सशक्त ढंगले निर्वाह गरेर नयाँ पुस्ताका रंगकर्मीलाई चकित बनाए, जसले पहिला उनको अभिनय देखेका थिएनन्। ६५ वर्षको उमेरमा रंगमञ्चमा शर्माको अभिनय सामथ्र्य देखेर उनकै पुस्ताका कलाकारहरू पनि रंगमञ्चमा आउन लोभिए।

लामो इतिहास बोकेका, अब्बल रंगकर्मी त्यसमाथि आफ्नै गुरुलाई निर्देशन गर्नु मेरा लागि जति अवसर थियो, त्यत्तिकै चुनौती पनि। तर, स्थिति फरक देखियो। नाटक अभ्यासमा अत्यन्तै अनुशासित उनले अभ्यास गर्दागर्दै लामालामा संवाद खर्लप्पै कण्ठ गरे। निर्देशकलाई निःसर्त सुन्ने उनको बानीले मलाई निकै सजिलो बनायो। उनलाई रंगमञ्चमा फेरि अभिनय गर्ने मन छ। भन्छन्, ‘राम्रो स्क्रिप्ट लिएर आऊ, म अर्को नाटक खेल्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.