वीरेन्द्रको आकाश मार्ग

वीरेन्द्रको आकाश मार्ग

सन् १९७४ मा ३० करोडको दरले दुईवटा ‘विच १९०० डी’ जहाज किनिएको थियो। अहिले बुद्ध एअरसँग ११ विमान छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एअरको टर्मिनल कक्ष। बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बेलाबेला ल्यान्डमा दौडिरेहको प्लेनतिर नजर डुलाउँछन्। भन्छन्, ‘अहिले सम्झिन्छु, त्यति बेला जोखिम क्षेत्र रोजेछु। केही गरी यो कम्पनी डुबेको भए हाम्रो परिवार सडकमा आइपुग्थ्यो।’

बस्नेत उतिबेला काठमाडौंतिरै थिए। सन् १९९२ पछिको कुरा हो, उनी मोरङको कृषि फार्म छाडेर मास्टर्स पढ्न काठमाडौं आएका थिए। विवाह भइसकेको थियो। दुई सन्तान थिए। आम्दानी हुने काम केही थिएन। ‘घरमा परिवार छ। रोजगारी केही छैन। किताब बोकेर डिग्री पढ्न जान पनि लाज लाग्न थालेको थियो’, उनी विगत रिभिजिट गर्छन्। ‘केही राम्रो व्यापार गर्नुपर्छ’ भन्ने बुवाको सोचाइ थियो। व्यापारको कुनै निश्चित प्लान थिएन। ‘भिनाजु पर्ने आफन्तले एक दिन एभिएसनबारे भन्नुभयो। उहाँ आरएनएसीमा काम गर्नुहुन्थ्यो। भिनाजुले भन्नुभयो, जहाज एकदमै भर्सटाइल छ। फाइनान्स पनि गरिरहेको छ। एउटा जहाजको ३० करोड रुपैयाँ। तीन करोड रुपैयाँ डिपोजिट गर्नुपर्छ। दुई वर्षसम्म सामान बिग्रियो भने सित्तैमा बनाइदिने र अरू सुविधा पनि भएको’, वीरेन्द्रले विगत सुनाए। यसरी बनेको थियो बुद्ध एअरको योजना।

०००

बुवा सुरेन्द्रबहादुरको सपना थियो— छोरोलाई इन्जिनियर बनाउने। बुवाको सपना पछ्याउँदै उनी विसं २०३७ मा अस्कल क्याम्पस भर्ना भए। कक्षा ११ को फाइनल जाँच आयो। पढाइ खासै गतिलो भएन। ‘रिजल्टमा ब्याक लागेर आएछ’, उनले भने। विषय लागे पनि माथिल्लो कक्षा पढ्न पाइन्थ्यो। शिक्षाको यो नियमले उनलाई फाइदै पुर्‍यायो। १२ कक्षा भर्ना भए। यसपालि एकैपटकमा पास गर्ने उनको धोको थियो। विषय नै गाह्रो भएपछि पास गर्ने धोको पालेर कहाँ हुन्छ ? १२ कक्षामा पनि ‘ब्याक’ लाग्यो। ११ कै विषय पास गर्न बाँकी थियो, १२ को पनि थपियो। बस्नेत भन्छन्, ‘त्यसपछि मैले आइएस्सी नै प्याक दिएँ।’ उनले पढ्नै छोडिदिए।

यसरी एउटा सपना अन्त्य भयो। आइएस्सीमा उनलाई फिजिकल, केमेस्ट्री र अप्सनल म्याथ विषयले सताएको थियो। ‘केमेस्ट्रीमा आउने अणु, परमाणु, इलिमेन्टलगायत के–के चीजले मेरो दिमाग रन्थनियो। म्याथको थिटा, बिटा पटक्कै बुझिनँ’, उनले भने, ‘अरूले र्‍यास्नल मानेका विषय मलाई सबैभन्दा इर्‍यास्नल लाग्यो।’

आईएस्सी खुरुखुरु पास भएका भए उनी इन्जिनियरकै लाइनमा हुन्थे कि ? ‘त्यो सम्भावना थियो’, उनी भन्छन्, ‘कहाँ आज बुद्ध एअरको प्रबन्ध निर्देशक बन्थेँ र ! कता नापनक्सा गर्दै हुन्थेँ !’ इन्जिनियर सपना, मात्र सपना बन्यो।

बूढानीलकण्ठ पढ्दा जेहेनदार विद्यार्थी ठानिएका बस्नेतको शैक्षिक योग्यतामा प्रश्नचिह्न उठेको थियो। ‘बूढानीलकण्ठको हामी दोस्रो ब्याजी। सधैं टप १० मा पर्थें’, उनले भने। त्यति बेला देशैभरिबाट उत्कृष्ट विद्यार्थी छानेर ल्याउँथ्यो बूढानीलकण्ठले। त्यसैले अघिल्लो पोजिसन ल्याउनु चानचुने कुरा थिएन। बस्नेत पनि चानचुने विद्यार्थी थिएनन्, जेहेनदार विद्यार्थीकै सूचीमा पर्थे।

अब ती दिन कहाँ थियो र ! आईएस्सीमा विषय लागेपछि विगतको त्यो ‘इन्टेलिजेन्स’ सम्झिएर उनलाई विरक्त लाग्न थाल्यो। अध्ययन गर्नु नै थियो। सन् १९८४ मा उनी भारत हिँडे। भारतको बनारसमा आईए पढे। यहाँजस्तो त्यहाँ ब्याक लागेन। प्याक पनि दिनु परेन। पढाइ पूरा गरी १९८५ मा उनी नेपाल फर्किए।

०००

‘अब काम गर्नुपर्छ’ भन्ने बस्नेतका बुवाको सल्लाह थियो। ‘कन्फिडेन्स’ विकास गर्न भए पनि काम गर्नुपर्छ भन्थे बुवा। पढाइ बिग्रिहाल्यो, अब काम गरौं भन्ने वीरेन्द्रको पनि चाहना थियो। कामको खास योजना थिएन। त्यति बेलासम्म उनको बुवाले मोरङमा कृषि फार्म खोलिसकेका थिए।

पहिलो निर्वाचन आयुक्त तथा राजा महेन्द्रको पालामा मन्त्रीसमेत भएका थिए, सुरेन्द्रबहादुर बस्नेत। २०१७ सालमा पञ्चायत आएपछि मोरङ जिल्लाको पहिलो सभापति नै बने। उनै सुरेन्द्र कृषि फार्मतिर आकर्षित भएका थिए। छोरो वीरेन्द्रले पनि फार्मतिरै काम गर्ने सोच बनाए। ‘पढाइ त्यस्तैउस्तै भयो, अब कृषि गर्छु’ भनेर उनले बुवासँग सल्लाह गरे। त्यसपछि, काठमाडौं छाडेर मोरङ लागे। त्यो फार्म अहिले मोरङ, बेलबारी नगरपालिकामा पर्छ।

काठमाडौंमै जन्मेहुर्केको केटो। कृषि काम गर्न कम गाह्रो थिएन। उनले मेहनत गरे। फिल्डमा मेहनत गर्न आफूलाई बूढानीलकण्ठ स्कुलले सिकाएको बताउँछन्। शिक्षकले पिट्न पाउँदैनथे, बदलामा सिर्जनशील काममा लगाउनुपथ्र्याे। ‘त्यहाँ त पनिसमेन्ट दिँदा पनि बारी खन्न लगाउँथ्यो। तरकारी, फलफूल रोप्नुपथ्र्याे’, ती दिन सम्झन्छन्, ‘किसान जसरी नै काम गरियो।’ ट्रेकिङ लगिरहन्थ्यो स्कुलले। ट्रेकिङ जाँदा डोको बोक्नुपथ्र्याे, १० किलो सामान हालेर। बस्नेत भन्छन्, ‘टोखाको जंगलमा डोको बोकेर हिँड्थ्यौं। त्यो डाँडो उक्लिँदा घाँटी नै पेटभित्र पसेझैं हुन्थ्यो।’

खेतबारीमा काम गर्न स्कुले वातावरणले बस्नेतलाई सहयोग पुर्‍यायो। उनी सात वर्षसम्म मोरङको फार्ममा बसे। त्यहाँ उनले माछा व्यवसायमा अत्यधिक सफलता पाए। माछाका लाखौं भुरा उत्पादन भयो। व्यापारिक कला नजानेकाले आर्थिक रूपमा सफलता मिलेन। बरु प्राविधिक रूपमा फार्मले उचाइ ग्रहण गर्‍यो।

फार्मिङको सबै काम परम्परागत ढंगले नै गर्नुपर्ने। अर्थात्, सबै काम म्यान्युअल। आधुनिक प्रविधिको खासै प्रवेश भइसकेको थिएन। फार्ममा झन्डै ७० जना अन्य किसान काम गर्थे। त्यहाँ मान्छेसँग सम्पर्क बढाउन पाए। भन्छन्, ‘सफलताको मुख्य बिन्दु नै मानव संसाधनलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले निर्धारण गर्ने रहेछ।’ वीरेन्द्रले फार्मलाई अझै समुन्नत बनाए। खेतबारीमा आफैं खटे। फार्ममा रहँदारहँदै उनले विवाह गरे। ससुराली काठमाडौं। विवाह भएको दुई वर्षपछि उनी काठमाडौं फर्किए। डिग्री पढ्ने सोच बनाएर फर्किएका थिए।

०००

उनका जिन्दगीले धेरै सम्भावना बोक्यो— इन्जिनियर, फार्मर, एकेडेमिसियन, आर्मी आदि–आदि।

बस्नेतलाई सोसोलोजी, हिस्ट्री, फिलोसोफी जस्ता विषयमा चाख थियो। यस्ता विषय पढ्न मजा मान्थे। साइन्सका फर्मुला रट्नुभन्दा समाजसँगै दिनानुदिन गाँसिने यस्ता विषयले ध्यान तानेको थियो। ‘इन्जिनियर पढ्नुपर्ने बुवाको रटान नभएको भए म एकेडेमिक लाइनतिर हुन्थेँ’, सम्भावनाको एउटा उदाहरण दिन्छन् उनी।

विश्वविद्यालयको कुनै नामी शिक्षक पो हुन्थे कि बस्नेत ? सम्भावना अनेक हुन सक्छन्। ‘हुन त त्यति बेला आफ्नै मनखुसीले विषय छान्ने अवस्था थिएन’, उनले भने, ‘अहिलेजस्तो प्रविधिको विकास भएको थिएन। सबैका छोराछोरीले परिवारले भनेकै विषय पढ्थे। के कस्तो विषय पढ्न पाइन्छ भनेर हामीलाई पनि थाहा हुन्थेन।’

एकेडेमिसियन मात्र किन ? आर्मीमै जागिर खान पनि तम्तयार थिए। आर्मीको ठूल्ठूला पदमा भएका मान्छेलाई पनि भेटेका थिए, भर्नाका लागि सोर्सफोर्स लाइदिनुपर्‍यो भनेर। ‘आर्मीमा भर्ना हुन भनेर एकजना चिफ साहेबलाई भेट्न पनि पुगेँ’, उनी सम्झन्छन्। वीरेन्द्रको आँखा अलि कमजोर थियो। त्यसैले आर्मीमा जागिर खान गाह्रो थियो। पढाइ पनि गोलमाल भएकाले आर्मीमा जागिर लगाइदिन उनले चिनजानका चिफ साहेबलाई अनुरोध गरे। त्यति बेला चिफ साहेबले दिएको जवाफ सम्झन्छन् उनी, ‘मैले भनेँ भने तिमीले जागिर पाउँछौ, त्यसमा शंका नै नगर। तर, मेजरभन्दा माथि तिम्रो बढुवा हुँदैन।’ चिफ साहेबले त्यति बेला ‘ल भइहाल्छ, तिम्रो लागि त्यति पनि गर्दिनँ होला त ? ’ भनेका भए वीरेन्द्रको हैसियत यति बेला फरक हुने थियो।

आर्मीमा भर्ना हुने सम्भावनालाई जिन्दगीको महत्वपूर्ण टर्निङ प्वाइन्ट ठान्छन् वीरेन्द्र। त्यति बेला उनलाई पढाइ बिग्रिएकोमा चिन्ता थियो। रोजगारी केही थिएन। के गर्ने, कसो गर्ने भइरहेको थियो। ‘यस्तो अवस्थामा अघिल्तिर आएको अवसरलाई मान्छेले समात्छ’, उनले भने। उनी पनि आर्मीमा जाने मुडमै थिए। कसोकसो जिन्दगीले अर्कै बाटो हिँडाइदियो।

०००

बुद्ध एअरको टर्मिनल कक्षको दोस्रो तलामा छौं हामी। बिहानको १२ बजिसकेको छ। उनको कोठामा बुद्ध एअरझैं लाग्ने दुईवटा जहाजको ‘स्ट्याचु’ छ, साना–साना। नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबेला बुद्धको जहाज अवतरण गर्छ, फ्लाइट भर्छ। बस्नेत धावनमार्गतिर नजर डुलाउँदै भन्छन्, ‘आफ्नो जहाज उडेको देख्दा सन्तुष्टिले मन भरिन्छ।’

अब उनको रहर छ, अन्तर्राष्ट्रिय जेट विमान चलाउने। त्यसका लागि काम गरिरहेका छन्। ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट हामीले अन्तर्राष्ट्रिय फ्लाइट भर्ने हो’, उनी निर्धक्क देखिन्छन्।

सन् १९७४ मा ३० करोड रुपैयाँका दरले दुईवटा ‘विच १९०० डी’ जहाज किनिएको थियो। अहिले बुद्ध एअरसँग ११ वटा विमान छ। वीरेन्द्र भन्छन्, ‘हामीसँग तीनवटा कुरा छन्— फोकस छ, बाहिर लगानी छैन र इमानदार छौं।’ यिनै तीन पक्षले आफूहरूलाई सफल तुल्याएको बताउँछन् उनी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.